हिमालमुनि कलाकृति

दीपक परियार

छोम्रोङ (कास्की) — २०४२ मा पोखरेली युवा सांस्कृतिक परिवारले पाँच कलाकारलाई घान्द्रुक पुर्‍यायो । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक त्यति बेला अहिलेजस्तो चिरपरिचित थिएन । ढुंगा र माटोको गारो, सर्लक्क परेका ढुंगैले छाएको घर, ढुंगै बिछयाइएको आँगन, परम्परागत पहिरनमा सजिएका गुरुङ समुदाय र आँखाअगाडि लस्करै उभिएका हिमाल । कलाकारलाई त्यति भए पुगिहाल्यो ।

हिमालमुनि कलाकृति

आलोक गुरुङ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, केदार पालिखे र महेन्द्रराज भण्डारीले घान्द्रुक गाउँलाई क्यानभासमा उतारे । उनीहरूले बनाएका कला पोखरा, काठमाडौं हुँदै देशविदेश पुग्यो । घान्द्रुक गाउँ पनि देशविदेश पुग्यो । त्यसपछि पानी रंग, तेल रंग र एक्रेलिकको माध्यमबाट यहाँका गाउँ र हिमाललाई क्यानभासमा उतार्ने क्रम सुरु भयो । दृश्यचित्रको ट्ेरन्ड नै चल्यो । सिक्लेस, धम्पुस, घाचोक, पञ्चासेलगायत गाउँमा धमाधम कलाकार पुग्न थाले । क्यानभासमा कुँदिएका पोखरा वरपरका गाउँ धेरैको रोजाइ बन्यो । यहाँ आउने विदेशी पर्यटकले पनि दृश्यचित्र रुचाए । कलाको बजार पनि यसले ह्वात्तै उकास्यो ।

घान्द्रुक पुगेका तिनै पाँचमध्येका दुई र अर्का एक कलाकार मंगलबार छोम्रोङमा भेटिए । घान्द्रुकबाट पूरै दिन हिँडेर पुग्नुपर्ने गुरुङ गाउँमा चलिरहेको मेलामा सहभागी हुन उनीहरू छोम्रोङ पुगेका हुन् । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणअन्तर्गत आयोजित ल्होसार मेलामा सहभागी भएका उनीहरूले चित्र पनि कोरे । पोट्रेटमा विशेष पहिचान बनाएका आलोक गुरुङ, एब्स्ट्रयाक्टमा चिनिएका क्षेत्रलाल कायस्थ र त्रिकोण कलाका अभियन्ता प्राज्ञ नगेन सिंह ठकुरीको विषयवस्तु हिमाल नै बन्यो । घान्द्रुकभन्दा नजिकबाट देखिने अन्नपूर्ण साउथ, हिउँचुली र माछापुच्छ्ेर हिमाललाई तीनैजनाले पानी रंग प्रयोग गरेर दुरुस्तै उतारे । उनीहरूले कोरेका चित्र मेला अवधिभर प्रदर्शनीमा रहनेछन् ।

कलाकार क्षेत्रलाल कायस्थको छोम्रोङ आगमन दोस्रोपटक हो । ४ वर्षअघि पोखरेली कलाकारकै एक समूह छोम्रोङ आएर फर्किएको थियो । त्यहीं टोलीमा थिए उनी । ७५ वर्षीय कलाकारले दिनभरिको उकालोओरालोको पर्वाह गरेनन् । ‘यति नजिकबाट हिमाल देखेपछि त्यसै मन प्रफुल्ल हुन्छ,’ उनले

भने, ‘वातावरण र रहनसहनले पनि मुग्ध बनाउँछ ।’

गाउँ र हिमालको ल्यान्डस्केप चित्रले पर्यटन प्रवद्र्धनमा भूमिका खेलेको उनी बताउँछन् । अहिले भने धेरै ढुंगेनी गाउँ कंक्रिटमा परिणत भएकोमा उनी चिन्तित छन् । भन्छन्, ‘मान्छेलाई परम्परागत घर र रहनसहनकै कलाले मन छुन्छ ।’ कलाकार आलोक गुरुङको भने छोम्रोङ पहिलो पटक हो । तेल रंगबाट पोट्रेट बनाउने खारिएका कलाकार उनी फुर्सद पाउनेबित्तिकै दृश्यचित्र बनाउन पोखरा बाहिर निस्कन्छन् । उनी ल्यान्डस्केपमा सूक्ष्म विषयवस्तुसँग खेल्न रुचाउँछन् । ‘डाँडा बनाएर रंग मात्रै पोत्ने हो भने सजिलो छ,’ उनी भन्छन्, ‘डिटेलमा प्रकाश र छायासँग खेलेर बनाउन गाह्रो हुन्छ ।’ सिर्जनशील कलाकार समूहका अध्यक्ष प्राज्ञ नगनसिंह ठकुरीले दृश्यचित्र बनाउँदा प्राकृतिक रंगलाई बुझ्न पाइने बताउँछन् । ‘अहिले कला बजारको ठूलो हिस्सा दृश्यचित्रले ओगट्छ,’ उनी भन्छन्, ‘यहाँ घुमेर फर्किने विदेशी पर्यटकले चिनोस्वरूप लैजाने चलन छ ।’

प्रकाशित : पुस १४, २०७४ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?