कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सत्यमोहन ९९ वर्षमा 

काठमाडौँ — कुनै पनि स्रष्टाको लागि उपाधि कति महत्त्वपूर्ण हुन सक्छ ? पक्कै पनि ठूलो महत्त्व राख्छ । उपाधिले स्रष्टालाई परिचित त गराउँछ नै, उनको कृतित्व मात्रै नभई व्यक्तित्वलाई समेत थप उचाइमा पुर्‍याइदिन्छ । 

सत्यमोहन ९९ वर्षमा 

गतवर्ष सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि पाएका संस्कृतिविद् सत्यमोहन जोशीको अनुभव भने फरक छ । आइतबार जोशी ९९ वर्षमा प्रवेश गरेको अवसरमा नइ प्रकाशनले गरेको सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘शताब्दी पुरुषको उपाधि पाएकैले पुनर्जन्म पाएको हुँ ।’


‘सय वर्ष नपुगी नै नइ प्रकाशनले झन्डै पाँच वर्षअघि ‘शताब्दी पुरुष’ भनेर उपाधि दियो, सुरुमा मलाई त मन नै परेको थिएन,’ चार वर्षअघि अस्पतालको जनरल वार्डमा उपचार गराउँदाको क्षण सम्झिँदै उनले भने, ‘अस्पतालमा मरणासन्न अवस्थामा हुँदा ‘शताब्दी पुरुष’ जसरी नि बचाउनुपर्छ भनेर नइ प्रकाशन लाग्यो । सरकारले पनि सहयोग गर्‍यो र राम्रो उपचार पाएँ । त्यतिखेर थाहा पाएँ उपाधिको महत्त्व । त्यसैले बचायो मलाई ।’ पाँच नम्बर ग्रेस दिएर सय वर्षै नपुगी शताब्दी पुरुष उपाधि त पाएँ, तर सय वर्ष पुग्ला कि नपुग्ला भनेर उनी चिन्तित छन् । ‘जसरी नि सय त पुर्‍याउनैपर्छ भनेर शरीरको विशेष ध्यान राख्न थालेको छु,’ उनले भने, ‘अब एक वर्ष फेरि जोड्नु छ ।’


नेपालको लोक संस्कृति, वाङ्मयसम्बन्धी झन्डै पचासभन्दा बढी कृति लेखेर तीन पटक मदन पुरस्कार पाएका छन् जोशीले । स्रष्टाले कृति लेखेर मात्रै नहुने, त्यसलाई उजागर गर्ने संस्थाहरूको पनि उत्तिकै आवश्यकता पर्ने जोशीले थपे । आफ्नो ९९ औं जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा जोशीले देश तथा विदेशका २२ जना स्रष्टालाई पुरस्कार प्रदान गरे । कार्यक्रममा जोशीले ताम्रपत्र र तीन लाख रुपैयाँसहित ‘देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ जर्मनीका प्रा.डा मानफ्रेद गेर्हार्द थ्रोईलाई हस्तान्तरण गरे । त्यस्तै संस्कृति विद्याशिरोमणि प्रा.डा बेणीमाधव ढकाललाई ‘नइ चन्द्रधन पुरस्कार’, भरत जंगमलाई ‘नइ कीर्तिनिधि पुरस्कार’, आख्यान पुरुष डा. धु्रवचन्द्र गौतमलाई ‘नइ खरा सुकीर्ति पुरस्कार’, रचनाकार किरण खरेललाई ‘नइ भाजप पुरस्कार’, इजरायलकी भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ गरी पाँच जनालाई ताम्रपत्रसहित एक लाख रुपैयाँ दिइयो ।


त्यस्तै कार्यक्रममा नलराज शास्त्री नेपाललाई ‘नइ भूपालदुर्गा पुरस्कार’, समालोचक प्रा.ठाकुर पराजुलीलाई ‘नइ ईश्वर बराल पुरस्कार’, साहित्यकार डा.महेश्वर शर्मालाई ‘नइ खरा प्रसिद्धि पुरस्कार’, नारी साहित्यका लागि रेवती राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ र चित्रकलातर्फ केके कर्माचार्यलाई ‘नइ यउजा पुरस्कार’ दिइयो । गीतकार विश्वबल्लभलाई ‘नइ कोइलीदेवी पुरस्कार’, नवलपरासीकी कृष्णदेवी शर्मा श्रेष्ठलाई ‘नइ बुलु शर्मा पुरस्कार’, आनिक राना मगरलाई ‘नइ रामलक्ष्मी पुरस्कार’, सरोद न्यौपानेलाई ‘नइ खरा गौरव पुरस्कार’ दिइएको थियो । ताम्रपत्र सहित ९ जनालाई जनही ५० हजार रुपैयाँ जोशीले हस्तान्तरण गरेका थिए ।


१५ वर्ष मुनिका तीन बालिकालाई ताम्रपत्रसहित १० हजारको नइ देरुनीखपू बाल पुरस्कार पनि दिइयो । पुरस्कार पाउनेमा रिहाना भट्टराई, एञ्जेलिना न्यौपाने, स्वन्ति श्रेष्ठ रहेका छन् । रुनीष सुनुवार र सगुन श्रेष्ठलाई सात हजार रुपैयाँको नइ देरुनीखपु कोपिला पुरस्कार दिइयो । पाँच वर्षिया स्निग्धा देवकोटाले ताम्रपत्रसहित पाँच हजार रुपैयाँको नइ देरुनीखपु चिचिला पुरस्कार पाइन् ।

प्रकाशित : वैशाख ३०, २०७५ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?