‘ओ नायक’ लिएर सुनिता 

काठमाडौँ — ‘आजको कविता’ के हो ? अहिलेका नयाँ कवि पुस्ताले लेखिरहेका कविता कस्ता छन् ? भन्ने प्रश्नमा व्यक्तिपिच्छेको विचार फरक आउन सक्छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा कवि सुनीता खनालको ‘ओ नायक’ कविता संग्रह लोकार्पण कार्यक्रममा ‘आजका कविता’ विषयमा अन्तक्र्रिया गर्दै कवि श्यामलले ‘आजको कविता अन्योलतामै रहेको’ दाबी गरे । 

‘ओ नायक’ लिएर सुनिता 

लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’, विजय मल्लको ‘छोरीलाई मानचित्र पढाउँदा’, भूपि शेरचनको ‘हामी’, विमल निभाको ‘जुम्ला’ पढदा आजको कविता जस्तै लाग्ने श्यामलले सुनाए । उनले ‘कविले आफू बाँचेको समयको सत्यलाई कवितामा विषय र शैलीसहित पुन: रचना गर्नुपर्ने’ धारणा राखे । ‘कविको भित्री अन्तर्मनले रचनात्मक दबाब दिएर लेखिएको कविता उत्कृष्ट हुन्छ,’ श्यामलले भने, ‘तर अहिले काठमाडौं बसेर जुम्लाको कविता लेखिन्छ । म त्यो कविताको सत्यमाथि शंका गर्छु ।’ संविधानले दिएको स्वतन्त्रता अहिलेका कवितामा अनुभव गर्न नसकेको बताउँदै उनले ‘स्वतन्त्रता संविधानमा सीमित रहेको र स्वतन्त्रता कविभित्र प्रवेश गर्न नसकेको’ बताए । उनले चाँडै नै कविको कवितामा स्वतन्त्रता जन्मने प्रतीक्षामा रहेको टिप्पणी गरे । सचेत र इमानदार कविले आफ्नो समयलाई कवितामा उतार्नुका साथसाथै कवितामा आफ्नो छाप छोड्नुपर्नेमा जोड दिए । उनले भने, ‘तर ८० प्रतिशत नेपाली कविहरूले आफ्नो छाप र शैली छोड्न सकेका छैनन् । हामी आफैंले पनि आफ्नो कवितालाई फर्केर हेर्नुपर्छ कि के नयाँ शैली हामीले निर्माण गर्न सक्यौँ त भनेर ।’


एउटा उत्कृष्ट कवि तयार हुन कम्तीमा ३० देखि ४० वर्ष लाग्ने अन्तक्र्रियाका क्रममा कवि श्रवण मुकारुङले बताए । तर पहिलेका र अहिलेका कवि र कवितामा तुलना गर्न नहुने उनले सुनाए । ‘कुनै बेला उत्कृष्ट मानिएको भूपि शेरचनको कविता अहिले मनोज गजुरेलको ठट्टाजस्तो लाग्छ,’ उनले भने, ‘हामीले समयलाई सम्मान गर्ने हो । प्रत्येक पुस्ताले कविको सम्मान रचनाको सामथ्र्यले गर्छ ।’ अहिले राजनीति, समाज, चलायमान भएकोले थुप्रै नयाँ कविहरूको आगमन हुनु र विभिन्न विषय र शैलीमा कविता लेखिइनु राम्रो भएको उनले सुनाए । तर पुराना कविले स्थापित गरेको शैलीभन्दा फरक शैलीमा लेख्न उनले प्रेरित गरे ।


अन्तक्र्रियापछि कविहरू श्यामल, मुकारुङलगायत कवि मोमिला र खनालकी आमाले संग्रहको लोकार्पण गरे । कृतिको लोकार्पणपछि मोमिलाले काव्यात्मक शैलीमा कविताहरूमाथि टिप्पणी गरिन् । भनिन्, ‘सुनीताको कविता पढदा ऐनामा आफ्नै अनुहार पढेजस्तो लाग्यो, थुप्रै अन्य सशक्त कवि अनुहारहरूको झझल्को बारबार आउन थाल्छ । अझ धेरै चिनिएका कविहरूको संयुक्त कविता संग्रह पढेजस्तो अनुभव हुन्छ । यो तिम्रो सफलताभन्दा बढी तिम्रो विशेष खुबी हो भन्ने लाग्छ ।’ यसपछि खनालले गितारको धुनसँगै ‘ओ नायक’, ‘दुइटा पृथ्वी’, ‘पातमा प्रेम’, ‘आगोको ठेगाना’, ‘ऐनामा देश’ कविता वाचन गरिन् ।

प्रकाशित : माघ ७, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?