डिजिटल भर्सेज हस्तकला

‘टेक्नोलजीले लगानी महँगो तर श्रमचाहिँ सस्तो बनायो । यसले गर्दा कलात्मकता दिने सर्जक हराउँदै गएका छन् ।’
मधु शाही

काठमाडौँ — एक बट्टा रंग र दुई वटा ब्रसको भरमा मानकाजी श्रेष्ठले पसल थापेका थिए । दुई दशकअघिको कुरा हो यो । कमर्सियल आर्टमा भविष्य देखेर उनी जन्मथलो नुवाकोटबाट राजधानी व्यवसाय गर्न पसे ।

डिजिटल भर्सेज हस्तकला

आफैंले कोरेका थुप्रै फ्लेक्स, होडिङबोर्ड, साइनबोर्डहरू पसलमा राखिन्थे । अब डिजिटल प्रविधिले उनकै काम आफैंलाई एकादेशमा जस्तै लाग्न थालेको छ । पछिल्लो समय कमर्सियल आर्टिस्टहरूको परम्परागत सिर्जना प्रविधिको विकासले ओझेल पर्दै छ । यद्यपि केही कलाकारहरू भने यसलाई अवसर र चुनौती दुवै रूपमा अथ्र्याउँछन् ।


राजधानीमा आइतबार कमर्सियल आर्टिस्ट संघको २३ औं स्थापना दिवस मनाइयो । कार्यक्रममा कलाकार अरनिकोको स्मृतिमा स्थापित विभिन्न पुरस्कारद्वारा कलाकारहरू सम्मानित पनि भए । संकटमा परेको कमर्सियल आर्ट व्यवसायबारे गहिरो विषयमा छलफल भइदियोस् भन्ने मनोकांक्षा थियो मानकाजीको । तर, उनले छलफलभन्दा भाषण बढी सुन्नुपर्‍यो । ‘मनभरि पीडा छ,’ उनी भन्छन््, ‘हस्त लेखन गर्ने हाम्रो कला बिस्तारै हराउँदै छ ।’

व्यवसाय गर्नकै लागि सिर्जना कोरेर बिक्री गर्ने कलालाई कमर्सियल आर्ट मानिन्छ । होडिङबोर्ड, साइनबोर्ड, गाडीको नम्बर प्लेट, वाल पेन्टिङसम्म पनि कमर्सियल आर्टमा गनिन्छ । त्रिपुरेश्वरमा ‘पुनम आर्ट एन्ड मिडिया’ सञ्चालन गर्दै आएका मानकाजीले हातैले अक्षर सजाउने कला अचेल भुल्न बाध्य भएका छन् । डिजिटलाइजेसन भएलगत्तै उनीसँग प्रविधि सिक्नु वा पेसा नै बन्द गर्नुको अरू विकल्प रहेन । हातले साइनबोर्ड बनाउन खप्पिस मानिने मानकाजी अहिले डिजिटल पद्धतिमा रूपान्तरण भएका छन् । यसका सबै बेफाइदा मात्रै देख्दैनन् उनी । एउटा बोर्ड लेख्न हातले झन्डै तीन दिन लाग्थ्यो भने अहिले कम्प्युटरबाट काम गर्दा एक घण्टामा सकिन्छ । आफैंले काठ ल्याएर, त्यसमा टिनको पाता जोडी, इनामेल पोतेर अक्षर लेख्दाको आनन्द भने उनी कप्युटरमा पाउँदैनन् । ‘हातैले लेख्दा कलाकार भएको महसुस गर्थें,’ उनी सम्झन्छन्, ‘अहिले प्रविधिले व्यवसायी मात्रै बनाएको छ ।’


रोशन श्रेष्ठ २६ वर्षदेखि कर्मसियल आर्टमा कार्यरत छन् । हातले लेखेर काम गर्ने उनले प्रविधि आएपछि डिजिटल पद्धति सिक्न थाले । ५ वर्ष लगाएर कम्प्युटर शिक्षा लिएका उनले आफूलगायत १८ जनालाई रोजगार दिएका छन् । उनका अनुसार हातैले कर्मचारीहरू डिजिटल फ्रेन्डली नहुँदा पेसाबाटै विमुख हुनुपरेको छ । ‘प्रविधिले सहज बनाएको पक्कै हो । तर, लगानी पनि उत्तिकै बढाएको छ,’ उनी भन्छन्, ‘१० रुपैयाँको ब्रस र रंगमा काम गरेर पेट पाल्न सकिने कमर्सियल आर्टमा अहिले डिजिटल भएपछि कम्तीमा २० लाख रुपैयाँ लगानी आवश्यक पर्छ ।’ उनका अनुसार छाप्ने मेसिन किन्न १५ देखि २० लाख रुपैयाँ नभई हुँदैन । यसले न्यून आर्थिक अवस्था भएका कलाकारलाई हातैको सिर्जना झल्काएर जीविकोपार्जन गर्न मुस्किल बनाएको छ ।


संघका महासचिव भोला पौडेलका अनुसार प्रविधिको विकासले हस्त लेखन कलामा निर्भर हुने कला व्यवसायीहरू विस्थापित भएका छन् । उनका अनुसार कुनै समय संघको ४० जिल्ला कार्य क्षेत्रमा १० हजार जना हस्त लिखित कला व्यवसायी थिए भने अहिले ४ हजार पनि पाउन मुस्किल छ । महँगो मेसिन र डिजिटल शिक्षाका कारण धेरै कला व्यवसायीले पेसा छोड्न बाध्य भएको उनले सुनाए । ‘अधिकांश त विदेशतिर हुनुहन्छ,’ उनी भन्छन्, ‘र कतिपयले पेसा परिवर्तन गर्न थालेका छन् ।’


डिजिटल प्रविधिको विकासले काममा सहजता त ल्याएकै छ । तर, हस्तलेखन सिर्जनाको सौन्दर्य डिजिटल प्रविधिले नदिने भोला बताउँछन् । उनका अनुसार हस्तलेखनमा विभिन्न कलाकारको लेखन फरक शैलीको हुने हुँदा एकअर्कासँग मेल खाँदैन, जुन सौन्दर्य डिजिटलमा हुँदैन । ‘टेक्नोलजीले लगानी महँगो तर श्रमचाहिँ सस्तो बनायो,’ उनी भन्छन्, ‘यसले गर्दा कलात्मकता दिने सर्जक हराउँदै गएका छन् ।’


आइतबार संघले विभिन्न पुरस्कार प्रदान गरेको थियो । कलाकार सुरेश द्य:लालाई ‘क्यान कला पुरस्कार’, केशवराज खनाललाई हेम गंगा युवा कला प्रतिभा पुरस्कार, प्राज्ञ एवं कलाकार सुष्मा राजभण्डारीलाई हेम गंगा महिला कला प्रतिभा पुरस्कार, ज्ञानेश्वर उदयलाई क्यान आडियल कला अवार्ड र नवप्रतिभा सुजान श्रेष्ठलाई शिवाता प्रतिभा पुरस्कार प्रदान गरिएको छ । त्यस्तै ७७ वर्षे कलाकार चन्द्रमणि दाहाल र ७१ वर्षे यादवचन्द्र भुर्तेललाई सम्मान गरियो । सबै स्रष्टालाई शताब्दीपुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले सम्मान एवं पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रकाशित : पुस २४, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?