कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कविशिरोमणिका कृति एकमुस्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — कविशिरोमणि लेखनाथ पौडयाल भन्नासाथ सेतै फुलेको लामो दाह्रीवाल अनुहार दिमागमा आउँछ । उपलब्ध सबै तस्बिरमा उनी त्यस्तै लुक्समा देखिन्छन् ।

कविशिरोमणिका कृति एकमुस्ट

कविशिरोमणिलाई प्रत्यक्ष देखेभेटेकाहरूले चाहिँ उनलाई कस्तो हुलियामा पाए होलान् ? नेपाली शिक्षा परिषदकी महासचिव रमा शर्माले कविको थप चित्र सुनाइन् । ‘उहाँ भोटो, सुरुवालमा सजिनुहुन्थ्यो,’ उनले भनिन्, ‘अग्लो, दुब्लो, पातलो कायाको हुनुहुन्थ्यो । तेजिलो आवाजमा कविता सुनाउनुहुन्थ्यो ।’

कविशिरोमणिबारे उत्सुकता राख्नेलाई उनका अप्रकाशित तस्बिरसहितको पुस्तक ‘कविशिरोमणि रचनावली’ निकै काम लाग्न सक्छ । रचनावलीमा पाँच खण्ड छन्, जसमा उनका सम्पूर्ण कृति संगृहीत छन् । कविशिरोमणिको स्मृति दिवस अवसरमा सोमबार कालिकास्थानस्थित नेपालयमा परिषदकी शर्मासँगै पौडयालकी नातिनी डा. प्रतिभा पाण्डेले पुस्तक लोकार्पण गरे । डा. पाण्डेले हजुरबुबाका कृति बजारमा पाउन छोडेको आभास भएपछि कविलाई पाठकको घरघरमा पुर्‍याउने इच्छाअनुरूप रचनावली तयार पारेको बताइन् ।

कार्यक्रममा शर्मा, डा. पाण्डे र पुस्तकका संकलक एवं सम्पादक प्रा. सनतकुमार वस्तीसँग गायक/संगीतकार आभासले कुराकानी गरेका थिए । प्रा. वस्तीले कविशिरोमणिलाई आफूले बाबा मानेको भन्दै उनका रचना सम्पादन गर्ने अभिभारा पाउँदा छाती ढक्क फुलेको बताए । ‘उहाँका हस्तलिखित पाण्डुलिपि र पहिलो पटक प्रकाशन भएका पुस्तक तथा पत्रिकाबाट सामग्री संकलन गरिएको हो,’ उनले भने, ‘उहाँलाई पढेर बुझ्ने पुस्ता विलीन हुन थालेको छ । हामीले कतिपय कविता सरल भाषामा पनि राखिदिएका छौं ।’

डा. पाण्डेले हजुरबुबाबाट प्रभावित भई आफू (दिदीबहिनी) हरू कवितामै झगडा गर्ने गरेको सम्झिइन्, हजुरबुबाका अरू विशेषताबारे बताइन् । ‘म एक पटक बिरामी भएकी थिएँ,’ उनले भनिन्, ‘हजुरबुबाले जडीबुटी दिएर बिसेक गराउनुभयो । उहाँमा आयुर्वेदको पनि राम्रो ज्ञान थियो ।’

परिषदकी शर्माले चाहिँ २००८ मा पौडयालको नागरिक अभिनन्दनमा रथयात्रा गरिएको र टुँडिखेलको सभामा उनलाई प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले ५ हजार रुपैयाँको थैली दिएको बताइन् । ‘सिक्कैसिक्काको थैली थियो,’ उनले भनिन्, ‘त्यो पैसा कविले हाम्रो परिषदलाई दिनुभयो । र, त्यसमै थपथाप गरेर साहित्य सदन बनाउन भन्नुभयो ।’ कविको सपना पूरा गर्न परिषदले ‘लेखनाथ साहित्य सदन’ स्थापना गरेको शर्माको भनाइ थियो । उनका कविताकै कारण आफ्नो पुस्ता नैतिकतावान् र गुणी भएको भन्दै उनले थपिन्, ‘उहाँको साहित्यमा रहेको दार्शनिक पक्षलाई अहिलेको पुस्ताले बुझ्न जरुरी छ ।’

लेखनाथ साहित्य प्रतिष्ठान, पोखराका शुक्रराज अधिकारीले कास्कीका ५८ मध्ये एउटा नगरपालिकाको नाउँ साहित्यक व्यक्तिका नाममा राखिएको भन्दै यसले कविशिरोमणिको सम्मान भएको बताए ।


उक्त रचनावली पब्लिकेसन्स नेपालयले छापेको हो ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?