‘यार’ लिएर नयनराज

काठमाडौँ — ‘उलार’, ‘लू’, ‘सल्लीपिर’ लगायत चर्चित उपन्यास दिएका साहित्यकार नयनराज पाण्डे संस्मरण कृतिसहित आएका छन् । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा पाण्डे पत्नी सानु, साहित्यकार पुरुषोत्तम सुवेदी, राजेन्द्र पराजुली, श्यामल, नरेन्द्रजंग पिटर, राजवलगायतले कृतिको लोकार्पण गरे । जीवनको विभिन्न चरणमा भेटिएका साथीसंगीहरूसँगको मित्रतालाई संस्मरण कृति ‘यार’ मा समेटेको पाण्डेले बताए । 

‘यार’ लिएर नयनराज

अनौपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा सञ्चारकर्मी शिवानी सिंह थारूले पाण्डेलाई पुस्तकसम्बन्धी जिज्ञासा राखेकी थिइन् । शिवानीले ‘यार’ पुस्तक लेख्नुको कारण सोधेपछि पाण्डेले भने, ‘मलाई ‘यार’ शब्दप्रति मोह छ । यार शीर्षकमै लेख्ने प्लानिङ पनि थियो । मित्रहरूसँगको तीतामीठा अनुभवसँगै आफूले गरेका मित्रघातहरू पनि खुलस्त लेखेको छु यसमा ।’ पाण्डेले कृतिमा साथीहरूको कमजोरी खोतल्ने क्रममा

आफ्ना कमजोरीहरू पनि उधिन्ने मौका मिलेको बताए । भने, ‘तर एक पक्षीय रूपमा साथीको कमजोरी मात्रै खोतल्ने काम गरेको छैन । यो किताब मेरो आफ्नै वजन नाप्ने तराजु हो ।’ संस्मरणमार्फत समाजकै मनोविज्ञानलाई उधिन्ने प्रयास गरेको उनले दाबी गरे । भने, ‘लेख्दै जाँदा नलेखूँ भन्ने त कहिल्यै लागेन । साथीहरू रिसाउने हो कि भन्ने डर पनि लागेन । किनकि मैले शतप्रतिशत सत्य लेखेको छु ।’

उनलाई उपन्यास, कथा लेखनभन्दा संस्मरण लेखन पृथक लाग्ने बताए । कथा, उपन्यास लेख्दा देखेभोगेकै कुराहरू लेखिए पनि संस्मरण लेखनमा इमानदार भएर जेजस्तो घटना घटेको हो त्यही लेखिने भएकोले यो अन्यभन्दा विश्वसनीय हुने उनले बताए । उपन्यास ल्याउँदा त्रास हुने बताउँदै उनले संस्मरण ल्याउँदा भने त्यति त्रास नहुने बताए । ‘उपन्यासमा खडा गरिएका पात्र, परिवेश र काल्पनिकतालाई सिर्जनात्मक रूपमा प्रस्तुत गरिएको सबैलाई मन नपर्न सक्छ,’ उनले भने, ‘संस्मरणमा आफ्नो मित्रसँग जे घटेको हो, त्यही लेखिन्छ । फूलबुट्टा भर्नुपर्दैन । पढ्नेहरूले रुचाउनुहुन्न कि भन्ने डर कम हुन्छ ।’

फिल्मको पटकथा लेखन पनि क्रियाशील भएकाले कतिले उनका आख्यानमा फिल्मी नाटकीयता देखिने टिप्पणी गर्छन् । फिल्ममा पनि यो शैली साहित्यबाटै छिरेको उनले दाबी गरे । ‘पहिलेका साहित्यका कृतिहरू जासुसी प्रकारको हुन्थे । त्यसैले फिल्मी शैलीबाट भन्दा पनि पुराना साहित्यको प्रभाव परेको भन्दा उचित हुन सक्छ । फिल्मी प्रविधि प्रयोग गरियो भने घटनाक्रमले पाठकलाई चाँडै छुन सक्छ,’ उनले भने, ‘कुनै पनि चरित्रले यस्तो काम गरोस् कि पाठकको मनमा गहिरो छाप छाडोस् भन्ने उद्देश्यले जानाजान फिल्मी प्रक्रिया प्रयोग गर्छु । मैले आफूलाई नै समीक्षा गर्नुपर्‍यो भने पनि ‘फिल्मी टाइपको लेख्छ’ भन्छु ।’ साथीहरूको संगतले नै इमानदार, चाकडी नगर्ने, छलछाम नगर्ने, प्राप्तिका लागि मरिहत्ते नगर्ने लेखक बनाइदिएको उनले दाबी गरे । पुस्तक फाइन प्रिन्टले छापेको हो ।

प्रकाशित : पुस ३०, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?