१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हराएका नेपाली मूर्तिहरू डेनमार्कमा

‘इतिहास पहिल्याउन भक्तपुरमा प्रदर्शनी सुरू’
लीला श्रेष्ठ

भक्तपुर — सयौं वर्ष पुरानो र पूजा गर्दागर्दै खिइसकेको एउटा भैरवनाथको मूर्ति कसरी डेनमार्कको मोज्गार्ड म्युजियममा सजिन पुग्यो ? भैरवनाथजस्तै, कृष्ण, तारा, भैरव, मञ्जुश्री, हरियो तारा, पित्तलको सिंह, विष्णुलगायतका पुरातात्त्विक मूर्ति सम्पदाहरू पनि मोज्गार्ड म्युजियमका साखसम्पत्ति बनेर बसेको वर्षौं भइसकेको छ । 

हराएका नेपाली मूर्तिहरू डेनमार्कमा

भक्तपुरको टोनी हागन हाउसस्थित द हेरिटेज ग्यालरीमा आइतबार सुरु भएको पुरातात्त्विक महत्त्वका तस्बिरहरूको प्रदर्शनी जति अर्थपूर्ण छ, उत्तिकै खोजपरक लाग्न सक्छ । यो प्रदर्शनीमा अरूभन्दा पनि डेनमार्कका एकजना शोधार्थी उलरिक जोहेसनले आफ्नो शोधका क्रममा नेपालबाट हराएका मूर्ति सम्पदाका बारेमा गरेको उल्लेखलाई थप सोधीखोजीको विषय बनाइएको छ । धेरै अघि अन्वेषक एवं साहित्यकार लैनसिंह बाङदेलले लेखेको ‘स्टोलन इमेजेज अफ नेपाल’ कृतिका आधारमा अहिले पनि विदेशी संग्रहालयमा राखिएका मूर्ति सम्पदाहरू घर फर्कने क्रम जारी रहेझैं डेनमार्कका शोधार्थी जोहेसनको प्रयासले नेपालबाट हराइरहेका मूर्ति–सम्पदा घर फर्कने आशा प्रदर्शनी आयोजकले गरेका छन् ।


नेपालबाट चोरिएर बाहिरी मुलुकमा पुगेका ५० भन्दा बढी मूर्तिहरूको प्रतिमूर्ति राखेर सम्पदा जगेर्ना र संरक्षणमा नयाँ अभियान थाल्न लागिएको ‘म्युजियम अफ स्टोलन आट्र्स’ का परिकल्पनाकार सम्पदाविद् रवीन्द्र पुरीका अनुसार ग्यालरीमा प्रदर्शनीमा राखिएका तस्बिरबाट हराएका मूर्तिहरूको स्थान, इतिहास र पृष्ठभूमि थाहा पाइने अपेक्षा राखिएको छ ।


प्रदर्शनीमा विभिन्न देवीदेवताका मूर्ति, तोरण, कलात्मक काठको बाकस, सिलाकु, कागजबाट बनाइएको चित्र, कलम राख्ने पित्तलको कलात्मक बाकस, दियो, मादल लगायतका सामग्रीसमेत राखिएका छन् ।

‘विगत केही दशकयता नेपालको सम्पत्ति/ऐश्वर्यमाथि निरन्तर हस्तक्षेप भइरहेको छ,’ पुरीले भने, ‘हाम्रो सम्पदा रित्तिने नै पो हो कि जस्तो अवस्था आइसकेको छ ।’ मूर्तिचोरीलाई ‘सामान्य चोरी’ मात्र मान्न नसकिने उनले बताए । ‘कला संस्कृति र सम्पदासँग निथ्रुक्कै भिजेको हाम्रो दैनिकी र जीवनशैलीकै चोरी भइरहेको अवस्था छ,’ उनले भने ।


संग्रहालय, राष्ट्रिय अभिलेखालय जस्ता स्वयं जिम्मेवार निकायहरू भित्रैबाट पुरातात्त्विक कला र सम्पदाहरू चोरिएको अवस्था अनौठो रहेको भन्दै उनले यो प्रदर्शनी हराएका मूर्तिहरू घर फर्काउने अभियानका रूपमा रहेको बताए ।


प्रदर्शनीमा राखिएका तस्बिरहरू पीएचडी शोधार्थी जोसेनले ‘मोज्गार्ड म्युजियम’ मा खिचेका हुन् । प्रदर्शनीमा राखिएका फोटाको प्रतिमूर्ति निर्माण गरी ‘म्युजियम अफ स्टोलन आट्र्स’ संग्रहालयमा राखिने भएको छ ।


यसअघि पुरीले सन् २०१३ मा १२ औं शताब्दीका हस्तलिखित ग्रन्थका गाताहरू फर्काउन विशेष पहल गरेका थिए । शिवधर्म संग्रह, भागवत पुराण र विष्णु धर्मका चार कृतिका चित्रयुक्त काठेगाता पहिले नेपालको राष्ट्रिय अभिलेखालयमा थिए । अभिलेखालयभित्रबाटै चोरी भई सन् २०१३ मा न्युयोर्क स्थित ऐतिहासिक वास्तुकला प्रदर्शनी एवं बिक्री कम्पनी क्रिस्टीले लिलामी गरिरहेको अवस्थामा पाइयो ।


न्यूयोर्कमै बस्ने नेपालबारे जानकार एलेन कुनले पुरीसँग समन्वय गरी नेपाल, अमेरिका, जर्मनी, बेलायत, जापान, अस्ट्रेलियालगायतका अभियन्ताको सहयोगले क्रिस्टीलाई लिलाम रोक्न बाध्य बनाएको उनले जानकारी दिए । युनेस्कोको अभिसन्धिअनुसार उक्त गाताहरू नेपालकै भएको र चोरी भएर गएको ठहर भएपछि क्रिस्टीलाई पुरातात्त्विक सामग्रीहरू फिर्ता गर्न बाध्य पारिएको उनले बताए ।


हाल डेनमार्कलगायत विदेशी संग्रहालयमा भएका मूर्तिहरूलाई समेत सरकारी पहलमा फिर्ता ल्याउन सकिने उनले आशा व्यक्त गरे ।


हेरिटेज ग्यालरीको प्रदर्शनीमा १० मूर्तिसहित ५१ फोटा राखिएका छन् । प्रदर्शनी मंगलबारसम्म चल्नेछ ।

प्रकाशित : माघ ८, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?