कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रकविको जन्म शताब्दी मनाइने

आश गुरुङ

लमजुङ — राष्ट्रकवि माधवप्रसाद घिमिरे आगामी असोज ७ मा सय वर्षमा प्रवेश गर्दै छन् । उनी ९९ वर्ष पूरा हुन चार महिना बाँकी रहँदा उनको जन्म शताब्दी मनाउनेबारे मस्र्याङदी वाङ्मय प्रतिष्ठानले तयारी थालेको छ । राष्ट्रकविको गृह जिल्ला लमजुङमा उनको जन्म शताब्दीबारे जानकारी गराउनुका साथै सुझाव संकलन गरिएको प्रतिष्ठानका अध्यक्ष डा.मुुकुन्द पथिकले बताए ।

राष्ट्रकविको जन्म शताब्दी मनाइने

‘राष्ट्रकवि घिमिरेको जन्मस्थलो लमजुङमा उहाँको जन्म शताब्दी भव्य तरिकाले मनाउँछौं । लमजुङमा मात्रै सीमित नराखी कहाँ के गर्न सकिन्छ भनेर हामी सुझाव संकलन अभियानमा छौं,’ उनले भने ।

जिल्लाको कार्यक्रमलाई जिल्लावासीको सुझावका आधारमा तयार पारिएको उनले बताए । उनका अनुसार राष्ट्रकविको परिचय पुस्तिका प्रकाशन गर्ने, जन्म शताब्दीको वर्ष नेपालका प्रत्येक विद्यालय तथा कलेजमा जन्म शताब्दीसम्बन्धी कविता महोत्सव गर्ने, प्रत्येक जिल्लाबाट उत्कृष्ट बढीमा ३ वटा कविता राष्ट्रकवि विशेषांकका लागि संकलन गरिनेछ ।


लमजुङको बेंसीसहर र काठमाडौंमा प्रतिमा निर्माण गरिने भएको छ । हेलिकप्टरमार्फत उनको जन्मस्थल लमजुङको मस्र्याङदी गाउँपालिका ६ बाहुनडाँडा पुस्तुनमा लगेर उनलाई स्वागत तथा सम्मान गरिनेछ । कार्यक्रममा बालन, घाँटु, सोरठीजस्ता सांस्कृतिक कार्यक्रम हुनेछन् । यस्तै, बेंसीसहरमा अभिनन्दन, काठमाडौंमा रथारोहण, सांस्कृतिक कार्यक्रम, कविता गोष्ठी, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान गरिनेछ । काठमाडौंमा मातृभाषा विषयक विचार गोष्ठी गरिनेछ । प्रतिष्ठानका अनुसार राष्ट्रिय कविता महोत्सव आयोजना गरिने भएको छ । हुलाक टिकट प्रकाशनका लागि माग गरिने उनले बताए ।


राष्ट्रकविको गाउँमा संग्रहालय बनाइने भएको छ । उनको जन्मस्थल अगाडि रहेको हिमाल (हिमालचुली) लाई राष्ट्रकविको नाममा नामकरण गर्न सरकारलाई आग्रह गरिने उनले बताए । राष्ट्रिय तथा जिल्लास्तरीय कार्यक्रमको तय प्रधानमन्त्री, मुख्यमन्त्री, सांसद लगायतको समय मिलाएर तय गरिने उनले बताए ।


जिल्लास्थित हिमालचुली कला साहित्य प्रतिष्ठानका कार्यवहाक अध्यक्ष बेनबहादुर सुयेल, लिस्नो साहित्यिक मञ्चका अध्यक्ष वसन्त अधिकारी, लमजुङ युवा साहित्य समाजका अध्यक्ष अंगराज घिमिरे, प्रगतिशील लेखक संघकी अध्यक्ष कमला केसी, प्राध्यापक, शिक्षक, साहित्यकर्मी, लमजुङ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गुणराज सिलवाल, आमा समूह, महिला समूह, साहित्यिक समूह लगायतले राष्ट्रकविकको जन्मशताब्दीको कार्यक्रमको लागि जिल्लामा छुट्टै समिति गठन गरेर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी झन्कनाथ ढकालले राष्ट्रकविको जन्म शताब्दी र उनलाई जीवन्त राख्न गुरुयोजना निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा सहभागीले राष्ट्रकविका नामबाट निर्माण गरिने भौतिक संरचना, शताब्दीका कार्यक्रमलाई पर्यटनसँग जोडेर गर्नुपर्ने सुझाव सहभागीले दिए ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?