कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्य र कला सँगसँगै 

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु चित्रकला र पुस्तक प्रदर्शनीमा राखिएका पेन्टिङहरू ।

काठमाडौँ — २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर मंगलबारदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रतिमा कक्षमा चित्रकला र पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायले प्रदर्शनीको उद्घाटन गरे ।

साहित्य र कला सँगसँगै 

रागिनीले ‘कला र साहित्य एउटै रूखको हाँगाबिँगा भएको’ बताइन् । भनिन्, ‘साहित्यमा शब्दका माध्यमले आफ्ना भावना पोखिन्छ भने कलामा चित्रका माध्यमबाट । पृथ्वी जयन्तीलाई एकताको प्रतीकको रूपमा मान्दै कलाकृति र पुस्तक एकै ठाउँमा प्रदर्शनीमा राखिएको हो ।’ कुलपति उप्रेतीले पृथ्वी जयन्तीलाई बिदाको रूपमा मात्र नमनाएर केही उपलब्धिमूलक काम गरेर मनाउनका लागि प्रदर्शनी गरेको बताए ।


दुबईमा सेफमा मास्टर्स गर्दै गरेका सन्तोष ढुंगाना प्रदर्शनीमा भेटिए । उनले पहिले पनि प्रज्ञाबाट प्रकाशित पुस्तकहरू किन्ने गरेका रहेछन् । ‘यहाँ बौद्धिक पाठकहरूले पढ्ने विषयवस्तुका पुस्तकहरू पाइन्छन्, जुन बजारमा हतपत पाइँदैनन्,’ उनले भने, ‘यहाँका समालोचना, भाषा, साहित्य, संस्कृति, अनुवादका पुस्तकहरू थेसिस र विद्यावारिधिको लागि समेत उपयोगी हुन सक्छन् ।’


प्रदर्शनीमा ३ रुपैयाँदेखि १४ सय रुपैयाँसम्मका पुस्तक राखिएको संयोजक सुधीर ढुंगेलले जानकारी दिए । प्रदर्शनीमा कथा, कविता, उपन्यास, निबन्ध, नियात्रालगायत विधाका पुस्तकहरू १५ देखि ६० प्रतिशतसम्म छुटमा बिक्रीमा राखिएका छन् । प्रदर्शनीमा नयाँ प्रकाशनका रूपमा ‘पारिजातका प्रतिनिधि कथाहरू’, ‘प्रज्ञा आधुनिक नेपाली कथा’, ‘प्रज्ञा समकालीन नेपाली कविता विमर्श’, ‘पौरस्त्य दर्शनमा भौतिकवाद’, ‘नेपाली जातीय संस्कार’, ‘दर्शनावली’ लगायत छन् ।


प्रदर्शनीमा २८ पेन्टिङ प्रदर्शित छन् । गत वर्ष ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभागले पूर्व, पश्चिम र मध्यमा गरी तीन ठाउँमा कला कार्यशाला गरेकोबाट छानिएका पेन्टिङहरू प्रदर्शनीमा राखिएको विभाग प्रमुख एवं प्राज्ञ रमेश श्रेष्ठले बताए । ‘मोफसलका आर्टिस्टहरूका पेन्टिङ हुन्,’ उनले भने, ‘पृथ्वीनारायण शाहको एकीकरणले सबैलाई एकताको सूत्रमा बाँधे जस्तै नेपालभरिका पेन्टिङहरू एकै ठाउँमा प्रदर्शनीमा राखेका हौँ ।’

पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस प्रज्ञा प्रतिष्ठानलगायत, नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थान, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक समारोह समिति, नेपाल इतिहास संघ, गोरखा सेवा समाज, लायन्स क्लब, उज्यालो नेपाललगायतका संघसंस्थाको संलग्नतामा मनाइँदै गरेको हो ।


कार्यक्रमअन्तर्गत बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरबाट ब्यान्डबाजा र पञ्चैबाजासहित प्रभातफेरी गर्दै सिंहदरबार पश्चिम ढोकास्थित पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण गर्दै प्रज्ञा परिसरमा आई कोणसभा गरेर विसर्जन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रदर्शनी माघ १० सम्म चल्नेछ ।

प्रकाशित : पुस २६, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?