कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

घुम्टो उघार्दै मिथिला कला

‘मिथिलाका महिला चित्र कोर्न चाहन्छन् । तर, आम्दानी राम्रो नहुने भएकाले त्यो चाहना लुकाएर बस्न बाध्य छन् ।’

काठमाडौँ — घुम्टोभित्रको मुस्कान कसरी देखाउने ? भिडियो भएको भए केही सजिलो हुन्थ्यो होला । मिथिला चित्रकार सुनैना ठाकुरलाई क्यानभासमा घुम्टोभित्रको मुस्कान देखाउनु चुनौती थियो । तर उनले प्रयास गरिन् ।

घुम्टो उघार्दै मिथिला कला

एउटै क्यानभासमा उनले घुम्टोभित्र मुस्कुराइरहेका चार चरणका महिला आवरण उतारेकी छन् । पहिलोमा घुम्टोभित्र मुस्कुराइरहेकी महिला, दोस्रोमा घुम्टो सार्दै गरेकी, तेस्रोमा पूरै घुम्टो खोलेकी र चौथोमा कुर्था–सुरुवाल लगाएकी महिला देखिन्छन् ।

महोत्तरीकी सुनैनाको कलाले पनि घुम्टो सार्दै छ । उनले मिथिलाका महिलामा आएको परिवर्तनलाई क्यानभासमा प्रस्ट झल्काउने प्रयास गरेकी छन् । साथै समानताको अपेक्षा स्वरूप थुप्रै मिथिला चित्र कोरेकी छन् । यति बेला तिनै चित्रसहित उनले राजधानीमा एकल प्रदर्शनी थालेकी छन् ।

बबरमलस्थित आर्ट काउन्सिलमा ‘समानता’ थिममा उनको दोस्रो एकल चित्रकला प्रदर्शनी भइरहेको छ । यसअघि उनको चित्रकला प्रदर्शनी अमेरिकामा भएको थियो । उनी सन् २०१६ मा ‘कमन ग्राउन्ड अवार्ड’ बाट सम्मानित पनि भएकी थिइन् । ‘डेढ दशकदेखि मिथिला आर्ट कोर्दर्ै आएकी छु,’ उनी भन्छिन्, ‘अझै सिक्दै छु । घरको काम सबै सकेर चित्र कोर्न थाल्छु । मेरो मिहिनेत देखेर छिमेकी महिलाहरू सिक्न आउनुहुन्छ ।’

सुनैनाले एक दशकदेखि नै मिथिला कला सिकाउँदै आएकी छन् । उनी अचेल घरमै तालिम दिने गर्छिन् । त्यो पनि नि:शुल्क । चित्र कोरेर के गर्ने ? घरपरिवारले अर्थोपाजनको आस गर्न थाल्छन् । बजारको उचित व्यवस्थापन नहुँदा मिथिला चित्रकला कोर्ने महिला अलमलमा परेका उनी बताउँछिन् ।

सुनैनाको चित्रकलामा अहिलेको मिथिलानगरी झल्किन्छ । चुलोचौका गर्ने महिलाले अब आयआर्जनको बाटो रोज्न थालेका छन् । उनले यस्तो अवस्था आफ्ना सिर्जनामा पोतेकी छन् । तर, समय बदलिए पनि समानताको विषय भने अझै ओझेलमा रहेको उनका चित्रमा महसुस गर्न सकिन्छ ।

‘पुरुष र महिला समान छन्’ थिममा सुनैनाले गर्भवतीको अवस्था देखाएकी छन् । यो चित्रमा पुरुष गर्भवतीको हात समाउँदै हिँडेको देख्न सकिन्छ । तर, चित्रमा देखिएजस्तो समाजमा गर्भवतीलाई पतिको त्यस्तो साथ मिल्न सकेको छैन । यही विभेद हटाउन सकारात्मक चित्र कोरेको उनी सुनाउँछिन् ।

‘पत्नी गर्भवती हुँदा पतिको पनि उत्तिकै जिम्मेवारी हुन्छ,’ उनी भन्छिन्, ‘समान दायित्व महसुस गराउन चित्र कोरेकी हुँ ।’

पहिलेको तुलनामा समय बदलिएपछि सुनैना चुलोचौकाबाट क्यानभास सजाउनसम्म त आइपुगिन्, उनी भने अझै खुसी छैनन् । मिथिला चित्रकलालाई आम्दानीको गतिलो स्रोत नबनुन्जेल यहाँका महिला यस क्षेत्रमा उदाउन गाह्रै पर्ने उनको तर्क छ । ‘मिथिलाका महिला चित्र कोर्न चाहन्छन्,’ उनी भन्छिन्, ‘तर, आम्दानी राम्रो नहुने भएकाले त्यो चाहना लुकाएर बस्न बाध्य छन् ।’

शुक्रबारसम्म चल्ने प्रदर्शनीमा ५ हजारदेखि ३० हजार रुपैयाँसम्मका चित्र छन् ।

प्रकाशित : माघ ४, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?