कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अनुपमका कथाहरु

काठमाडौँ — अझै पनि हाम्रो समाजमा यौनबारे खुलेर कुरा गर्ने व्यक्तिलाई असभ्य मानिन्छ । यसैलाई विषय बनाएर लेख्नेहरू पनि कमै भेटिन्छन् । केही वर्षअघि ‘कुमारी आमा’, ‘नांगो मान्छे’, ‘कालो छाया’ जस्ता उपन्यास लेखिकी अनुपम रोशीले यौन मनोविज्ञानलाई पछिल्लो चोटि पनि निरन्तरता दिने आँट गरेकी छन् । प्रेम र यौन मनोविज्ञानलाई नै समेटेर उनले लेखेका कथाहरूको संग्रह आएको छ ।

अनुपमका कथाहरु

‘मध्यान्तर’ राजधानीमा बुधबार वरिष्ठ कथाकार माया ठकुरी, लेखक युग पाठक, समालोचक रजनी ढकाल र केशव सिग्देल लगायतले लोकार्पण गरे । नेपाली साहित्यमा ‘प्रेम र यौन सम्बन्ध के हो ?’ भन्ने विषयमा उचित बहसै नभएको पाठकले बताए । ‘हाम्रो समाजमा यौनसम्बन्धी दुई धारणा छन्– एउटा नैतिक ठानिने र अर्काे अनैतिक ठानिने,’ उनले भने, ‘तर यतिमै प्रेम र यौनको परिभाषा गर्नु ठीक हैन । किनकि जीवन र हामीले मान्दै आएको मान्यताबीच ठूलो खाडल छ । लेखिका रोशीका कथाहरूमा पनि यिनै सामाजिक मान्यताले हस्तक्षेप गरेको देखिन्छ ।’

रोशीका कथाहरू ‘मोडर्न फोकलोर जस्तै लागेको’ ठकुरीले टिप्पणी गरिन् । उनले भनिन्, ‘प्रमाणसहितका कथाहरू रचना गरेर समाजको सुन्दर तरिकाले चित्रण गरेकी छन् उनले ।’

ढकालले रोशीलाई ‘मनोविश्लेषणात्मक लेखक’ का रूपमा व्याख्या गरिन् । ‘मानिसको वैयक्तिक स्वतन्त्रता, बहुलताको चिन्तन, पहिचानको कुरा, जीवनका विसंगतिलाई रोशीले अनौठो ढंगले कथामा उतारेकी छन्,’ उनले भनिन्, ‘यो कृतिको अनुवाद भयो भने अन्तर्राष्ट्रिय पाठकको ध्यान यो पुस्तकले तान्न सक्छ ।’

सिग्देलले यौन र मानवीय संवेदनालाई समेटेर कथाहरू लेखे पनि अश्लीलतालाई टाढा राख्न रोशी सफल भएको दाबी गरे ।

प्रकाशित : पुस २७, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?