३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

साहित्यकार मञ्जुललाई ‘अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार’ 

पर्वत पोर्तेल

विर्तामोड — बीसको दशकमा चर्चित ‘राल्फाली आन्दोलन’ का अगुवा साहित्यकार तथा जनगायक मेघराज शर्मा नेपाल ‘मञ्जुल’लाई रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले प्रदान गर्ने ‘अम्विकादेवी ओली स्मृति साहित्य पुरस्कार’ दिइने भएको छ ।  

साहित्यकार मञ्जुललाई ‘अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार’ 

प्रतिष्ठानले शनिबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै नेपाली भाषा र साहित्य क्षेत्रमा लामो समयदेखि योगदान पुऱ्याएका आधारमा मञ्जुललाई पुरस्कृत गर्न लागेको जनाएको छ । प्रतिष्ठानले मञ्जुलसंगै सामाजिक एवं कृषि क्षेत्रमा दीर्घसेवा प्रदान गर्ने दुई प्रतिभा र एउटा सामाजिक संस्थालाई समेत पुरस्कृत गर्ने निर्णय गरेको छ ।


प्रतिष्ठानले यस वर्षको रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार बैतडीका कृषि वैज्ञानिक मदनराज भट्टलाई प्रदान गर्ने भएको छ । भट्ट लामो समयदेखि कृषि अनुसन्धान क्षेत्रमा सक्रिय छन् । उनी राष्ट्रिय गहुँवाली अनुसन्धाता पनि हुन् । त्यस्तै गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार नवलपरासीकी सामाजिक अभियन्ता वालकुमारी जीसीलाई प्रदान गरिनेछ । जीसी महिलाको सशक्तिकरण, उद्धार तथा पुर्नस्थापनामा सक्रिय छिन् । तीन वटै पुरस्कारको राशी जनही १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ ।


त्यस्तै देवी ओली राष्ट्रिय वाल पुरस्कार भक्तपुरको सीवीआर नामक संस्थालाई प्रदान गरिने भएको छ । करिब ३२ वर्षदेखि अपाङ्गताको रोकथाम, उपचार तथा पुर्नस्थापनामा यो संस्था क्रियाशील छ । पुरस्कारको राशी ५१ हजार १ सय ११ छ ।


प्रतिष्ठानले गत पुष २६ गते लेखनाथ जयन्तीको अवसर पारेर झापा सुरुङ्गाका साहित्यकार मित्रप्रसाद दाहाललाई श्रीप्रसाद ओली साहित्यिक पुरस्कार प्रदान गरेको थियो । यसको राशी नगद ५१ हजार १ सय ११ थियो । चारवटै पुरस्कार आगामी बैशाख ४ गते विर्तामोडमा आयोजना हुने एक समारोहकाबिच प्रदान गरिनेछ ।


प्रतिष्ठानले समाजमा योगदान दिने व्यक्तिहरुको सम्मानसंगै विभिन्न सामाजिक संस्थालाई नगद सहयोग गर्दै आएको छ । यो वर्ष झापा अर्जुनधारा–१ साधुटारको शंकराचार्य पीठ बेदबेदाङ्ग संस्कृत पाठशालालाई करिब १० लाख बराबरको खानेपानी ट्यांकी निर्माण गरी हस्तान्तरण गरिने प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले बताए ।


अध्यक्ष ओलीले समाजमा अनुकरणीय काम गर्ने व्यक्ति, संस्था तथा प्रतिभाहरुको संरक्षण, प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरी पुरस्कृत गर्ने परिपाटी थालनी गरेको बताए । ०६७ चैत २७ मा स्थापित संस्थाले प्रतिष्ठानका संस्थापक स्वर्गीय श्रीप्रसाद ओलीद्वारा आर्जित सम्पति मध्ये एक करोड रुपैयाँको अक्षयकोष खडा गरी वर्षेनी पुरस्कार प्रदान गरिदै आएको छ ।

प्रकाशित : चैत्र १०, २०७४ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?