दिवस र राईलाई युगकवि सिद्धिचरण

काठमाडौँ — संस्कृतिविद् एवं कवि तुलसी दिवस ‘युगकवि सिद्धिचरण पुरस्कार’बाट पुरस्कृत भएका छन् । त्यसै गरी पत्रकार गणेश वाम्बुले राईलाई ‘युगकवि सिद्धिचरण युवा राष्ट्रिय पत्रकारिता पुरस्कार’ दिइएको छ ।

दिवस र राईलाई युगकवि सिद्धिचरण

युगकवि सिद्धिचरण श्रेष्ठको १०७ औं जन्मजयन्तीको अवसरमा बुधबार युगकवि सिद्धिचरण प्रतिष्ठानले दिवस र राईलाई पुरस्कृत गरेको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले दिवसलाई ताम्रपत्र सहित एक लाख रुपैँया र राईलाई ताम्रपत्र सहित २५ हजार रुपैँया हस्तान्तरण गरे ।


उपराष्ट्रपति पुनले सिद्धिचरणलाई ‘नेपाली स्वच्छन्दतावादका प्रणेता र वाङ्मय क्रान्तिका प्रथम उद्घोषक’का रुपमा व्याख्या गरे । ‘राणाकालको विरुद्ध सिद्धिचरणले बन्दुकका गोली भन्दा पनि बलिया कविता लेख्नुभयो,’ पुनले भने, ‘सिद्धिचरणले साहित्यमार्फत् समाजलाई गोरेटो देखाउने काम गर्नुभएको छ ।’ तर पछिल्लो समय आधुनिकतासँगै नेपाली साहित्यमा पनि अतिक्रमण बढेको उनले औँल्याए । नेपाली भाषा साहित्य मासिँदा देश नै मासिने खतरा हुने उल्लेख गर्दै पुनले ‘अहिलेका लेखकले आफ्ना लेखमार्फत् नेपाली साहित्य, भाषा संस्कृतिको विकासका लागि योगदान दिनुपर्नेमा’ जोड दिए । कार्यक्रममा पुनले सिद्धिचरणद्वारा लिखित ‘आत्म–विलौना’ खण्डकाव्य समेत लोकार्पण गरेका थिए ।


सिद्धिचरणले आफ्ना कवितामा सरलता, विनम्रताका साथै युगीन चेतना दिने काम गरेकोले नै अहिलेसम्म सम्झिराखेको कवि, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काइलाले बताए । प्रतिष्ठानका संरक्षक एवं सिद्धिचरणका छोरा रविचरण श्रेष्ठले सिद्धिचरणको ‘शान्ति आउ’ कविता सुनाए । पुरस्कार ग्रहण गरिसकेपछि कवि तुलसीले सिद्धिचरण विर्सन चाहेर पनि विर्सन नसक्ने अजरअमर स्रष्टाको रुपमा व्याख्या गरे । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष मोहन लोहनीले सिद्धिचरणको व्यक्तित्व र कृतित्वको बारेमा बताए भने प्रा.डा अभि सुवेदीले पुरस्कृत दिवस र राईबारे प्रकाश पारे ।

प्रकाशित : जेष्ठ ९, २०७५ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?