२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

आमा सम्झिँदै तीर्थ

लेखनाथ — साहित्यकार तीर्थ श्रेष्ठलाई प्राय: कार्यक्रममा अतिथिको रूपमा निम्त्याइन्छ । पोखरामा शनिबार उनी भिन्नै भूमिकामा प्रस्तुत भए । नेपाली लेखक संघ कास्कीले उनलाई साक्षात्कारमा उभ्यायो ।

आमा सम्झिँदै तीर्थ

संघको ‘स्रष्टा साक्षात्कार’ को पाँचाैं शृंखलामा उनी प्रस्तुत भएका हुन् । सुरुमै उनले आमा सम्झिए । सानै छँदा क्षयरोगबाट आमाको निधन भएको सुनाए । ‘मसँग आमाको त्यति धेरै सम्झना छैन,’ उनले भने, ‘घरमा भएको फोटो हेरेर मात्रै यस्तो हुनुहुँदो रहेछ भन्ने थाहा पाएको हुँ ।’ यद्यपि साहित्य साधनाको पहिलो आकर्षण नै आमा भएको उनले बताए । ‘रोगले ग्रस्त एक महिला अँगेनाको छेवैमा बसेर त्यसभित्रको भुंग्रोमा अण्डा उसिनेर काखमा भएको सानो बालकलाई खुवाएको याद छ,’ भावुक हुँदै उनले भने, ‘त्यही यादहरूले मलाई साहित्यमा आमाको वर्णन गर्न प्रेरणा मिल्छ ।’ उनले उक्त अवसरमा आफ्नो चर्चित कविता ‘आमा’ पनि सम्झिए ।

आमा हुन साह्रै असजिलो छ
पहाडजस्तो
उचाइमा पुगेर मैदान भैदिनुपर्ने
मैदानमा पुगेर उकालो भैदिनुपर्ने

स्रष्टा परिचय दिँदै कवि ईश्वरमणि अधिकारीले एक साहित्यकारको रूपमा पनि तीर्थ श्रेष्ठको पाटो आफैंमा तारिफयोग्य भएको बताए । उनले फणीन्द्र नेपाल, विनय रावलसँग मिलेर श्रेष्ठले सुरु गरेको तरलवादी आन्दोलन नेपाली साहित्यको एक महत्त्वपूर्ण आन्दोलन भएको टिप्पणी गरे । राजनीतिक विश्लेषक पद्मशरण रेग्मीले पनि श्रेष्ठको प्रशंसा गरे । श्रेष्ठका ‘जिन्दगीको कुरुक्षेत्रबाट’ र ‘तीर्थ श्रेष्ठका कविताहरू’ गरी दुई कविता संग्रह, ‘महाभारतका गीतहरू’ र ‘जिन्दगीको गोधूलीमा’ दुई मुक्तक संग्रह, ‘मेरै हिमालजस्तो’ गीत संग्रह र ‘पाइलाका नीबहरू’ संयुक्त फोटो कविता संग्रह प्रकाशित छन् । संघका अध्यक्ष नरहरि गौतमले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गर । यसअघिका शृंखलामा स्रष्टाहरू तेजनाथ घिमिरे, केशवराज पराजुली, तारा पाखे र दुर्गा बराल ‘वात्स्यायन’ लाई निम्त्याइसकेको सचिव सञ्जीव पौडेलले जनाए ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?