कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अघि बढयो ‘परिवर्तन’

‘तत्कालका लागि यसले नाटक घरको खाँचो टार्नेछ । भविष्यमा अझ व्यवस्थित ढंगको नाटक घरको खाँचो त छँदै छ ।’

काठमाडौँ — नाटय क्षेत्रमा सक्रिय झापाको परिवर्तन थिएटरले जिल्लामै पहिलो नाटक घर निर्माण गरी नियमति नाटक प्रदर्शन सुरु गरेको छ । सीमा सहर काँकडभिट्टामा नाटक घर सुरु गरिएको हो ।

अघि बढयो ‘परिवर्तन’

काँकडभिट्टा (कास)– प्रदेशसभाका सांसद श्रीप्रसाद मैनालीले हालै नवनिर्मित नाटक घर शुभारम्भ गरे । मैनालीेले समाज परिवर्तनका लागि नेपाली रंगमञ्चको भूमिका महत्त्वपूर्ण रहने बताए । उनले राजधानी बाहिर पनि नाटक हेर्ने संस्कारको खाँचो आंैल्याउँदै भने, ‘यो नाटक घरले नाटक हेर्ने संस्कार थालनी गर्नु गौरवको कुरा हो ।’


मेची सामुदायिक केन्द्रले उपलब्ध गराएको एउटा कोठालाई नाटक घरको रूप दिइएको परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले बताइन् । ‘तत्कालका लागि यसले नाटक घरको खाँचो टार्नेछ,’ रंगकर्मी नेपालले भनिन्, ‘भविष्यमा अझ व्यवस्थित ढंगको नाटक घरको खाँचो त छँदै छ ।’ उनका अनुसार करिब सय जना दर्शक क्षमताको नाटक घर निर्माणमा करिब २ लाख रुपैयाँ खर्च लागेको छ । ‘हामीले सडक नाटक देखाएर संकलन गरेको पैसाले नाटक घर बनाएका हाँै,’ नेपालले भनिन् ।


मण्डला थिएटरका रंगकर्मी सोमनाथ खनालले राजधानीबाहिर नाटक हेर्ने संस्कारको विकास गर्नु आफैंमा चुनौतीपूर्ण काम भएको चर्चा गरे । उनले मुलुक संघीयतामा गइसकेकाले नाटय क्षेत्रमा मोफसलको भविष्य उज्ज्वल रहेको बताए । भने, ‘सरकारले अब प्रत्येक प्रदेशहरूमा व्यवस्थित नाटक घर निर्माण गर्न जरुरी छ ।’ झोरहाट नाटक घरका अध्यक्ष रंगकर्मी भरत गुरागाईंले मोफसलमा व्यावसायिक रूपमा नाटक प्रदर्शन गर्नु ज्यादै कठिन काम रहेको अनुभव सुनाए । थपे, ‘पैसा तिरेर नाटक हेर्ने संस्कार बसाउनु कम चुनौतीपूर्ण काम होइन ।’


परिवर्तन थिएटरले नयाँ नाटकघर शुभारम्भसँगै सोमबारदेखि ‘सुनामी’ सोलो नाटकको प्रदर्शन सुरु गरेको छ । तीन दिनसम्म चल्ने नाटकलाई कविता नेपालले लेखन, निर्देशन गरेकी हुन् । नाटकमा रंगकर्मी सुषमा पोख्रेलको एकल अभिनय छ । नेपाली समाजमा विधवा महिलाले व्यहोर्नुपरेको दु:ख र पीडालाई मार्मिक ढंगबाट देखाउन खोजिएको छ । वैदेशिक रोजगारीका क्रममा गएका श्रीमान् र सुनामीबाट भएको उनको मृत्युपछि घरमा रहेकी एउटी महिलाले परिवार र समाजबाट व्यहोर्ने सास्तीप्रति नाटक बोलेको छ । रंगकर्मी सुषमाको अभिनय अब्बल छ । उनले अभिनयमार्फत दर्शकलाई पटकपटक भावुक पार्छिन् । नाटक हेरेर निस्किएपछि कवि मुनाराज शेर्माले प्रतिक्रिया दिए, ‘नाटकले नेपाली समाजको वास्तविकता चरित्रलाई उदांगो पार्ने दुस्साहस गरेको छ ।’

प्रकाशित : वैशाख ५, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?