भेटिएन मौलिक परिकार 

फास्टफुड केन्द्रित ल्होछार 

काठमाडौँ — भृकुटीमण्डपमा बिहीबार दिनैभरि सोनाम ल्होछार मनाउनेहरूको भीड थियो । बालक, युवा, वृद्ध सबै उमेर समूहका महिलापुरुष तामाङ पहिरनमा सजिएर ल्होछार मनाउन आइपुगेका थिए । भृकुटीमण्डपमा बृहत् सांस्कृतिक महोत्सव गर्दै सोनाम ल्होछार २८५४ मा यस वर्ष नाखी ल्हो (कुकुर वर्ष) मनाइयो ।

भेटिएन मौलिक परिकार 

महोत्सवमा विभिन्न फुडस्टल पनि थिए । प्राय:मा मम, चाउमिन, ससेज, फ्रेन्चफ्राई, चिकेन लेग पिस, बफ, चिकेन चिल्ली, समोसा, चाट, पानीपुरीलगायत फास्टफुड खानेकुरा प्राथमिकतामा थिए । कुनै कुनै स्टलमा मात्रै सेल, माछा, तोङा, अण्डा, आलु, चना, चिउरा, राँगा, कुखुराका मासुलगायत खानेकुराहरू पाइन्थे ।

मनमैजुका ६१ वर्षीय फूलबहादुर डिम्दुङ दुई वर्षदेखि राजधानीमा ल्होछार मनाउँदै आएका छन् । उनी फुडस्टलमा आफ्नो परिवारसँग बसेर मम खाँदै थिए । धादिङमा जन्मिएका उनी घरमा छँदा ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरी ठूलाबडाको आशीर्वाद लिने गर्थे । ल्होछारको दिन चामलको पिठोबाट बनेको रोटी, कन्दमुल खाएको उनले झल्झली सम्झे । अहिले महोत्सवमा मम खाँदा छुट्टै अनुभव भएको उल्लेख गर्दै थपे, ‘वनतरुल खोजेर त्यसको परिकार खाएजस्तो त कहाँ हुन्छ र ? महोत्सवमा यस्ता परिकार भइदिए हुन्थ्यो ।’

ल्होछारमा चामल, मास, दाल, फिन, दालचिनी, हरियो सागलगायत नौ प्रकारका सामान मिलाएर बनाएको झोल अर्थात् कुथुक्पा खाने प्रचलन छ । त्यस्तै, दुची (पञ्चामृत), छेमार (पञ्चामृतमा मकै, गहुँ, चामल मिसाएर बनाइएको परिकार), खाप्से (गहुँ, चामल मैदामा घ्यू र चिनी हालेर पकाइएको रोटी), चाङ्से/गेङ (चामलको रोटी), कन्दमुल (सख्खरखण्ड, पिँडालु, घरतरुल, वनतरुल), माछामासुका परिकार, आलुम (गहुँ वा कोदोको पिठोबाट बनेको परिकार) खाने चलन रहेको फूलबहादुरले सुनाए । तर महोत्सवका स्टलहरूमा भने ती परिकार थिएनन् ।

तामाङ समुदायमा ‘ल्हो’ भनेको वर्ष र ‘छार’ भनेको नयाँ हो । यसलाई नयाँ वर्षको रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङा, भोटे, दुरा र लेप्चा जातिले फरकफरक समयमा फरक तरिकाले मनाउने गरेको फूलबहादुरले बताए ।


महोत्सवभित्रै सामाखुसीका शीलबहादुर बराल मगरले चाहिँ मकै, गहुँ र चामलबाट बनेको रोटी बेच्दै थिए । दक्षिण कोरियाबाट ल्याएको मेसिन र प्रविधिबाट बनेको रोटी पनि उनको स्टलमा थियो ।


राजधानीमा पहिलो पटक ल्होछार मनाउन लागेकी धादिङकी भारती तामाङ पनि टिपिकल तामाङ खानालाई मिस गर्दै गरेको सुनाइन् । ‘घरमा मनाउँदा आफन्त परिवार मिलेर विभिन्न परिकार बनाएर खान्थ्यौँ । वनमा पाइने र घरको तरुलकै आठ/नौ थरी परिकार बनाएर खान्थ्यौँ । अहिले त्यो मिस गर्दै छु,’ उनले भनिन्, ‘यहाँ टिपिकल खानेकुरा भएको भए राम्रो हुने थियो ।’


महोत्सवमा विमल लामा पनि फ्रेन्च फ्राई, मम, ससेजलगायत बेच्दै थिए । महोत्सवमा धेरैले यस्तै खानेकुरा रुचाएको र यो बनाउन पनि सजिलो भएको उनले सुनाए ।



दिनभर महोत्सवमै

अजितमान तामाङ, कोशकार, संस्कृतिविद्

बिहानै उठेर नुवाइधुवाइ गरें । लखाङ (घरभित्रै बनाइएको सानो गुम्बा) मा पूजा गरें । यसपछि सबैजना भेला भएर शुमकामना आदानप्रदान गरें । छोरा, छोरी, पत्नी र बहिनीलाई खादा लगाइदिएर पाँच/पाँच सय दक्षिणा दिएँ । घरमा आलुम, गेङ (रोटी), खाप्से र मासुको परिकार पाकिसकेको थियो, खाएर महोत्सवका लागि निस्कें । दिउँसो भद्रकालीदेखि सांस्कृतिक र्‍यालीमा सहभागी भएँ । र्‍यालीमा झाँक्री, लामा नाचदेखि सेलो नृत्यसम्मको रोचक प्रस्तुति थियो । यसपछि भुकुटीमण्डपको ल्होछार महोत्सवमा गएँ । चौर सानो भएकोले भीड व्यवस्थापनमा केही समस्या रहयो । दिनभर महोत्सवमै व्यस्त भएँ ।

नाटक खेलेर मनाएँ

बुद्धि तामाङ, अभिनेता

यसपालिको ल्होछार नाटक खेलेरै मनाएँ भन्नुपर्‍यो । मण्डला थिएटरको पूर्व यात्राको क्रममा झापामा छु । दिउँसो विराटनगरको झोरहाट थिएटरमा ‘सर्जमिन’ नाटकको दुई सो थियो, कविता वाचनसहित । रंगकर्मीहरूले पनि कविता सुनाएका थिए । दिन यतै बित्यो । घर (काभ्रेको तेमाल) मा आमा र बुबा हुनुहन्छ । बिहानै फोन गरेर आशीर्वाद मागें । यसपटक काठमाडौं र गाउँलाई यतैबाट मिस गरें । यता खाप्से नपाइने रहेछ । खानपान पनि मिस गरें । फोन र एसएमएसबाटै शुभकामना आदानप्रदान गरेर चित्त बुझाएँ ।

आफैंले रोटी बनाएँ

रञ्जिता लामा, अभिनेत्री

अरू बेला जाँगर चल्दैन । तर, आज भान्सामा आफंै पसें । गेङ (रोटी) र गुन्द्रुकको अचार बनाएँ । परिवारका सबै जना बसेर रमाइलो गर्दै आइराक (रक्सी) पनि पिएँ । निकै रमाइलो भयो । दिउँसो भृकुटीमण्डपको ल्होछार महोत्सवमा गएँ । नाचगान हेरें । पुराना कलाकार साथीभाइहरूसित भेटघाट गरें । सबभन्दा ठूलो कुरा त मैले आज सम्मान पाएँ महोत्सवमा । एक दशक लामो अभिनय यात्राका लागि मैले सम्मान पाएकी हुँ । गरेको कामको मूल्यांकन हुँदा खुसी लाग्दो रहेछ । त्यही माथि चाडबाडको बेला पाएको सम्मानले बेग्लै खुसी मिल्दो रहेछ । महोत्सवमा दिदी नवीना लामासँगै स्टेजमा बसेर दिन बिताएँ ।

कन्सर्टमै व्यस्त

रेश्मा बमजन, गायिका

दुइटा ल्होछार कन्सर्ट थिए । बौद्ध तामाङ कल्याण गुठीको र तामाङ सुखदु:ख गुठीको । टुसाल र बौद्ध फूलबारीमा आयोजित यी दुई कन्सर्टले नै दिन खाइदिए । दुवै कार्यक्रममा सेलो गाएँ । ल्होछारलाई नै फोकस्ड गरी केही अघि सार्वजनिक गरेको गीत ‘के साह्रो हेरेको च्याङबा...’ गीतको रेस्पोन्सले खुसी छु । पुराना साथीभाइसँग भेटघाटको योजना थियो, समय मिलेन । खाप्से, आलुम, गेङ खाएँ । मौलिक खानपानमा निकै स्वाद लाग्छ । यसपटक केही तामाङ समुदायले फागुनमा ल्होछार मनाउँदै छन् । त्यसको पनि तयारीमा छु ।

प्रकाशित : माघ ५, २०७४ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?