‘बजारले पाठकरुचि निर्देशित नगरोस्’

रमेशकुमार पौडेल

चितवन — साहित्यमा पाठकको हस्तक्षेप आवश्यक छ वा छैन ? आवश्यक हो भने विधि के हुन सक्छ ? भरतपुरमा हालै सञ्चालनमा आएको डबली क्याफेमा सोमबार साँझ यो विषयमा चर्चा चल्यो । निबन्धकार कुमारी लामा, समीक्षक उदय अधिकारीले आ–आफ्ना धारणाहरू राख्दा उपस्थित अन्यले पनि आफ्ना मत र जिज्ञासाहरू जाहेर गरे ।

‘बजारले पाठकरुचि निर्देशित नगरोस्’

‘अहिले पाठक कतैबाट निर्देशित छ,’ लामाले भनिन्, ‘निर्देशन गर्नेले आफ्ना अनुकूलको सत्य निर्माण गर्छ । यो काम अहिले बजारले गरेको छ ।’ बजारले नै पाठकको रुचि तय गर्न थालेको भन्दै उनले हस्तक्षेप गर्ने बेला आएको बताइन् । बजारले नाफा घाटा हेरेर फाइदा हुने कुरा मात्रै बेच्ने भन्दै उनले थपिन्, ‘साहित्यमा बजारको फाइदा हेरेर भएन । त्यसैले यसमा हस्तक्षेप आवश्यक छ ।’


लेखकलाई गतिशील बनाउन पाठकको हस्तक्षेप आवश्यक हुने उनको भनाइ रहयो । ‘यो विषयमा किन नलेखेको भनेर सोध्न पाठकहरू तयार हुनुपर्छ । सामाजिक न्यायका मुद्दा साहित्यमा किन आएन, सिमान्तकृत जाति–समुदायका कुरा खै त ? पाठकले सोध्नुपर्‍यो, हस्तक्षेप गर्नुपर्‍यो,’ उनले भनिन् । लेखकले समाज बुझ्न आवश्यक भएको र समाजको छिपछिपेको अध्ययनले मात्रै पनि नपुग्ने उनले बताइन् ।


पाठकको हस्तक्षेप आवश्यक हुने पक्षमा समीक्षक उदय अधिकारी पनि सहमत देखिए । तर कसैबाट निर्देशित भएर लेख्न थाले त्यो लेखकका लागि नै प्रत्युत्पादक उनको भनाइ थियो । पाठकहरू सजग बन्दै गएको उल्लेख गर्दै उनले थपे, ‘बजारले हस्तक्षेप गरे बजारबाट निर्देशित त लेखक हुने भयो, तर पाठकलाई छनोट गर्ने सुविधा छ । पाठकहरू लेखक भगवान् हुन् भन्ने मान्यतामा बस्न हुन्न । लेखकले बनाएको आदर्शलाई लिएर पाठकहरूले प्रश्न गर्नुपर्छ । भगवान् मानेर भएन । भगवान् मानेका राजा त गए भने भगवान् भनिने अरु कसरी टिक्लान् र ?’


‘डबली’ लेखनमा सक्रिय इन्द्रध्वज क्षेत्री र जीवन क्षेत्रीले हालै सञ्चालनमा ल्याएको कफी सप हो, जहाँ परिकारसँगै पुस्तक पढ्न र किन्न पाइन्छ । उद्घाटनको पहिलो साता डबलीमा बहसहरू चलेका छन् । सुरुको दिन शनिबार केदारभक्त माथेमाले शिक्षाका विषयमा आफ्ना भनाइहरू राखे । दोस्रो दिन नारायण ढकालसँग साहित्यका विषयमै परिचर्चा भयो । तेस्रो दिन पनि साहित्यले ठाउँ पायो ।


सञ्चालक क्षेत्री दाजुभाइका अनुसार हरेक खालका विषयमा बहस चलाउने उद्देश्य डबलीको छ । ‘पढ्दा र बहस गर्दा भोकतिर्खा लागे खाने प्रबन्ध पनि हुनेछ भन्ने हो,’ इन्द्रध्वजले भने । राष्ट्रिय विषयका साथै स्थानीय मुद्दाहरूमा पनि बहसहरू चल्ने जीवन क्षेत्रीले बताए ।

प्रकाशित : वैशाख १९, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?