धरणीधरको सम्झना
काठमाडौँ — २०३६ माघ २६ गते दिवंगत हुनुभएका कवि प. धरणीधर शर्मा कोइरालालाई स्मरण गर्दै शब्दचित्रमा कोर्ने प्रयास गर्दै छु । यो लेख नितान्त निजी सम्बन्धको पृष्ठभूमिमा लेखिएको हो, कवि र कविताबारे लेखिएको विश्लेषणात्मक, समीक्षात्मक लेख होइन ।
धरणीधर मेरो जेठाबा अवन्तीनाथ कोइरालाका सुपुत्र हुनुहुन्थ्यो । म उहाँको कान्छाबा विष्णुप्रसाद कोइरालाकी छोरी भएकै कारण नाताले हामी दुईको सम्बन्ध दाजुबहिनीको हुन गयो ।
बाल्यकालमा बनारसमा रहँदा उहाँ दार्जिलिङबाट यदाकदा बनारस आउँदा हामी बसेकै डेरामा आउनुहुन्थ्यो । आमाले चिनाउनुभयो— उहाँ तिमीहरूको जेठाबाका छोरा । मेरा आफ्ना पनि दुई दाजुहरू हुनुहुन्थ्यो— ढुण्डिराज र दीर्घराज कोइराला । उहाँहरूलाई ठूल्दाजु, सान्दाजु भनिन्थ्यो । अब धरणीधर दाइलाई के भनेर सम्बोधन गर्ने ? आमाले नै सुझाउनुभयो— तिमीहरूले हजुरदाजु भन्नुपर्छ । त्यस दिनदेखि हामी केटाकेटी सबैले उहाँलाई ‘हजुरदाजु’ भनेर सम्बोधन गर्ने गरेका थियौं । उहाँ बडो प्रभावकारी ढंगले कवितावाचन गरेर सुनाउनुहुन्थ्यो । केटाकेटी अवस्थामा अवाक, वाल्ल परेर सुनिरहन्थ्यौ । बेलुकीपख बनारसका गल्लीमा पाइने मलाई (दूधको परिकार) किन्न पठाएर सबैलाई बाँडेर खाएको सम्झिरहेछु यसबखत, स्वादिष्ट मलाई ।
धेरै वर्ष प्रवासमा (दार्जिलिङ) बस्नुभएका कारण दाजु धरणीधरसँगको सामीप्य उहाँ नेपाल फर्किएपछि मात्र बढी आत्मीय र निकट हुन गयो । दार्जिलिङमा सूधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर, पारसमणि प्रधान) का नामले प्रख्यातमध्ये दुई सूर्यविक्रम ज्ञवाली र धरणीधर सम्भवत: सँगै नेपाल फर्किनुभएको थियो । उहाँहरूलाई फर्काउने क्रममा मेरा दाजु दीर्घराज कोइरालाले नै सूत्रधारको भूमिका निर्वाह गर्नुभएको थियो । दाजु धरणीधर केही समय भाइ दीर्घराज बसेको मैतीदेवीकै डेरा घरमा बस्नुभयो ।
दाजु धरणीधर मैतीदेवीमा छँदा म आफू भर्खर प्रवेशिका परीक्षा उत्तीर्ण गरेर विराटनगरबाट कलेज अध्ययनका लागि आएकी थिएँ । धरणीधरको कविता साहित्य सुधा पाठयक्रममा राखिएकाले कण्ठाग्र नै थियो । उहाँलाई जिस्काउने हेतुले झिनो मसिनो स्वरमा वाचन गर्दथें ।
अति सुन्दर मानव जीवन यो
अझ सुन्दर पार्नु कसोगरी हो
गरी काव्य सुधा रस पान अरे
गर मानव जीवन सार्थक रे
मैले वाचन गरेको सुनेर प्रत्युत्तरमा धरणीधर बडो प्रभावकारी र ओजपूर्ण स्वरमा हात हल्लाउँदै केटाकेटी सबैलाई डाकेर पूर्ण कवितावाचन गर्ने क्रममा तलका पंक्तिहरू बारम्बार दोहोर्याउँदै,
पढ पूर्व र पश्चिम उत्तरका
अरू दक्षिणका कविका कविता
कविता कृति वा कविता सरिता
बीच हेलिनुपर्छ है अब ता
साहित्यमा रुचि लिन अभिप्रेरित गर्नुहुन्थ्यो ।
धरणीधर दाइलाई स्मरण गर्नेबित्तिकै सर्लक्क अगाडि आउँछ एउटा आकर्षक गोरो अग्लो व्यक्तित्व, मानौं ऊ नेप्टे थेप्चे नेपाली होइन, कुनै पन्जाबी मूलको मान्छेजस्तो । हरबखत ख्यालखट्टा हाँसो रुचाउनुहुन्थ्यो, आफ्ना अनुभवका तीतामीठा कुराहरू गरेर हँसाइरहनुहुन्थ्यो । चुप लागेर बसिरहेको बेला पनि कान छेउ आएर साउती गरेझैं भन्ने गर्नुहुन्थ्यो, ‘किप स्माइलिङ’ । मानौं यो जीवनकै मूलमन्त्र हो र यसलाई सबैले जीवनपर्यन्त जपिरहनुपर्छ । त्यसबखत त्यो उमेरमा पनि कति जिस्किरहनुहुन्छजस्तो लाग्थ्यो । अहिले जीवनको उत्तराद्र्धमा आएर मलाई निराश र हतास भएका क्षणहरूमा हठात् बिजुली चम्केझैं हजुरदाजुको मूलमन्त्र ‘किप स्माइलिङ’ कानमा प्रतिध्वनित भइरहन्छ । फिस्स हाँसिदिन्छु ।
अहिले यसबखत म कुनै समालोचक भएर नेपाली काव्य जगत्मा धरणीधरको योगदानबारे चर्चा गर्न गइरहेकी छैन । यद्यपि त्यो कालजयी जीवन्त कविता जाग जागको के सार्वकालिक महत्त्व छैन त भनेर सोच्न बाध्य छु, कविका पंक्तिहरू गुनगुनाइरहेछु ।
जाग जाग अब जाग न जाग
लाग उन्नतिविषे अब लाग
भो भयो अति सुत्यौ अब जाग
घोर निंद अब ता परित्याग
यो १९६८ तिरको कुरा हो । म शान्ति निकेतन, विश्वभारती विश्वविद्यालय (रवीन्द्रनाथ ठाकुरले स्थापना गरेको) मा अध्ययनरत थिएँ । धरणीधर दाइ काठमाडौंको फर्पिङ शेषनारायण नजिकै घरमा बस्नुहुन्थ्यो । मलाई शान्ति निकेतनमा दिनानुदिन विभिन्न भाषामा (अंग्रेजी, नेपाली, बंगला) लेखिएका रजिस्ट्री चिठ्ठीहरू आउने गर्थे ।
चिठ्ठीमा कोइराला वंशजका कुरा, पिता पितामहका कुरा, चरित्र निर्माणका कुरा, साहित्यिक व्यक्तित्व र साहित्यबारे चर्चा आदि इत्यादि गरिएको हुन्थ्यो । मैले बेवास्ता, अरुचि देखाएको र पत्राचार नगरेकोमा फेरि अर्को पत्र आउँथ्यो । त्यो पत्र पढेपछि पटयाएर थन्काउँदै भन्ने गर्थें, बूढा दाजुको टाइमपास गर्ने शैली । समय अन्तरालमा थाहा हुँदै गयो परोक्ष उपरोक्ष ती पत्रहरू नै मेरो आफ्नै जीवनकालका पथप्रदर्शक रहेछन् । अहिले पश्चात्ताप गरिरहेछु मैले ती पत्रहरू सबै संकलन गरेर किन राख्न सकिनँ, त्यो ऐतिहासिक महत्त्वपूर्ण दस्ताबेजहरू । हिन्दीमा एउटा उखान छ, ‘घरकी मुर्गी साग बराबर’ । मेरो अपरिपक्व उमेरले धरणीधरजस्तो विद्वान, कवि, प्रेरणादायी व्यक्तित्वको मूल्यांकन गर्नै सकेन । अहिले सम्झिएर उदास हुन्छु ।
नेपाल भूमिको रामेछापको बेनाली गाउँमा आमाले ढिकीमा कोदो कुट्दाकुट्दै त्यसैको थुप्रोमा जन्मिएका धरणीधरले लेखेको ‘कोदानुनय’ (कवितासंग्रह) मेरा लागि शान्ति निकेतनमा रहँदा पढेको रवीन्द्रनाथ ठाकुरको गीताञ्जली (कवितासंग्रह) हुन गइरहेछ यसबखत । कवि धरणीधर त नेपालकै ठाकुर हुनुहुँदो रहेछ । मैले चिन्न सकिनँ त्यसबखत । धरणीधर दाइले दार्जिलिङमा कवि गुरु रवीन्द्रनाथलाई भेटेको कुरा सुनाउनुभएको थियो । ठाकुर र दाइको दाह्री पालेको लगभग उस्तैउस्तै आकृति । के मैले धरणीधरलाई नेपालको ठाकुर ठान्नु मनासिब होइन त ? दुवैको तस्बिर एकै पटक हेर्नेलाई हठात् यस्तो पनि लाग्न सक्छ । उहाँको उचाइ र हाम्रो बाउन्नेपन । जाग्न र उन्नति गर्न नसकेर हामी त भुइँमै थचारिएर बसिरहेका रहेछौं । ‘स्माइलिङ’ ले मात्र पुग्दैन । हाम्रो अवस्था र अधोगतिमा पेट मिचीमिची हाँस्न मन लागिरहेछ ।
धरणीधर दाइ दार्जिलिङमा रहँदा केही समयका लागि विश्वेश्वरप्रसाद कोइराला पनि वकालत अभ्यास गर्ने सिलसिलामा सँगै बस्नुभयो भन्नुहुन्थ्यो । उहाँका जागरण कविताबाट बीपी पनि निकै नै प्रभावित हुनुहुन्थ्यो । बीपीलाई लक्षित गरेर लेखिएको कविताका पंक्तिहरू सुनाउँदै गरिब निमुखाको वकालत गरेर के पैसा लिनु भनेर विश्वेश्वरले वकालत छाडिदिनुभयो भन्नुहुन्थ्यो । कविताका दुई पंक्तिहरू सम्झिरहेछु यसबखत ।
छरितो र छिटो नयपाली ठिटो
कविता कविता भनी उफ्री उठयो ।
धरणीधर दाइकै प्रेरणामा सम्भवत: बीपीको पहिलो कथासंग्रह ‘दोसी चश्मा’ प्रकाशन भयो । पुस्तकको भूमिका सूर्यविक्रम ज्ञवालीले लेखेको पढेकी छु ।
धरणीधर दाइ मैतीदेवीमा रहँदा लैनसिंह बाङदेलले आफ्ना गुरुको तेलचित्र (प्रोट्रेट) बनाउने कुरा गर्नुभयो । मेरो पनि पानी रंगमा चित्र बनाउने रुचि थियो त्यसबखत । दृश्यचित्रहरू बनाउने गर्दथे । हठात् मलाई पनि धरणीधर दाइको पानी रंगमा एउटा चित्र बनाउने इच्छा भयो । यसका लागि तीन चार घण्टा एकै ठाउँमा बस्नुपर्ने हुन्थ्यो । उहाँ त्यो उमेरमा पनि उत्साहका साथ हुन्छ भनेर तयार हुनुभयो । जाडोको मौसम थियो । दोलाइँ ओढेर ओछयानमा हलचल नगरी बसिरहनुभयो । मैले उहाँको अनुहार आकृति बनाउन थालें पानी रंगमा । लगभग चार घण्टापछि त्यो चित्र तयार भयो, खैरो स्वेटर लगाएको, दोलाइँ ओढेको धरणीधरको मुखाकृति, प्रोट्रेट ।
मजस्तो अपरिपक्व कलाकारलाई अभिप्रेरित गर्न उहाँले एउटै थलोमा त्यो उमेरमा चार घण्टा हलचल नगरी बसेर देखाएको धैर्य र संयमको कुरा सम्झिँदा म नतमस्तक हुन्छु । त्यो चित्र अहिले पनि कालिकास्थानमा ध्रुव दुवाडीको कोरिडोरमा टाँगिएको छ । अपरिपक्व कलाकारले पानी रंगमा बनाएको त्यो चित्रले झट्ट हेर्दा अहिले पनि धरणीधर दाइको व्यक्तित्व आभास दिन्छ । मलाई लाग्दछ त्यस बखत मजस्तो अपरिपक्व कलाकारको इच्छाशक्ति र उहाँजस्तो प्रेरक व्यक्तित्वको प्रेरणाबाट नै त्यो तालु खुइलिएको धरणीधरको मुहारचित्र चित्रित हुन सम्भव भयो ।
धरणीधर दाइको स्मरण शक्ति बेजोडको थियो । मैले अंग्रेजी साहित्यमा स्नातकोत्तरको परीक्षा दिएर आएपछि प्रश्नपत्र हेर्दै कविहरू (किट्स, सेली, वर्डसवर्थ आदि) का पंक्तिहरू कण्ठाग्र सबै भनिदिनुभयो । अहिले पनि डिल्लीरमण रेग्मी पुस्तकालयमा एउटा कक्षमा राखिएको उहाँले अध्ययन गरेका पुस्तकहरूमा कसरी अन्डरलाइन गरेर अध्ययन गर्ने बानी रहेछ भनेर देख्न सकिन्छ । सातको दशकतिर पनि गोहाटी विश्वविद्यालयबाट आउने नेपाली विषयको उत्तरपुस्तिका जाँच्ने क्रममा कापीका अंकहरू जोड्न दिएको कुरा सम्झिरहेछु । परीक्षार्थीले लेखेका कुनै रोचक वा घतलाग्दो कुरा भए पढेर सुनाउनुहुन्थ्यो । हरबखत क्रियाशील, उत्साही र प्रेरणादायी । सभा समारोहमा जान तत्पर भइरहने । उहाँ कालिकास्थानमा बसोबास गर्दा नै आउने जाने क्रममा देखेकी हुँु मूर्धन्य साहित्यकारहरू, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, गोपाल पाँडे असिम, केदारमान व्यथित, देवकुमारी थापा, लख्वीदेवी सुन्दास आदि इत्यादि ।
संयोगवश अहिले मेरो बासस्थान बत्तीसपुतलीको घरअगाडिको बाटोको नाम हो सूर्यविक्रम ज्ञवाली मार्ग । बाटोमा ओहोरदोहोर गरिरहँदा पनि स्मरण हुन्छ— पछाडि हात बाँधेर, मोटो चश्मा लगाएर गम्भीर मुद्रामा हिँड्ने सूर्यविक्रम ज्ञवालीलाई र उहाँसँगै सम्झनामा आउनुहुन्छ धरणीधरण शर्मा कोइराला, बिर्सन नसकिने यो जोडीलाई यो छोटो लेखबाट नै श्रद्धासुमन चढाउँछु । धरणीधर दाइले २०२१ सालतिर दिनुभएको आशीर्वचनका दुई पक्तिहरू उहाँकै अक्षरमा उद्धृत गर्दै यो लेख यहीं टुंग्याउँछु ।
प्रकाशित : फाल्गुन १२, २०७४ ०९:१३