गुन्जिए मातृभाषाका कविता
काठमाडौँ — तथ्यांकअनुसार, मुलुकभित्रका ४४.६ प्रतिशतले नेपाली भाषालाई मातृभाषाका रूपमा बोल्छन् । त्यसैगरी ३२.७७ प्रतिशतले दोस्रो भाषाका रूपमा बोल्छन् । बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भने शतप्रतिशत नै विभिन्न मातृभाषाका कविता गुन्जिए । प्रतिष्ठानले गरेको ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ मा मेचीदेखि कालीसम्मकै समुदायका साहित्यकारहरूले भाग लिए ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा आयोजित महोत्सवमा यो वर्ष ३१ भाषाका ३५ कविता वाचन गरिए । युवा कवि शीतल थोकर तामाङले आफ्नै मातृभाषामा ‘कोम्हेन्दो’ कविता सुनाउँदै कार्यक्रमको उद्घाटन गरिन् । तामाङ भाषामै सजना गोले तामाङ र इन्दु नेपाल योञ्जनले कविता सुनाए । त्यसैगरी, प्रयास दुमी राईले दुमी, मगरनी रामजिता र राकश बीएमले खाम मगर, अमृता थापामगरले ढुट मगर, सविनसिंह चौधरीले अवधी, कृतिका केवरतले केवरत, छम गुरुङले गुरुङ, निशा चौधरीले चौधरी, पवनकुमार यादवले मैथिली, आशिक अलीले मैथिली, लक्ष्मी एडीले हुम्ली, दिलबहादुर कुमाल र अमृता कुमालले कुमाल, रजनी मिलाले नेपालभाषा, जगबहादुर बुढामगरले काइके मगर, गोमा जिमीले याक्खा, धर्मेश जयसवालले भोजपुरी भाषाका कविता सुनाए ।
त्यस्तै, हीरामाया थामी, भानु सुनुवार, तेजेन्द्र ताजपुरिया, टहल जिरेल, किशोर बाहिङ राई, मोनालिसा धिमाल, अजय अलङकार कुलुङ, रोशन घले, माधव छन्त्याल, श्याम राईले वाम्बुले, उमेश चौधरी, पेमा ग्याछो लामा, विष्णु याक्सो, देवकुमार दुरा, प्रतापसिंह नाछिरिङले आ(आफ्नो मातृभाषामा सिर्जना प्रस्तुत गरे । प्रतिष्ठानको डबलीमा आयोजित महोत्सव सुरु हुनुअघि तामाङ, गुरुङ, थारू, राई, सुनुवार, लिम्बू, धिमाल, माझीलगायतका सांस्कृतिक झाँकीसहित टोलीहरूले बागबजार, पुतलीसडक हुँदै कमलादीसम्म र्याली गरेका थिए । समारोहमा नाच प्रस्तुत गरिए ।
कविता नै किन रोजियो भन्नेबारे प्रतिष्ठानका माृतभाषा विभाग प्रमुख एवं कार्यक्रम संयोजक श्रवण मुकारुङले भने, ‘कुनै पनि भाषालाई विशिष्ट बनाउने काम कविताले गर्छ । आदिकवि भानुभक्तलगायतका कविताले गर्दा नै नेपाली भाषाले यति धेरै उचाइ पाएको हो ।’ नेपालका लोपोन्मुख भाषा बचाउने काम सम्बन्धित समुदाय र राज्यको रहेको उनले जनाए ।
‘अहिले नेपाली युवाहरू कोरिया भाषा सिक्न लाइन लागेको हामी देख्छौँ,’ उनले भने, ‘राज्यले पनि नेपालको मातृभाषा सिक्यो भने यस्ता अवसरहरू पाउन सकिन्छ भनेर अवसरहरू सिर्जना गर्नुपर्छ ।’ कार्यक्रममा भाषाशास्त्री डा. नोवलकिशोर राईले मातृभाषाको महत्त्वबारे बोलेका थिए ।
चार स्रष्टा पुरस्कृत
यो वर्षको ‘मातृभाषा साहित्य पुरस्कार’ चार मातृभाषी युवा स्रष्टालाई प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा पुरस्कृत गरिएको हो । सरकार मातहत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले तीन वर्षपछि उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा मगर भाषाकी कवि हेमा आलेमगर (नवलपरासी), बान्तावा भाषाका कवि निराजन बतास (भोजपुर), चाम्लिङ भाषाका कवि तिलक चाम्लिङ (खोटाङ) र ताजपुरिया भाषाका कवि तेजेन्द्र ताजपुरिया छन् । उनीहरूलाई जनही ३० हजार रुपैयाँ र सम्मानपत्र दिइयो । प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गरेका हुन् ।
प्रकाशित : फाल्गुन १०, २०७४ ०८:२९