कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साहित्यकार जोशीको निधन

काठमाडौँ — वरिष्ठ साहित्यकार डा. कुमारबहादुर जोशीको निधन भएको छ । लामो समयदेखि मृगौला रोगले पीडित रहेका जोशीको ललितपुरको सुमेरु अस्पतालमा उपचारका क्रममा सोमबार अपराह्न निधन भएको हो । उनी ७७ वर्षका थिए ।

साहित्यकार जोशीको निधन

जोशीको २०५३ यता दुई चोटि मृगौला प्रत्यारोपण गरिएको थियो । चाबहिलस्थित घरमा औषधि सेवन गर्दै जीवन धानिरहेको अवस्थामा पनि उनी लेखनमा लागिरहेकै थिए । ‘बिरामी अवस्थामै पनि उहाँले एक दर्जन किताब निकाल्नुभयो,’ लामो समय डा. जोशीको निकट रहेका कवि प्रद्युम्न जोशीले भने ।

महाकवि देवकोटाका बारेमा पहिलो पीएचडी गरेका डा. जोशी देवकोटासम्बन्धी अध्ययनका आधिकारिक विद्वान्सरह थिए । ‘महाकवि देवकोटा र उनका महाकाव्य,’ ‘देवकोटाका कविताकृतिको विश्लेषण र मूल्यांकन,’ ‘देवकोटाका कविताकृतिको कालक्रमिक विवेचना,’ ‘देवकोटाका कवितामा प्रकृति’ जस्ता कृतिमार्फत उनले महाकविलाई अनेक कोणबाट चिनाउने प्रयत्न गरे ।

‘व्याख्या–विश्लेषणात्मक समालोचनाको उहाँ एक किसिमले आधारस्तम्भ हुनुहुन्थ्यो,’ डा. शैलेन्दुप्रकाश नेपालले भने, ‘महाकवि देवकोटाको कृतित्वलाई लिएर उहाँले जति काम गर्नुभयो, त्यही मात्र पनि उहाँलाई अरूभन्दा पृथक् देखाउन पर्याप्त छ ।’ ‘विकीर्ण चिन्तन,’ ‘पाश्चात्य साहित्यका प्रमुख केही वाद,’ ‘कविता चर्चा,’ ‘कुराकानी’ लगायत डा. जोशीका अन्य महत्त्वपूर्ण कृति हुन् ।

डा. जोशीको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रकाशित : वैशाख ४, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?