कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरन लोक्ता र अल्लो 

काठमाडौँ — हातले बुनेका पहिरनमा मौलिकता हुन्छ नै, त्यसमा पनि धेरै समय र रचनात्मक सीप झल्किने भएकाले बजारमा पाइने सामग्रीभन्दा एकदमै फरक र महँगा पनि हुन्छन् । म्याग्दीकी शान्ति थापा मगरले ऊनका थुप्रै पहिरन आफ्नै हातले सिर्जना गरेकी छन् ।

पहिरन लोक्ता र अल्लो 

उनी कहिल्यै बजारको नक्कल गर्दिनन् । आफैं कल्पना गर्छिन् र कल्पनामा आउने डिजाइनलाई मूर्त रूप दिन्छिन् ।

‘यसरी बुनेका पहिरन टिकाउसँगै सुन्दर पनि देखिन्छन्,’ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भेटिएकी उनले भनिन्, ‘र, डिजाइन अरूसँग मेल नखाने हुनाले युनिक हुन्छ ।’

उनीलगायत थुप्रै हस्तकला सिर्जना गर्ने ग्रामीण समूह यतिबेला राजधानीमा प्रदर्शन गर्न आएका छन् । गरिबी निवारण कोषले होटल अन्नपूर्णमा गरेको तीन दिने ‘दक्षिण एसियाली हस्तकला महोत्सव’ मा विभिन्न ७ जिल्लाका हस्तकला समूहले भाग लिएका थिए भने भारत र पाकिस्तानका हस्तकला स्टल पनि थिए । कोषद्वारा सञ्चालित ‘द्वन्द्व प्रभावितहरूका लागि बजार निर्माण परियोजना’ अन्तर्गत प्रदर्शनी गरिएको हो ।

आइतबार सकिएको प्रदर्शनीमा बाँस, अल्लो, लोक्ता, ढाका लगायतले बनाइएका पहिरनदेखि घर सजावटका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । यस्ता प्रदर्शनीले सीप सिकाइको ज्ञानलाई फराकिलो पार्ने र अनुभव आदानप्रदान हुने म्याग्दीकी शान्तिले बताइन् । उनले सीप सिक्नुअघिको फुर्सदको समय त्यत्तिकै खेर गएको बताउँदै हस्तकलामा सक्रिय भएपछि आफू बढी सिर्जनशील भएको महसुस गरेको सुनाइन् । ‘नयाँनयाँ बुट्टा बुन्न मन लाग्छ,’ उनी भन्छिन्, ‘घरको काम छिटो सकाएर बुन्नतिरै लाग्छु ।’

महोत्सवको पहिलो दिन सांगीतिक कार्यक्रमसँगै फेसन सो पनि गरिएको थियो । अल्लो, उलन, ढाकाजस्ता मौलिक सामग्रीले बनाएका पहिरन मोडलहरूले लगाएका थिए । उनीहरू क्रमश: र्‍याम्पमा देखिँदा नेपालीपन र सीपको सौन्दर्य प्रशस्तै झल्किएको महसुस हुन्थ्यो । जाडो मौसममा अल्लो र ढाकाको पहिरन अत्यन्त प्रभावकारी हुने हुँदा फेसन सोमा मोडलहरूले यस्तो डिजाइनलाई महत्त्व दिएका थिए । भारत र पाकिस्तानबाट आएका हस्तकला समूहका सिर्जना पनि रोचक थिए । उनीहरूले हातैले बुट्टा कुँदेका पहिरन प्रदर्शनमा राखेका थिए । भारतबाट स्टल राख्न आएका घनश्याम भट्टले ‘बाहुन बुटी’ नामक सारी प्रदर्शनमा राखेका थिए । यो हेर्दा रोचक र सिर्जनशील देखिन्थ्यो ।

प्रकाशित : माघ १, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?