कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपालीको भाषामोह लोभलाग्दो छ’

सुनिता साखकर्मी

काठमाडौँ — भारतीय प्रगतिशील लेखक संघ सुरु भएको तेह्र वर्षपछि विसं २००९ मा नेपालमा पनि प्रगतिशील लेखक संघको स्थापना भयो । यी दुई संस्थाको काम कारबाही उस्तै प्रकृतिको भए पनि अहिलेसम्म दुईबीच संवाद हुन सकेको थिएन ।

‘नेपालीको भाषामोह लोभलाग्दो छ’

भारतीय प्रगतिशील लेखक संघ, राजस्थानका महासचिव ईशमधु तलवार नेतृत्वको चार सदस्यको टोली नेपाल आएको अवसरमा हालै राजधानीमा नेपालको संघले ‘प्रलेस परिसंवाद’ गर्‍यो । परिसंवादमा दुवै संघबीच सहकार्यबारे मौखिक सहमति भए ।

गतवर्ष संघले गरेको समानान्तर फेस्टिभलमा नेपालका अभय श्रेष्ठ लगायतका लेखककविले भारतमा आफ्ना रचना सुनाउने अवसर पाएका थिए । नेपालको कविता सुन्दा राम्रो लागेको ईशमधुले थपे । ‘योभन्दा अघि नेपालका कविता, साहित्य सुन्ने, पढ्ने अवसर पाएका थिएनौँ,’ उनले भने, ‘नेपालमा यति उत्कृष्ट कविताहरू लेखिन्छन् भन्ने अन्दाज लगाएको थिइनँ । हामी नेपालको साहित्य अझ धेरै पढ्न चाहन्छौँ ।’

भारतमा आयोजना हुने फेस्टिभलहरूमा नेपालको सहभागिता बढाउनेदेखि अनुवादका कामहरूसमेत गर्ने उनले दाबी गरे । भने, ‘हिन्दी भाषाका कविताहरू अन्य विदेशी भाषा र मातृभाषामा थुप्रै अनुवाद हुने गरेका छन् । तर अन्य मातृभाषाबाट हिन्दीमा अनुवाद कम भइरहेको छ । अनुवादको स्थिति राम्रो छैन ।’

सोमबार काठमाडौं आइपुगेका ईशमधुले सोमबारै बेलुकी आफ्नो फेसबुकमा नेपालका सवारीसाधनका फोटाहरू पोस्ट गर्दै लेखेका थिए, ‘यो देखेर खुसी लाग्यो, नेपालको सवारीसाधनको नम्बरप्लेट अंग्रेजीमा छैन । शब्द र अंकहरू देवनागरीमा छन् । अंकचाहिँ हिन्दीसँग मिल्दा रहेछन् । यसबाट हामीले केही सिक्नुपर्छ ।’ भारतमा सरकारी कामकाजको भाषा अंग्रेजी छ । ‘जुन भाषाले हामीलाई गुलाम बनायो, त्यही भाषा अनिवार्य गरिएकोमा दु:ख लाग्छ,’ उनले भने, ‘आए पनि नआए पनि अंग्रेजी बोल्नुपर्ने, लेख्नुपर्ने बाध्यता छ । तर नेपालमा त्यो रहेनछ । नेपालको आफ्नो भाषाप्रतिको माया देख्दा मोहित भएँ । आफ्नो भाषालाई प्राथमिकता दिएर आफ्नो भाषाको सम्मान गरेको देख्दा एकदमै खुसी छु ।’
उनले भारतमा पूर्णत: साहित्यमै लागेर जीविकोपार्जन हुन सक्ने अवस्था बनिनसकेको बताए । उनी स्वयं पनि कथा, गद्य र व्यंग्य लगायत विधामा कलम चलाउँछन् । उनले पनि जीविकोपार्जनको लागि पत्रकारिता पेसा अंगालेका छन् ।

कार्यक्रममा नेपालको प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. अमर गिरीले नेपाली कृतिहरू भारतमा पुर्‍याउने सहज वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?