“मातृभाषाको सबलीकरण अत्यावश्यक”

कुनै भाषा बोलचालबाट हराउन जति सजिलो छ, त्यति नै कठिन एकपल्ट लोप भइसकेपछि पुनर्जीवन दिनमा हुन्छ । झन्डै असम्भव नै हुन्छ ।डा. माधवप्रसाद पोखरेल
कान्तिपुर संवाददाता

काठमाडौँ — २०७२ मा जारी भएको संविधानमा हरेक प्रदेशमा बोलिने मातृभाषामध्ये प्रदेशमा जनसंख्याका आधारमा नेपाली भाषाबाहेक सरकारी कामकाजको भाषा बनाउन सकिने व्यवस्था छ । त्यसलाई कार्यान्वयन गर्नु प्रदेश सरकारहरूको प्राथमिकता हुनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

‘मातृभाषाको स्तरोन्नति गर्न अब सातै प्रदेशका सरकारले कुन भाषालाई सरकारी कामकाजको बनाउने भन्ने बहस चलाउनु, अनुसन्धान गराउनु र जनमत तयार गर्नु आवश्यक भइसकेको छ,’ अन्तर्राष्ट्रिय मातृभाषा दिवस पारेर मंगलबार आयोजित गोष्ठीमा डा. माधवप्रसाद पोखरेल भने । नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौंद्वारा आयोजित गोष्ठीमा पोखरेल ‘संघीय संरचनामा मातृभाषाको सबलीकरण’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै थिए ।


मातृभाषाको सबलताको अभिवृद्धि वा स्तरोन्नति गर्न मातृभाषीहरू सचेत, जागरुक र तत्पर भएमा भाषालाई एकपल्टमा एक खुड्किलो माथि उकास्न सकिने पोखरेलले जनाए । ‘भाषिक सवलीकरणको मूलमन्त्र हरेक मातृभाषीले आफ्ना सन्तानलाई आफूजत्तिकै राम्रो बोल्न जान्ने बनाउन सजग रहनु हो,’ उनले भने, ‘कुनै भाषा बोलचालबाट हराउन जति सजिलो छ, त्यति नै कठिन एकपल्ट लोप भइसकेपछि पुनर्जीवन दिनमा हुन्छ । झन्डै असम्भव नै हुन्छ ।’ लोपोन्मुख भाषाको सवलीकरण गर्न जुन विधि र प्राथमिकता काम लाग्छ, अल्पसंख्यक भाषालाई उकास्न त्यही विधि काम नलाग्ने उनले खुलाए । वर्णमाला तयार पारेर लेख्य परम्परासमेत भएका र साहित्य रचना हुने भाषालाई विद्यालयमा पठनपाठनमा ल्यायो भने त्यो भाषाको स्तरोन्नति हुने उनले सुझाए ।


फिस्मनले १९९१ मा ‘रिभर्सिङ ल्याङवेज सिफ्ट’ मार्फत ‘कसरी कुनै लोपोन्मुख भाषालाई पुनर्जीवित गर्न सकिन्छ’ भन्ने धारणा सार्वजनिक गरेको डा. पोखरेलले सुनाए । पोखरेलको कार्यपत्रमाथि प्रतापसिंह नाछिरिङ, जगत् वशिष्ठ, बमकुमारी बुढामगर, कुलराज घिमिरे, मनबहादुर थापामगर, तीर्थराज राई लगायतले टिप्पणी गरेका थिए ।


अन्तर्राष्ट्रिय मातृभाषा दिवस २००० देखि विश्वव्यापी रूपमा मनाउन थालिएको हो । युनेस्कोले सन् १९९९ मा फेबु्रअरी २१ तारिखलाई यो दिवसका रूपमा मान्ने निर्णय गरेको थियो । मूलत: मातृभाषा आन्दोलनका क्रममा बंगलादेशका चार विद्यार्थीले सहादत पाए । तिनैको बलिदानको कदर स्वरूप युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस विश्वव्यापी रूपमा मनाउने अभियान थालेको हो । बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले बंगलादेशमा भएको भाषिक आन्दोलनबारे खुलाइन् । पछिल्लो समय विश्वव्यापीकरण, सांस्कृतिक साम्राज्यवाद र सामाजिक सञ्जालले भाषामा हस्तक्षेप गरेको उनले तर्क गरिन् । बंगलादेश र नेपालका साहित्य अनुवाद गरेर दुई देशबीच सांस्कृतिक सम्बन्ध स्थापना गर्ने कोसिस गरिरहेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जनाए ।


कार्यक्रममा पूर्ण ताम्राकारले ‘नेपाल भाषाको आधुनिक कविताको प्रवृत्ति’ शीर्षक कार्यपत्र प्रस्तुत गरे । नेपाल भाषाको प्राचीन काव्यको इतिहास झन्डै ४ सय ६७ वर्ष पुरानो भएको ताम्राकारले बताए । ‘काव्यको विकासक्रममा आधुनिक कविताको प्रारम्भ भएको पाँच दशक नाघेको छ,’ उनले भने, ‘काव्यको कलात्मक अभिव्यञ्जना, प्रतीक, विम्ब, उपमाको प्रगोगमा वैयक्तिकीकरण, मौलिकता र त्यसको विविध अर्थबोध हुनुका साथै वैचारिक दृष्टिकोणले पनि बढी समसामयिक र जनपक्षीय हुनुले आधुनिक कविता सशक्त हुन पुगेको हो ।’


उनको कार्यपत्रमाथि कवि सुलोचना मानन्धरले टिप्पणी गरेकी थिइन् ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?