कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मोफसल छाड्ने कवि

काठमाडौँ — झापा दमकदेखि काठमाडौं, भक्तपुरसम्मका झन्डै आधा दर्जन सरकारी वा निजी विद्यालयमा दुई दशकसम्म शिक्षण गरेर गुरुवरको चिनारी बनाएका दुर्गा दाहालको रुचि, सोख र विशिष्ट चिनारी अर्कै छ– कविजी दुर्गा ।

मोफसल छाड्ने कवि

झन्डै तीन दशकअघि विशेषगरी झापाको दमक र आसपासमा कवि, कविताको सृजनशील माहोल हुर्काउनमा तनमनले लागिपरेका कवि दुर्गा दाहाल यतिखेर काठमाडौं खाल्डोमा दौडधुप गरिरहेका भेटिन्छन् । कहिले सर्वनाम थिएटरको कवि र कविता मञ्चमा, कहिले दमक–काठमाडौं सरोकार समाजको बालाजु पिकनिकमा उनी कवि–अवतारमा देखिन्छन् । सार्वजनिक सञ्जाल फेसबुकको भरपूर उपयोग गर्ने कवि/लेखकमा पर्ने दुर्गा कवि र कविता भनेरै झन्डै ४ दशकसम्म म्याराथुन दौडमा होमिएका छन् । उपलब्धिमा ‘टागिंदै गरेको आकाश’, ‘शब्दहरू जब माथिमाथि उड्छन्’ र ‘दुर्गा दाहालका कविता’ शीर्षकमा कविता संग्रह प्रकाशनमा ल्याइसकेका छन् । पूर्वी नेपालकै प्रतिष्ठित सम्मान महानन्द पुरस्कार पाइसकेका ६० वर्षीय कवि दुर्गा आफ्नो जन्म कर्मथलो छाडेर भक्तपुर आएको धेरै भइसकेको छ । किन त ? ‘छोराछोरी पढाउने हुटहुटी र अलिक फराकिलो संसारमा टहल्ने लोभले यता आएको हुँ,’ उनी भन्छन्, ‘तर, कवि, कविता र सृजनाको नवीनतम स्वाद भने आफ्नो पुरानै थातथलोको हुँदो रहेछ जस्तो लाग्छ ।’

कवि दुर्गा आजको नयाँ पिंढी र पुस्ता आफैं सृजनशील बन्न छाडेर कहींकतै ठूलो हूल र जमातका पछि कुदिरहेको हो कि भन्ठान्छन् । ‘कविता लेख्छु भनेर लेखिने कुरा होइन,’ दुर्गा भन्छन्, ‘यो त सृजनशीलताको अर्कै जगत हो, यसमा साधना पनि चाहिन्छ ।’ आयामेली कविहरूसहित हरिभक्त कटुवाल, भूपी शेरचन, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, श्रवण मुकारुङ आदिबाट खुबै प्रभावित कवि दाहाल आज लहड वा फेसनले कवि बन्नेको जमात पनि उत्तिकै रहेको सुनाउँछन् । यहाँ जमात ठूलो भए पनि असली र राम्रा कविको संख्या एकदमै कमी रहेको उनको आत्मस्वीकारोक्ति छ । आफैंले पनि सयभन्दा बढी कविता लेखेर पनि ५/७ वटा मात्रै चित्तबुझ्दो रहेको उनको स्वमूल्यांकन छ ।

कवि दुर्गालाई विराटनगरवासी कवि (हाल स्वर्गीय) कृष्णभूषण बलको ‘काठमाडौं एक्लैले अब काठमाडौं बोक्न सक्दैन’ खुबै मन पर्ने रचना रहिआएको छ । तर, उनी आफैं यही काठमाडौं उपत्यकाको सेरोफेरोमा ‘अपवाद’ झैं मिसिन यतै आएका छन् । दुर्गालाई चिनारी भनेको उनको ‘फलामको मान्छे’ कवितामा पनि छ, विद्रोह र असंगतिको स्वरजस्तो । हालै बजारमा आएको ‘दुर्गा दाहालका कविता’ संकलित ‘फलमाको मान्छे’ कवितामा उनी भन्छन्–
‘म अब जन्मँदा
मात्र फलामको मान्छे भएर जन्मनेछु
मेरो कुनै घाउ हुने छैन
मेरो कुनै दाउ हुने छैन ।’

प्रकाशित : चैत्र ३०, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?