कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

उमंगको माघी

दुर्गालाल केसी

दाङ — बाबाके सागर गैनु हा, मुरिया लाहन
रानीके सिदुर छुटल पानी घाट, सखिए हो
माघीको दिन । थारू समुदायका छोरीचेली बिहानै नदीमा नुहाउन जान्छन् र फर्केपछि बाबासँग विवाहका लागि केटा खोजिदिन अनुरोध गर्दै छोरीले यसरी गाउँछिन्– ‘बिहानै सागरमा नुहाउन गएँ तर सिन्दुर घाटमै छुट्यो ।’

उमंगको माघी

यसपछि छोरीले सिन्दुर खोजिदिन अनुरोध गर्छिन् । त्यसको जवाफमा बुबा गाउँछन्–

उरी उरी भौंर सिदुर पर बैठे

रानीके सिदुर होइलर महंग, सखिए हो

(सिन्दुरमा भमरा बस्यो, सिन्दुर त महँगो छ । कसरी खोज्नु) । यहाँ थारू समुदाय सोमबार दिनभर यसरी नै रमाए । माघी थारू समुदायमा नयाँ कामको सुरुवात गर्ने दिन पनि हो । विवाहका लागि मुड बनाइदिने, छोरीका लागि केटा खोज्ने र फागुनमा विवाह गर्ने तयारी गर्ने समय पनि यही हो । थारू बुद्धिजीवि बालकृष्ण चौधरीका अनुसार नयाँ योजना र मनस्थितिलाई गीतमार्फत व्यक्त गर्ने यस्तो संस्कृतिलाई ‘मघौटा’ भनिन्छ ।


उनका अनुसार माघीमा मघौटा गीत र नाच दुवै चर्चित छन् । ‘आजकै दिन घर बनाउनेकी, विवाह गर्नेकी, केही नयाँ काम गर्नेकी भन्ने सल्लाह हुन्छ,’ उनले भने । यसका साथै प्राय: विवाहका लागि केटाकेटी खोज्ने समय पनि यही भएको उनले बताए । ‘वर्षभरिको थकाइ मेटाउँदै नयाँ कामको सुरुवात माघीमै गरिन्छ,’ उनले भने । सामान्यत: माघी पाँच दिनसम्म चल्छ । पुस २८ गते माछा मार्ने, २९ गते खसी, सुंगुर, कुखुरा मार्ने, ३० गते तरुल, गन्जी खन्ने, माघ १ अर्थात् माघीको दिन नुहाउने, अग्रजसँग टीकाटालो गर्ने, नाचगान गर्ने र २ गते दिदीबहिनीको घरमा भिक्षा दिन जाने । ‘अन्तमा नाचेको पैंसाबाट भोज गरेर समापन गर्ने चलन छ,’ चौधरीले भने ।


माघे संक्रान्तिका अवसरमा मगर समुदायले भृकुटीमण्डपमा गरेको कार्यक्रममा मौलिक पहिरनमा युवतीहरू ।



थारू समुदायले राजधानीको टुँडिखेलमा गरेको माघी महोत्सवमा परम्परागत गरगहनासहित थारू युवतीहरू


नृत्य गर्दै मगर युवायुवती । तस्बिरहरू : अंगद ढकाल र इलिट जोशी/कान्तिपुर



पश्चिम तराईका थारू समुदाय यति बेला माघीमय छ । बिहानै उठेर नदीमा नुहाउन जाने, नुहाएर फर्केपछि चामल, दाल र नुन मिसाएको निसराऊ छुने र त्यसपछि गाउँका मान्यजनको घरमा गएर टीकाटालो लगाउने कार्यमा थारूहरू व्यस्त भए । ‘बेलुका पख थारू गाउँको अगुवा महतवाको घरमा सबैजना जाँड, रक्सी र तरकारी लिएर मान्न जाने गर्छन्,’ घोराही उपमहानगरपालिका–१६ मघैका महतवा निर्मल चौधरीले भने, ‘महतवाको घरमा जम्मा भएको खानेकुरा सबै मिलेर खाने र नयाँ महतवा चयनको छलफल गर्ने पनि गरिन्छ । बेलुकापख महतवाको घरबाट नाचगान सुरुवात गरी हरेक घरमा नाच्न गइन्छ ।’

उनका अनुसार माघीको भोलिपल्ट बिहानै निसराऊमा थप खानेकुरा राखेर दिदीबहिनीहरूलाई मान्न जाने चलन छ । त्यसपछि माघीको रात नाचेर जम्मा भएको दक्षिणाबाट सामूहिक रूपमा भोज गर्ने गरिन्छ जसलाई नच्नौरी भनिन्छ । माघी गीत र नाचमा विभिन्न भावहरू व्यक्त गर्ने गरिन्छ । ‘अग्रजबाट आशीर्वाद लिनेदिने सम्बन्धी गीत पनि हुन्छ । महतवा, रैती, कमैया, कमलरीजस्ता कामकाजी व्यथाका गीत पनि हुन्छन्,’ महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक केबी चौधरीले भने, ‘छोरीचेलीले विरह व्यक्त गर्ने गीत पनि छन् । रमाइला खालका गीत पनि गाइन्छन् । एकै दिन विभिन्न भावका गीतहरू आउँछन् ।’ उनका अनुसार माघीको अघिल्लो दिन वर्षभरि दु:ख पाएका कथाव्यथाका गीत गाइन्छन् । यी गीतलाई ढुङग्रु भनिन्छ ।

बाबा रे, मोर लाग जुतिया सिलाइ दे, मै चली जाई राजाको दरबार ।

अर्काको घरमा काम गर्न जानुपर्ने भन्दै बुवाआमालाई छोडेर जाँदाको दु:ख यसरी गाइन्छ । पहिले माघीकै दिन कमैया कमलरी बस्न जाने चलन भएकाले घर छोडेर अर्काको घरमा काम गर्न जान थालेका भाव गीतमा आउने गरेको चौधरीले बताए । माघी खानपान र रमाइलोको पर्व पनि भएको महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘यो दु:ख बिर्सेर आनन्द लिने समय हो । दु:खपीडाको समीक्षा गर्ने बेला पनि हो,’ उनले भने । विगतमा अरूको घरमा दास बन्ने पर्वका रूपमा रहेको माघी अब मुक्तिको पर्व पनि भएको उनले बताए । अब नयाँ पुस्ता पुरानाबाट सिक्ने र मीठा परिकार खाएर रमाउने गरेको चौधरीले बताए । सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेपछि थारू समुदायको माघी पर्व झन् खुशीको पर्व हुँदै आएको छ ।

मुक्तिको घोषणापछि थारू चेलीहरूले गाउने गीत बदलिएको छ । चौधरीका अनुसार अचेल दु:ख र वेदनाका भन्दा उत्साहका गीतहरू गाउने गर्छन् । कमलरी मुक्त भएपछि धेरै चेलीहरूले जीवनमा ठूलो प्रगति गरेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष सुनीता चौधरीले बताइन् । उनका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट १२ हजार ८ सय ६९ कमलरी मुक्त भएका छन् । यसैगरी दाङमा १ हजार ४ सय २६ कमैया मुक्त भएका छन् । कमैया र कमलरीको मुक्तिले पनि माघीलाई झन सुखद बनाइरहेको चौधरीले बताइन् । ‘अबको माघीमा थारू समुदायबाट कोही पनि अरूको घरमा दास बन्न जानुपरेको छैन । सबैले स्वतन्त्रताको महसुस गरेका छन्,’ उनले भनिन्, ‘अहिलेको माघी मुक्ति र खुसियालीको पर्व भएको छ । विगतजस्तो छोरी रुने रुवाउने चलन अब छैन ।’

प्रकाशित : माघ २, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?