२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भाषा र संस्कृति बुझ्न असमबाट

उनीहरूको आफ्नो मौलिक भाषा, संस्कृति, लिपि र भेषभूषा केही थिएन । यी सबै आफ्ना मौलिकपन भएनन् भने कसरी जनजाति ? 
हिमेश

काठमाडौँ — देव नेवार र अरू पाँच असमेलीले पछिल्लो साता मस्तसँग काठमाडौं घुमे । खुसीको सीमा थिएन, उनीहरूको । आफ्ना पुर्खा कहाँका थिए, त्यसको पनि खोजीनीति गरे । त्यसो त पयर्टकका रूपमा काठमाडौं घुमाइ मात्र आपैंmमा कसरी ठूलो हुन सक्छ र ? 

भाषा र संस्कृति बुझ्न असमबाट

खासमा यी नेपालीमूलका असमेली ठूलै ‘मिसन’ मा थिए र त्यो थियो– आफ्नो भाषा र संस्कृतिबारे बुझ्ने । यसमा समन्वयको भूमिकामा थिए– संस्कृतिविद् गणेशराम लाछी ।


पूरा प्रसंग यसरी सुरु हुन्छ– केही समयअगाडि भारत सरकारले उत्तर–पूर्वी राज्य असमका आदिवासी जनजातिलाई विभिन्न सुविधा दिने निर्णय गरेको थियो । धेरैले यो सुविधा लिए तर त्यहाँका नेवार जातिले सकेनन् । कारण थियो– उनीहरूको आफ्नो मौलिक भाषा, संस्कृति, लिपि र भेषभूषा केही थिएन । यी सबै आफ्ना मौलिकपन भएनन् भने कसरी जनजाति ? उनीहरूलाई ठूलै समस्या पर्‍यो । यसै क्रममा उनीहरू लाछीको सम्पर्कमा आएका हुन् ।



असमेली नेवारको अनुरोधमा दुई महिनाअगाडि लाछीको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली असम पुगेको थियो । त्यतिबेला ठूलै महोत्सवको आयोजना भयो र त्यस क्रममा प्रदर्शन गरियो, नेवार संस्कृति कस्तो हुन्छ, उनीहरूको भेषभूषा कस्तो हुन्छ, प्रदर्शन गरियो । लाखे नृत्य प्रस्तुत गरियो, गहन प्रदर्शन गरिए । अनि खानाका परिकार कस्ता हुन्छन्, त्यो पनि देखाइयो । आफ्नै आँखाअगाडि ‘बारा’ र ‘छ्वयला:’ कसरी बनाइन्छ, त्यो पनि हेर्न पाए ।


‘म्हपूजा’ किन र कसरी गर्ने, त्यो पनि बुझे । त्यो नै पहिलोपल्ट थियो, असमेली नेवारले आफ्नो भाषा र संस्कृतिबारे औपचारिक रूपमा बुझ्न पाएको । अब पालो तिनै केही असमेली नेवारको काठमाडौं भ्रमण थियो, जुन भर्खर सकिएको छ । देव त्यहाँको नेवार संगठनको नेतृत्वमा पनि छन् । उनीहरूले धेरै योजना बुनेका छन् र अब चाँडै केही असमेली लामै समय काठमाडौंमा बसेर आफ्नो भाषा र संस्कृति सिक्नेछन् ।


असममा परम्परागत शैलीमा बारा पकाउन सिकाउदै । तस्बिर सौजन्य – गणेशराम लाक्षी


यताका केही भाषा र संस्कृतिका ज्ञाता असम जानेछन् र त्यहाँ सिकाउने प्रयास गर्नेछन् । ‘हामीलाई आफ्नो भाषा र संस्कृतिबारे धेरै जानकारी छैन, भर्खर सिक्ने र बुझ्ने प्रयासमा छौं,’ देव नेवारले भने, ‘काठमाडौं आएर हामी निकै खुसी छौं, हामी आफ्नो पुर्खाको जन्मस्थानमा आएका छौं ।’ लाछीलाई के लाग्छ भने, यसका लागि समय पक्कै लाग्नेछ तर यो असम्भव होइन । उनकै अनुभवमा अहिले असमेली नेवारबीच आफ्नो भाषा र संस्कृतिबीच ठूलो जागरण आएको छ ।

अहिले असमेली नेवारले जेजति गर्न खोजेको छ, एक प्रकारले यो सिक्किमेली मोडल पनि हो, जुन सफल सावित भइसकेको छ ।


यस्तै, कठमाडौं–सिक्किमबीच समूह आदानप्रदानका क्रममा त्यहाँका नेवारले आफ्नो भाषा र संस्कृतिबारे धेरै सिकिसकेका छन् । सन् २००० अगाडि त्यहाँका सिक्किमेली नेवारलाई त्यस्तै समस्या भएको थियो, जुन अहिले असममा भएको छ । लाछी तिनै व्यक्ति हुन्, जसले धेरैपल्ट सिक्किमको यात्रा गरे । अनि त्यहाँका पाहुनालाई आफ्नै घरमा आतिथ्य दिए । लगभग दुई दशकको प्रयासपछि के भएको छ भने, सिक्किममा नेपालभाषा त्यहाँको एउटा सरकारी भाषा भएको छ । ससंदीय क्रियाकपालका अभिलेख र समाचार नेपालभाषामा पनि राख्ने गरिन्छ । धेरैले नेपालभाषा बुझ्ने भएका छन् । संस्कृति पनि मजबुत भएको छ । त्यसैले त हो, त्यहाँ इन्द्रजात्राका बेला सार्वजनिक बिदा पाइन्छ । खासमा असमेली नेवारलाई काठमाडौंको सम्पर्कमा ल्याउने काम पनि यिनै सिक्किमेलीले गरेका हुन् ।


असममा ४४ हजार हाराहामीमा नेवार रहेको मानिन्छ । त्यसमध्ये धेरैले आफ्नो नाम पछाडि नेवार जोड्ने गरेका छन् । कोही प्रधान थर पनि राख्छन् । असमका ३३ जिल्लामध्ये २३ मा नेवार रहेका छन् । अधिकांश कृषि पेसामै छन् । उनीहरूले आफ्नो भाषा र संस्कृति बिर्सेको धेरै भइसक्यो । उनीहरू आसामेली र नेपाली भाषा नै बढी प्रयोग गर्छन् । खाली नातागोतालाई सम्बोधन गर्दा ‘अजा, अजि, पाजु, मलेजु, तता’ भन्ने चलन बाँकी रहेछ । केही हदसम्म बेलविवाह गर्ने चलन पनि कायम रहेछ ।


आफ्नो पहिचान नभएकै कारण असमेली नेवारले सरकारबाट जनजातिलाई दिइँदै आएको सुविधा नपाएको ठहर छ । यसै कारण उनीहरूले आदिवासी कोटामा उम्मेदवार पनि हुन पाइरहेका छैनन् तर जब कि मत भने खसाल्न पाउँछन् । त्यसैले उनीहरू भन्ने गर्छन्, ‘दिन पाइन्छ, तर लनि पाइँदैन ।’ अर्थात् आफूले मत त दिन पाइन्छ, तर मत लिन भने पाइन्न । यस कारण दु:ख लाग्छ, उनीहरूलाई । ‘हामीले आफ्नो वास्तविक पहिचान खोजेको कारण यही हो,’ देव नेवारले थपे ।

काठमाडौं उपत्यकाबाट नेवारहरू कसरी, किन र कहाँबाट असम पुगे र त्यहाँकै स्थानीय भए, त्यसको इतिहासबारे अनुसन्धान गर्न धेरै बाँकी छ । यसलाई लिएर खाली दुई खाले अनुमान मात्र छ । पहिलो, रणबहादुर शाहको पालामा । त्यतिबेला उनले बिफर नभएका सबै बच्चालाई काठमाडौंबाहिर निकाल्ने जुन काम गरे, त्यसैक्रममा केही नेवार असम पुगे । दोस्रो, कोतपर्वपछि जंगबहादुरको भयले पनि केही असमसम्म पुगे । अब यिनै नेवारका अहिलेका पुस्ता आफ्नो ‘जरा’ सम्म पुग्ने प्रयासमा छन् ।

प्रकाशित : वैशाख ८, २०७५ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?