२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

‘पारिजात पुरूषप्रति पूर्वाग्रही थिइनन्’

काठमाडौँ — पितृसत्ताबाट प्रताडित हुनुपर्दाका थुप्रै घटनाबारे लेखेकी छन् साहित्यकार पारिजातले । तर उनले पुरुषप्रति भने पूर्वाग्रही सोच कहिल्यै नराखेको बहिनी सुकन्या वाइबा र कवि तथा साहित्यकार आहुतीले बताए । राजधानीमा शनिबार आहान समूहले पारिजातबारे गरेको संवाद कार्यक्रममा उनका लेखन प्रवृत्ति र स्वभावबारे पनि चर्चा गरियो ।

‘पारिजात पुरूषप्रति पूर्वाग्रही थिइनन्’

पारिजातमा ‘कुनै पुरुषले आफूलाई हेप्छ भने त्यो पुरुषप्रति पूर्वाग्रही नभई त्यो पुरुषलाई नै सहानुभूति दिने हैसियत बनाउनतिर लाग्नुपर्छ’ भन्ने मान्यता रहेको आहुतीले बताए । ‘पुरुषबाट पीडित भएका अधिकांश महिला गुनासो गर्छन् र यो गर्नु जायज पनि हो । तर उनीहरू पुरुषप्रति पूर्वाग्रही सोच पनि पाल्छन्,’ उनले भने, ‘पारिजात पितृसत्ताबाट पीडित पक्कै हो तर उहाँको पुरुषप्रति पूर्वाग्रह थिएन ।’

आहुतीको भनाइलाई पुष्टि गर्दै सुकन्याले भनिन्, ‘दिदी जहिल्यै भन्नुहुन्थ्यो, पुरुषलाई कहिल्यै हुतिहारा र नामर्द नभन्नू । पुरुषसँग मिलेर काम गर्नुपर्छ ।’

आहुतीका अनुसार पारिजात विचार र वादमा प्रस्ट थिइन् । संगठित रूपमै महिला आन्दोलन चलाउनु पारिजातको विशेष खुबी रहेको पनि आहुतीले दाबी गरे ।

तर पारिजातले ‘नारीवाद ठीक होइन’ भन्ने गरेको उनले सुनाए । ‘नारीवादले महिलाहरूको समस्या अघि सारिदिन्छ वा देखाउँछ, तर समाधानको उपाय भने दिन सक्दैन,’ उनले भने, ‘त्यसैले नारीवाद नारीमुक्तिको समाधान होइन भन्ने पारिजातलाई थाहा थियो ।’ हरेक वर्ष पारिजातले मार्च ८ को दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन अंग्रेजीमा लेखिएका विश्वका राम्रा लेखहरू छपाउने गरेको उनले सम्झे ।

कार्यक्रममा पारिजातको स्वभाव र समाजसेवाको भावनाबारे सुकन्याले बताएकी थिइन् । ‘दिदी सानैदेखि शरीरले कमजोर भए पनि स्वभावले निडर र साहसी हुनुहुन्थ्यो,’ उनले भनिन् । पारिजातले शारीरिक दुर्बलताका बाबजुद विभिन्न जेल घुमेर बन्दी सहायता केन्द्रको स्थापना गरेको उल्लेख गर्दै उनले बन्दीका छोराछोरी राख्ने ‘बचेरावास’ र चेतना गुमाएका महिलाहरूका लागि ‘चेतनावास’ खोल्ने कल्पना गरेको बताइन् ।

‘जेलमा बन्दीका छोराछोरी राख्न समस्या थियो, घरमा मनमुटाव भयो भने महिलालाई पागल भनेर जेल राख्ने गरिन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले बचेरावास थुप्रै खुलेका छन् । चेतनावास त खुलेन, तर घरमा कुरा नमिलेको आधारमा पागल भनेर जेल राख्न नपाइने नियम नै पास भयो । यो नै ठूलो उपलब्धि हो ।’

प्रकाशित : वैशाख ३१, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?