डुंगामा मुक्तक

दीपक परियार

लेखनाथ — बिदाको दिन । उसै त पर्यटकको चाप हुने फेवातालमा शनिबार भिन्नखाले पर्यटक देखिए । पैतालाले धकेलेर चलाउन मिल्ने दुई डुंगा जोडजाड पारेर त्यहाँ ब्यानर टाँगिएको थियो– फेवातालमा मुक्तक । घुम्ती मुक्तक टोलीले काठमाडौं र पोखराका मुक्तककारलाई एक ठाउँ उभ्याएको हो ।

डुंगामा मुक्तक

फेवातालमा डुंगामाथि बसेर मुक्तककारले आफ्ना रचना सुनाए । पाका र युवा मुक्तककारको जमघटलाई डुंगामा तैरिरहेका अन्य पर्यटकले पनि चाखलाग्दो गरी नियाले । मुक्तककारले समाज, राजनीति, प्रणय, देशप्रेमका मुक्तक पालैपालो वाचन गरे ।

काठमाडौं स्थायी घर भएर पोखरालाई कार्यथलो बनाएका साहित्यकार वसन्त गौतमले आफ्नो मुक्तकमार्फत राजनीतिज्ञलाई यसरी व्यंग्य गरे–

गुलिया नारा घोलेको चिया खल्लो निक्लियो

लोकतन्त्रको घाँटीमा पापको डल्लो निक्लियो

फर्मुला पक्कै गडबड छ यो फ्युजनको

क्रान्तिको अण्डाबाट जमिन्दार चल्लो निक्लियो

मुक्तककारहरू राजनीतिप्रति व्यंग्यसँगै भ्रष्ट नेतालाई गाली गर्न पनि पछि परेनन् । पोखराकी मिर्मिसा पराजुलीले आफ्नो मुक्तकमा भ्रष्टाचारको विरोध गरिन् । सुरेश रानाभाटले काठमाडौं केन्द्रित मानसिकता र तक्माका लोभीको उछित्तो काढे । मुक्तकमार्फत नै सिन्धुलीकी छोरी र हुम्लाकी बुहारी भएको परिचय दिएकी देवकी तिमल्सिना ‘समीक्षा’ ले देश परिवर्तन गर्ने योद्धाको खाँचो औंल्याइन् । आफ्ना पाँच–पाँच मुक्तकमा उनीहरूले महिलाका पीडा, जातीय विभेदप्रतिको आक्रोश, प्रशासनप्रति नैराश्य दर्साए । मुक्तक मञ्च पोखराका पूर्वअध्यक्ष कृष्ण देवकोटाले प्रहरीप्रति व्यंग्य गर्न भ्याए ।काठमाडौंका रवीन्द्र आशिषले छलकपट नगर्न मुक्तकमार्फत आग्रह गरे–

जति नै सफा पानी पनि नालीमा झरेपछि सफा हुँदैन

अपराध गरेपछि छोप्दैमा सधैंका लागि रफादफा हुँदैन

नसोच कसैले अरूको कुभलो जाति हुन्न आफैंलाई पनि

छलकपट गरेर जित्ला तर जिन्दगीमा त्यो नाफा हुँदैन

युवा मुक्तककार सरु लामिछानेले मायाप्रेमका मुक्तक सुनाइन् । शान्त तलाउमाथि डुंगामा उभिएर उनले आफ्ना मुक्तकमार्फत प्रेमिल माहोल सिर्जना गरिन् । वाहवाही भने एक धर्को सिन्दुरले नारीलाई किन्न खोजिने तर्कसहितको मुक्तकले पायो ।

गन्तव्य नै नभेटे नि हिँड्छ जिन्दगी

यो आफ्नो भागको मुद्दा आफैं छिन्छ जिन्दगी यो

कुनै दिन कोही कसैले ठाडो धर्सो लगाएर

हेरिराख्नुस् दुई पैसामा किन्छ जिन्दगी यो

उस्तै प्रेमिल मुक्तक कार्यक्रमकी विशेष अतिथि सरस्वती श्रेष्ठले सुनाइन् । पाको उमेरमा युवावयको झल्को दिने गरी उनले मुक्तक वाचन गरिन्–

जिन्दगी यो डोहोर्‍याउने तिमी नभए

घाउ हुन्थ्यो चहराउने तिमी नभए

भुल्थेँ होला जिन्दगीका हिसाबकिताबहरू

पटकपटक दोहोर्‍याउने तिमी नभए

अर्की मुक्तककार गौरी तमुले मायाप्रेम, संघर्षका विषयसँगै जातीय–धार्मिक विभेदका विरुद्ध बोलिन् । उनले आफ्नो मुक्तकमा भनिन्–

के जात के धर्म यो माटोले भन्दैन

को आफ्नो को पराइ यो बाटोले भन्दैन
जात, धर्म सीमामा बाँड्ने सबै मान्छे नै हो

छूत, अछूत भोको पेटमा आटोले भन्दैन

कार्यक्रममा रुपिन्द्र प्रभावी, कौशिला रिजाल, भरतराज पौडेल, शशि थापा पण्डित, रुद्र अधिकारी, भुवन शिवाकोटी ‘चौघरे’, प्रकट गौतम, मैया सुवेदी, दुर्गा तिवारी, प्रेम ढकाल, तुल गुरुङ र माया कुँवरले पनि आफ्ना ओजपूर्ण मुक्तक प्रस्तुत गरे ।

पत्रकार एवं साहित्यकार बद्रीविनोद प्रतीकले चार दशकअघि पोखरामा भएको ‘टिकटमा मुक्तक’ कार्यक्रमको स्मरण गरे । पोखरेली युवा सांस्कृतिक परिवारले उक्त कार्यक्रम गर्दा आफू साहित्य संयोजक रहेको उनले बताए । ‘त्यतिखेर मुक्तकभन्दा बढी पञ्चायतको विरोधमा नारा हुन्थ्यो,’ उनले भने, ‘अहिले अत्यन्तै सुन्दर मुक्तक सुन्न पाइन्छ ।’ परिवारका वर्तमान अध्यक्ष दीपक समीपले यसअघि फेवातालमा कविता र गजल वाचन गरिएको बताए । साहित्यकार लक्ष्मण थापाले लेकसाइटको पुरानो नाम बैदाम भएको स्मरण गर्दै पुराना नाम हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रम संयोजक निर्मल पराजुलीले विभिन्न स्थानमा पुगेर मुक्तक वाचन गर्ने उद्देश्यअनुरूप यसपल्ट फेवाताल आइपुगेको बताए । उनले पोखरामा युवा मुक्तककारको सक्रियताले आफूलाई लोभ्याएको जनाए । कार्यक्रमको संयोजन पराजुली र मुक्तककार दुर्गा तिवारीले गरेका हुन् ।

प्रकाशित : वैशाख ९, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?