कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राय र पाण्डेका कृति एकसाथ

काठमाडौँ — वरिष्ठ पत्रकार नारायण वाग्लेले खग्रेन्द्र संग्रौलालाई ‘लेखकहरूका गोविन्द केसी’ भन्न थालेका छन् । व्यंग्यवाणमा चाहिँ संग्रौलाले एमाले नेता केपी शर्मा ओलीलाई नै छायामा पारिदिने वाग्लेको भनाइ छ । ‘उहाँ पदमा आसीन हुनुहुन्न, लेखक भएर सधैं चटकीमा बस्नुहुन्छ,’ वाग्ले भन्छन्, ‘र, लेखकहरूको पुँजी अर्थात् चोरऔंला ठडयाउनुहुन्छ ।’

राय र पाण्डेका कृति एकसाथ

व्यंग्यवाणसहित कल्पनाको कटाक्ष गर्नु खगेन्द्रको एउटा खुबी हो भने यसमा केपी ओलीले समेत उनीसँग सीधा प्रतिस्पर्धा गर्न नसक्ने वाग्लेले बताए । संग्रौलाद्वारा अनुवादित भारतीय लेखक सत्यजित राय (रे) को पुस्तक ‘सत्यजित रायका कथा’ को लोकार्पण समारोहमा वाग्लेले यस्तो तुलना गरेका थिए । ‘रायका कथाहरू जासुसी पाराका छन्,’ टिप्पणीकारका रूपमा बोलिरहेका वाग्ले थप्छन्, ‘यिनले नेपाली पठन प्रज्ञामा फरक उपस्थिति जनाउनेछन् । पाठकको कल्पनाशक्ति बढाउनेछन् ।’

नयाँ प्रकाशन संस्था रेडइन्क बुक्समार्फत पुनप्र्रकाशन भएको हो । यसअघि नेपाल साहित्य गुठीले बाहिर ल्याए पनि खासै प्रचार नभएकाले फेरि छाप्दा अलि बढी मिहिनेत गरेको संग्रौलाले बताए । ‘अनुवादक दसगजामा उभिएको कटुवाल जस्तो हो,’ बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले भने, ‘वारिपारिका कुरा एकअर्कालाई सुनाउँछ । त्यसका लागि दुई देशको भाषा, संस्कृतिबारे उसलाई आधारभूत ज्ञान हुनै पर्छ ।’

बंगाली लेखकको अंग्रेजी पुस्तकबाट अनुवाद गरिएको कथासंग्रहमा जीवनको झर्राे यर्थाथ, तिलश्मी, अध्यात्म, जादू र भूत–प्रेत समावेश भए पनि अन्धविश्वास नरहेको संग्रौलाले बताए । ‘साहित्य भाषाले बाँधिँदैन,’ उनले भने, ‘पुरानो पनि हुँदैन । राय बितेर गए पनि उनका कथाको प्रासंगिकता अझै छ ।’ वाग्लेले विसं २०४९ मा राय बित्दा आफूले गोपाल योञ्जनसँग उनीबारे अन्तरवार्ता लिएको स्मरण साझा गरे ।

योञ्जनले भनेछन्, ‘रायलाई पहाडी संगीत सुन्न मन लागेको थाहा पाएँ । अनि उहाँ बसेको होटलको कोठा ढकढकयाउन पुगेँ । बाँसुरी बजाएँ । उहाँले टाउको मात्र हल्लाउनुभयो, केही पनि भन्नुभएन । धेरैपछि ‘कञ्चनजंघा’ फिल्मको दुइटा टिकट पठाइदिनुभयो ।’ रायका कथा र फिल्मजस्ता हुन्छन्, उनको व्यक्तित्व पनि उस्तै, रहस्यमयी पाराको रहेको वाग्लेको बुझाइ छ । खगेन्द्रको पुस्तकमा प्रुफ मिस्टेक प्रशस्त रहेकोप्रति पनि उनले प्रकाशकको ध्यानाकर्षण गराए ।

सोही समारोहमा लेखक देवेन्द्रराज पाण्डेको कृति ‘द आइडिया अफ इन्टेग्रिटी एन्ड द युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सन’ पनि लोकार्पण गरिएको थियो । निकैपछि नयाँ पुस्तक निकालेका पाण्डेले यसलाई ‘एक्सिडेन्टली लेखेको’ किताब भन्न रुचाए । ‘अमेरिकाको लाइब्रेरी चहारिरहँदा अनेक पुस्तक पढ्न पाइयो,’ उनले भने, ‘भ्रष्टाचारसम्बन्धी देशविदेशका घटनावली पढेपछि यो पुस्तक लेख्ने आइडिया आयो ।’ उनको किताबमाथि लेखक आदित्य अधिकारी, प्राध्यापक अमिना सिंह र नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवालीले टिप्पणी गरेका थिए ।

प्रकाशित : पुस २९, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?