कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘समृद्धिका लागि साहित्य’

काठमाडौँ — पछिल्लो समय मुलुकमा बहसको मूल विषय बनेको छ– समृद्धि । समाजलाई समृद्धिको यात्रातिर डोहोर्‍याउनचाहिँ कला र साहित्यले कस्तो भूमिका खेल्न सक्छ ? स्रष्टाहरूले बहस थालेका छन् ।

‘समृद्धिका लागि साहित्य’

शनिबार राजधानीमा ‘समृद्धिका लागि साहित्य’ विषयमा कविता मात्रै सुनाइएन, अवधारणापत्र नै प्रस्तुत गरियो । मदन भण्डारी कला साहित्य प्रतिष्ठान, साहित्य सन्ध्या र सांस्कृतिक संस्थानले गरेको कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अवधारणा पत्र प्रस्तुत गरिएको हो । प्रा.डा. कृष्णप्रसाद घिमिरे, डा. देवी नेपाल र डा. बिन्दु शर्माले तयार पारेको अवधारणा पत्र डा. नेपालले प्रस्तुत गरेका थिए ।

स्रष्टाहरू सरकार र सत्ताको अन्धभक्त वा अन्धसमर्थक हुन नहुने भन्दै कार्यपत्रमा समृद्धितिर अघि बढ्न विभिन्न ११ बुँदा अघि सारिएको छ । ‘शासक वर्गलाई सेवक वर्गमा रूपान्तरण गर्न सरकार, जनप्रतिनिधिहरूलाई देश र जनताप्रति उत्तरदायी बनाउन कला, साहित्य वा संस्कृतिकर्मीहरूले उत्प्रेरणा दिनुका साथै खबरदारी पनि गर्नुपर्छ,’ नेपालले भने, ‘यति काम गर्न सकेमा कला–साहित्य भावावेगको विषय मात्र नभएर विकास र समृद्धिका लागि पनि मार्गनिर्देशक बन्ने देखिन्छ ।’ कार्यपत्रमा भाषण संस्कृतिभन्दा पनि कामको संस्कृति निर्माण गर्नतिर स्रष्टाहरू लाग्नुपर्ने उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले ‘नेपाली राजनीतिले कला, संस्कृति र साहित्यलाई बुझ्न नसकेको’ दाबी गरे । ‘भौतिक विकास र समृद्धिले मात्रै मानिस र राज्य सुखी हुन सक्दैन,’ उनले भने, ‘सुखी हुन विद्यमान असमानता र विभेद कम गरी साहित्य कला र संस्कृतिको पनि प्रवद्र्धनका साथै विकास हुन जरुरी छ ।’ मदन भण्डारी साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले प्रतिष्ठानले यो वर्ष ‘समृद्धिका लागि साहित्य’ थिममा विभिन्न अभियान र काम गर्ने जनाए । त्यही अन्तर्गत ‘राष्ट्र, राष्ट्रियता र समृद्धि’ शीर्षकमा राष्ट्रिय गीत प्रतियोगिता आह्वान गरिएको पनि उनले जनाए ।

२५ औं मदन– आश्रति स्मृति दिवसको अवसरमा कार्यक्रम गरिएको हो । तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको रहस्यमय दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । प्रतिष्ठानका महासचिव डा. नेपालले भण्डारीले विभिन्न कविता र गीतसमेत लेखेको बताए । कार्यक्रममा मदनबारे दुई गीतको भिडियो पनि देखाइएको थियो । कार्यक्रममा सुलोचना मानन्धर, विधान आचार्य, उमेश उपाध्याय, लक्ष्मी माली, अनिता लामा, रामप्रसाद ज्ञवाली, बिना थिङ, धीरेन्द्र प्रेमर्षि, रमेश शुभेच्छु, कणाद महर्षि लगायतले ‘समृद्धिका लागि साहित्य’ थिममा कविता सुनाएका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?