कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नेपाली नारी बेलायतमा पढिँदै

काठमाडौँ — २५ जना नेपाली नारी प्रतिभाको सफलताका कथालाई बेलायतस्थित लिभरपुल जोन मुरे युनिभर्सिटी (एलजेएमयू) को कोर्समा राखिने भएको छ ।

नेपाली नारी बेलायतमा पढिँदै

नेपाली संगीत, रंगमञ्च, खेलकुद, समाजसेवा, मानवअधिकार लगायतका विभिन्न क्षेत्रमा संघर्षपूर्ण सफलता हासिल गरेकाहरूको कथालाई ‘अनसङ चेन्जमेकर’ को रूपमा समाजशास्त्र संकायअन्तर्गत अन्डर ग्राजुएट र पोस्ट ग्राजुएट कोर्समा सामेल गर्न लागेको हो । यसका लागि नेपालबाट सिर्जना सिंह योञ्जन र बेलायतबाट लिभरपुल युनिभर्सिटीकै समाजशास्त्र विभाग सम्बद्ध डा. सेरा पार्करले ‘सेलेब्रिटिङ वुमनहुड : वुमन हु इन्स्पायर पोजेटिभ चेन्ज’ नामक पुस्तक तयार पारेका छन् ।

पुस्तकमा लोकगायिका हरिदेवी कोइराला, रंगकर्मी निशा शर्मा, साहित्यकार माया ठकुरी, तबलावादक सरिता मिश्र, महिला उद्धारकर्मी एवं समाजिक अभियन्ता रेणु शर्मा र कमला उप्रेती, धनगढीकी दलित शैक्षिक अभियन्ता निर्मला बागचन्द, वातावरणविद् अमिरा दली, चित्लाङकी लघुवित्त अभियन्ता डा. सुस्मिता मानन्धर गुरुङ, सिन्धुपाल्चोककी भूमि अधिकारकर्मी कल्पना कार्की, बर्दियाकी सामाजिक परिचालक जुवेदा खातुन, समाजिक अभियन्ता इन्दिरा रानामगरका संघर्ष र सफलताका कथा समेटिएका छन् ।

त्यस्तै माउन्टेन बाइकर लक्ष्मी मगर, सुनसरीकी अपांग अधिकारकर्मी तृप्ता लुंगेली मगर, चितवनकी नेचर गाइड डोमा पौडेल, सामाजिक अभियन्ता सीता पोखरेल, सप्तरीकी चमार समुदायका भूमिअधिकारकर्मी गुलावदेवी राम, दृष्टिविहीनका लागि शैक्षिक अभियन्ता धरानकी केशरी थापा राना, सोलुखुम्बुकी स्वास्थ्यसेवी पेमा शेर्पा, काभ्रे नमोबुद्ध नगरपालिकाकी उपमेयर रामदेवी तामाङ, काठमाडौंकी महिला अधिकारर्की मेनुका थापा, इटहरीकी सामाजिक परिचालक एवं उद्यमी राधिका कार्की थापा, काभ्रे रयालेकी अग्र्यानिक किसान लक्ष्मी तिमिल्सिना, काठमाडौंकी फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर, मकवानपुरकी सामाजिक परिचालक चमेली वाइबा र काठमाडौंकी सोसल आर्किटेक्ट रेन्छिन योञ्जन पनि पुस्तकमा समेटिएका छन् ।

यी २५ जनाले विभिन्न अप्ठ्याराका बाबजुद पनि आ–आफ्ना क्षेत्रमा गरेका संघर्ष, हासिल गरेका सफलता र उक्त सफलताले ल्याएको सकारात्मक उत्प्रेरणालाई पुस्तकमा समेटिएको छ । क्रिएटिभ कन्सल्ट्यान्ट सिर्जना सिंह योञ्जनको परिकल्पनामा हरेक वर्ष नौ हिन्दु देवीहरूको प्रतीकात्मक नामबाट दिइँदै आएको ‘सेलेब्रिटिङ वुमनहुड : नवदेवी सम्मान’ पाएकामध्येबाटै यी २५ जना प्रतिभा छानिएका हुन् । योञ्जनले बितेका १४ वर्षदेखि हरेक वर्ष ‘सकारात्मक परिवर्तनका लागि उत्प्रेरणात्मक महिला’का समाजमा आ–आफ्नै स्वतन्त्र प्रयासबाट सकारात्मक सामाजिक उपलब्धि हासिल गरेकाहरूलाई सम्मान गर्दै आएका छन् । अहिलेसम्म मुलुकभरबाट १ सय २६ जना महिला, ६ वटा महिला समूह, ८ जना पुरुष र ७ जना दक्षिण एसियाली महिलाले यो सम्मान पाइसकेका छन् । उनको यही कामबाट प्रभावित भएर बेलायती समाजशास्त्री डा. सेरा पार्करले लिभरपुल जोन मुरे युनिभर्सिटीसँग जोड दिएकी हुन् ।

‘कुनै पनि समाजको सकारात्मक रूपान्तरणमा गाथा नगाइएका यस्ता महिलाहरूको योगदानले ठूलो स्थान राख्छ,’ डा. पार्करले भनिन्, ‘यस्ता उदाहरणीय नेपाली महिलाका सफलताका कथा हाम्रो युनिभर्सिटीको कोर्समा राख्न पाउँदा म खुसी छु ।’ हाल अमेरिका बस्दै आएकी योञ्जनले चाहिँ यो सुरुवात मात्रै रहेको बताइन् । ‘अर्को २५ जनाको कथा पनि वेटिङ लिस्टमा परेको छ,’ उनले भनिन्, ‘महिलाहरूलाई सशक्तीकरणको मूलधारमा स्थापित गराउने उद्देश्यले सानो प्रयासबाट थालिएको ‘सेलेब्रिटिङ वुमनहुड’को संसारभर सञ्जाल बन्नु ठूलो उपलब्धि हो ।’ मंगलबार साँझ पाटक एलमाया केन्द्रस्थित मजलिश हलमा पुस्तकमा छानिएका २५ महिलालाई सम्मानस्वरूप उभ्याइएको थियो ।

कार्यक्रममा रेन्छिन योञ्जन, तृप्ता लुङ्गेली, कल्पना कार्की, मेनुका थापा लगायतले आ–आफ्नो कथा सुनाएका थिए भने रेडियोकर्मी रेमन दासले पनि छानिएका नारी प्रतिभाका कथा पढेर सुनाएका थिए । विप्लव प्रतीकले कवितासहित समीक्षा गरेको कार्यक्रममा यूएन वुमनअन्तर्गत इकोनोमिक इम्पावरमेन्ट प्रोग्रामका पूर्व प्रमुख सरु जोशीले समाज अघि बढेपछि महिलाहरूको अवस्था अझै चित्तबुझदो रूपमा माथि उठ्न नसकेको तथ्य सुनाइन् । बीचबीचमा उत्प्रेरणात्मक रूपमा गोपाल योञ्जनका गीतहरूलाई जुना प्रसाईं, राजु लामा, वानिका प्रधान, कर्मा ग्याल्छेन लगायतले प्रस्तुत गरेका थिए ।

प्रकाशित : चैत्र २९, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?