कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘सहानुभूतिले मात्रै परिवर्तन हुँदैन’

लेखनाथ — राज्यले सम्बोधन गर्नुपर्ने विषय किताब लेखेर परिवर्तन हुन्छ कि हुँदैन ? लेखक एवं पत्रकार यज्ञशमाथि प्रश्न तेर्सिएपछि उनले भने, ‘हुँदैन । लेखकले सहानुभूतिसम्म पैदा गर्न सक्छन् ।’ भूमिहीनबारे लेखिएको गैरआख्यान ‘भुइयाँ’ माथि चलाइएको संवादमा उनले लेखकीय दृष्टिकोण प्रस्तुत गरे । ‘किताबै लेखेर त्यति धेरै परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने, ‘सहानुभूतिसम्म पैदा गर्छ ।’ 

‘सहानुभूतिले मात्रै परिवर्तन हुँदैन’

र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा गरेको संवादमा उनले सहानुभूतिले मात्रै परिवर्तन नहुने बताए । ‘भुइयाँ ठूलो परिवर्तनभन्दा पनि स–साना जीवनयापनको कथा हो,’ किताबबारे उनले बोले, ‘भूमिहीनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भयो भने मात्रै पनि मेरो उद्देश्य पूरा हुन्छ ।’ र्‍यान्डमका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलसँगको संवादमा उनले किताबमा तराईकै महिला पात्र समेट्नुको कारण सुनाए । ‘तराईमा भूमिहीनको धेरै ठूलो आन्दोलन र कथा छ,’ उनले भने, ‘सानो–सानो कुरामा धेरै महिला जोडिने भएकोले उनीहरूमाथि नै लेखियो ।’ भूमिहीनको आन्दोलनमा लामो इतिहास भएका तर धेरै नलेखिएका पात्रलाई किताबमा समेटिएको उनको भनाइ थियो ।

उनले भूमिहीनको समस्या समाधान गर्न भूमिको वर्गीकरण गरी भू–उपयोग नीति लागू गर्नुपर्ने सुझाए । हालसम्म २८ सुकुम्बासी समस्या समाधान आयोग बने पनि भूमिहीनको समस्या जस्ताकोतस्तै हुनु दु:खद भएको उनी बताउँछन् । मधेसमा भूमिहीनको संस्था धेरै भएकोले निरन्तर आन्दोलन चलिरहेको उनको अनुभव छ । ‘समस्या समाधान भयो भने त संघसंस्थाको काम पनि सकियो,’ उनले भने, ‘आन्दोलन छ, त्यही कारणले आशा छ ।’ र्‍यान्डमले हरेक महिनाको अन्तिम शनिबार गर्ने कार्यक्रममा यसपटक कान्तिपुरकर्मी यज्ञशलाई निम्त्याएको हो ।

प्रकाशित : पुस ३०, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?