न्युड फिगरमा पुरुष बह
ललितपुर — ‘तिमी कहिल्यै कसैका अगाडि रोएका छौ ?’ प्रश्न थियो चित्रकार रोशन मिश्रलाई । उनले भने उल्टै अर्का चित्रकार कपिलमणि दीक्षितलाई प्रश्न तेस्र्याए, ‘तिमी नि ?’ रोशन र कपिल दुवैले ठयाक्कै जवाफ दिएनन् । बरु भन्दै थिए, ‘सायद धित मारेर रुन पाएको भए, मनका बह पोख्न पाएको भए र मनभरिका वेदना खुलेर अरू समक्ष भन्न पाएको भए क्यानभासमा यस्ता अभिव्यक्ति रंगमार्फत पोत्नु पर्दैन थियो ।’
यी दुई समसामयिक चित्रकार हुन् । दुवैको साझा विशेषता के भने दुवैले न्युड आर्ट अध्ययन गरेका छन् । रोशन बेलायतमा पढेर आएका हुन् भने कपिलले अमेरिकामा । दुवैको नेपालमा बसेर न्युड आर्ट सिर्जना गर्दै आएका छन् । विषयगत समानता भए पनि दुवैले एकसाथ कला प्रदर्शन गर्ने चाँजो मिलेको थिएन । एक वर्षको तयारीपछि यति बेला कपिल र रोशन संयुक्त प्रदर्शनीमा उत्रेका छन् । यसपटक उनीहरू पुरुषको फिगरमा केन्द्रित छन् । पुरुषवादी समाजमा नारीको मात्र नभई पुरुषका पनि वेदनाहरू छन् बुझाउन खोजको उनीहरूको दाबी छ ।
चाकुपाटस्थित एमक्यूब ग्यालरीमा कपिल र रोशनको ‘मेल न्युड’ चित्रकला प्रदर्शनी जारी छ । रोशनको काम मिक्स मिडियामा आधारित छ । उनले डिजिटल प्रविधि र रंग दुवैका माध्यम अपनाएका छन् । आफ्नै फोटो खिचेर फ्लेक्समा प्रिन्ट गरी त्यसमा पनि रंग पोतेका छन् उनले । कपिलले चाहिँ न्युड मेल फिगरमा एक्रेलिक माध्यमबाट आकृति उतारेका छन् । शरीरका मसिना मांसपेशीसमेत नियाल्न सकिने कपिलका चित्रमा कुण्ठामा अल्झिएको पुरुष मनोभाव देखिन्छ । कालो, पहेँलो र सेतो रंगमार्फत उनले स्वतन्त्र भनिए पनि समाजले पुरुषलाई स्वतन्त्र बन्न नदिएको आभास कलामा उतारेका छन् ।
‘केटाले यसो गर्नु हुँदैन उसो गर्नु हुँदैन भन्ने सीमा समाजले निर्धारण गरेको छ,’ कपिल भन्छन्, ‘आफ्नो बारेमा निर्धक्क बोल्न पाउने समाज कहिले निर्माण होला ?’ उनले यस्तै भाव चित्रमा पोखेको बताए । रोशनले पनि डिजिटल मिडियममा रचनात्मक कामसँगै गम्भीर सन्देश झल्काएका छन् । आफ्नै फोटो प्रिन्ट गरेर उनले ‘म’ भित्रको ‘म’ नियालेका छन् । कपिल र रोशनलाई थाहा छ– न्युड आर्टलाई हाम्रो समाजले सजिलै पचाउन सक्दैन । उनीहरू भने चुनौती नै दिएर काम गरेको बताउँछन् । न्युड आर्ट प्रदर्शन रोशनका लागि नेपालमा नौलो भए पनि कपिलसँग भने धेरै अनुभव छ ।
धेरै पटक कपिललाई चित्रकारहरूको वृत्तबाटै आरोप आयो– समाज भडाउने र छाडा भन्दै । कपिल भने आफ्नो अडानमा दृढ छन् । उनले बुझेको न्युड आर्ट समाजले बुझेको भन्दा बिलकुलै फरक छ । रोशन र कपिलका अनुसार न्युड आर्ट मानव सभ्यताको यथार्थ हो । जसरी प्राकृतिक सौन्दर्यलाई जस्ताको तस्तै क्यानभासमा उतार्दा ल्यान्डस्केप बन्छ, त्यसरी नै मानव शरीर उतार्नु न्युड आर्ट हो । ‘न्युड आर्ट र ल्यान्डस्केप उस्तै त हुन्,’ रोशन भन्छन् ।
रोशन र कपिलको संवाद सुनिरहेका क्युरेटर मनीषलाल श्रेष्ठले पनि आफ्नो बह पोखे । लंैगिक विभेद हुनु भनेको महिलामा मात्रै केन्द्रित हुनु होइन । यहाँसम्म कि रंग छनोटमा समेत समाजले लैंगिक विभेद सिर्जना गरेको मनीष बताउँछन् । ‘पिङ, रातो रंग पुरुषका लागि बनेकै होइनन् त ?’ मनीष भन्छन्, ‘यस्ता विषयमा कहिल्यै बहस भएकै छैनन् ।’
प्रदर्शनीमा २० हजारदेखि १ लाख रुपैयाँसम्मका कलाकृति राखिएका छन् ।
प्रकाशित : फाल्गुन ४, २०७४ ०८:०२