३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘संस्कृति नीति कार्यान्वयन हुनुपर्छ’

छैटौँ अन्तर्राष्ट्रिय लोकवार्ता कंग्रेस

काठमाडौँ — लोक संस्कृति मनोरञ्जन र पहिचानसँग मात्रै जोडिएको नभई देश र जनतालाई जोड्ने काम पनि गर्ने वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले बताए ।

‘संस्कृति नीति कार्यान्वयन हुनुपर्छ’

नेपाली लोकवार्ता तथा संस्कृति समाजले शनिबारबाट राजधानीमा गरेको दुईदिने छैटौं अन्तर्राष्ट्रिय लोकवार्ता कंग्रेसमा जोशीले यस्तो बताएका हुन् । उनले ‘राष्ट्रिय संस्कृति’ विकसित हुनुपर्नेमा जोड दिँदै २०६७ मा बनेको संस्कृति नीतिको कार्यान्वयनमा सरकारले ध्यान दिनुपर्ने बताए ।

संस्कृतिलाई उत्पादनशील नबनाई पहिचान र मनोरञ्जनसँग मात्रै जोड्दा विकास जुन गतिमा हुनपर्ने हो, त्यति हुन नसकेको समाजका अध्यक्ष एवं कवि तुलसी दिवसले बताए । प्रा.डा. अभि सुवेदीले लोकवार्तासम्बन्धी खोज अनुसन्धान गर्न त्रिभुवन विश्वविद्यालयमा लोकवार्ता विभाग नै गठन भइसकेको जनाउँदै प्रभावकारी रूपमा भने काम गर्न नसकेको बताए । शनिबार सम्मेलनमा झन्डै चार दर्जन कार्यपत्र प्रस्तुत गरिए ।

कंग्रेसमा नेपाललगायत अमेरिका, इस्टोनिया, फिनल्यान्ड, बंगलादेश, भारत, बेलायत, श्रीलंका, स्पने र थाइल्यान्डलगायत देशका प्रतिनिधि छन् । फिनल्यान्डकी पिर्काे मोइसालाले लमजुङको तमु गाउँको समाजमा स्थापित आमा समूहले लोक संस्कृति जगेर्ना गर्न गरिरहेको प्रयासहरूका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । इस्टोनियाकी भ्यालेन्टिना पुन्जीको कार्यपत्र तिब्बतमा पिठो र नौनीबाट बन्ने ‘तोर्मा’ बनाउनुपछिको सांस्कृतिक र तान्त्रिक कारणहरूबारे केन्द्रित थियो । त्यसै गरी नेपालकी सेवा भट्टराईको कार्यपत्र सुदूरपश्चिमकी महिलाहरूले गाउने गीतमा भगवान् कृष्णका आमा देवकी र यशोदाबारे गरिएको नारी चित्रणको विश्लेषण गरेकी थिइन् । त्यस्तै गरी नेपालका आभास धरानन्द राजोपाध्यायले ललितपुरको अग्निशाला मन्दिरको ‘फायर फोल्क्स’ अर्थात् आगो मान्छेबारे कार्यपत्र प्रस्तुत गरे ।

त्यसैगरी, नेपालबाट अभि सुवेदीले ‘जोकलोर इन नेपाली पोलिटिक्स’, माधवप्रसाद पोखरेलले ‘काशीदास जोशीबारे विवादित बहसहरूका बारे’ कार्यपत्र प्रस्तुत गरे भने रामदयाल राकेशले मिथिलाको मधुश्रावनी बारे, इन्दिरा आचार्य मिश्राले ‘नेपाली तीज गीतका कुराकानी र उपसंस्कार’, नम्रता शर्माले ‘लोकवार्ता, लिंग र शक्ति’, केशव प्रजापती, मेघराज अधिकारी, कृष्ण चन्द्र शर्मा, शम्भुप्रसाद खतिवडा, शलिल सुवेदी, धनराज रेग्मी र अम्बिका रेग्मी, अभिजित थापा, ऋषिराम अधिकारी, विजयकुमार रौनियार, कल्पना त्रिपाठी, पूर्णनन्द ओझा, दिव्यश्वरी जोशी, मुकुन्द शर्मा, सरस्वती भण्डारी, धु्रवप्रसाद भट्टराई, मोतीलाल पराजुली, शशि थापा पण्डित, कुसुमाकर न्यौपाने, बेनी जंगम रावल, तीर्थराज मुकारुङ राई, माधवप्रसाद लामिछाने, जीवेन्द्रदेव गिरी, कुलराज निरौला, प्रतिभा पुन र धु्रवकुमार घिमिरेले कार्यपत्र प्रस्तुत गरे ।

श्रीलंकाका अथापाथतुगे विजेवार्डेना र जीआर एन विजायारथना, थाइल्यान्डका वान्भिसा श्रीलुवानगुन, इस्टोनियाका उलो भाल्क, भारतका भी जयाराजन, निरज कुमार, एम रामाकृष्णन, बेलायतका रोय एन्डरसन, अमेरिकाका नेनिता पाम्बिद डोमिन्दो र स्पेनकी भिक्टोरिया सुविरानाले कार्यपत्र प्रस्तुत गरे । सम्मेलन आइतबार पनि चल्नेछ ।

प्रकाशित : वैशाख ३०, २०७५ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?