हराएका गीतहरूको कथा

संगीतको एउटा कालखण्ड जोगिन्छ, रचना बाँच्छ भनेर गीत समेटिरहेका छौं । पुराना गीत सुन्दा त्यो बेलाको मेरो फिलिङ याद आउँछ । कतिपय रचना मैले नै बिर्सिसकेको रहेछु ।यादव खरेलगीतकार
सजना बराल

काठमाडौँ — इतिहासविद्हरू बारम्बार भनिरहेका हुन्छन्, ‘हिस्ट्री जोगाउने कुरामा नेपाली समाज निकम्मा छ ।’ न सरकार न कुनै निकाय न व्यक्तिगत तहमै यसबारे पहल हुन्छ । कला–साहित्यको क्षेत्रमा पनि अभिलेख राख्ने चलन पटक्कै छैन ।

हराएका गीतहरूको कथा

चलचित्र विकास बोर्डले बल्ल आएर पुराना नेपाली फिल्मको डिजिटाइजेसन र रेस्टोरेसन गर्दै छ । संगीततिर त अभिलेखीकरणको कुनै मेलोमेसो नै छैन । रेडियो नेपालको लाइब्रेरी गोदाममा परिणत भएको जुग भइसक्यो ।

यस्तोमा फिल्मकर्मीसमेत रहेका वरिष्ठ गीतकार यादव खरेलले पछिल्लो दुई वर्षदेखि आफ्ना पुराना गीतहरू खोजेर तिनलाई नयाँ भर्सनमा निकाल्ने काम गरिरहेका छन् । यसमा उनलाई छोरा स्रमाटले साथ दिइरहेका छन् । ‘उसकै कन्सेप्ट हो,’ यादवले भने, ‘यो सबै गरेर हामीलाई कुनै आर्थिक फाइदा छैन, मूर्ख काम हो । तर, संगीतको एउटा कालखण्ड जोगिन्छ, रचना बाँच्छ भनेर गरिरहेका छौं ।’

दुई वर्षअघि उनले ‘हराएका गीतहरू’ नामक एल्बम नै निकालेका थिए । त्यसमा विसं. २०१७ देखि २०६८ सम्मका गीत थिए । यसपालि उनी सोही एल्बमको दोस्रो भाग निकाल्दै छन् जसमा विसं. २०२६ देखि २०४७ मा रचेका गीत समाविष्ट छन् । आजभन्दा ४०/५० वर्षअघिका आफ्ना रचना फेला पार्दा उनी कहिलेकाहीँ छक्क पर्छन् । ‘त्यो बेलाको मेरो फिलिङ याद आउँछ,’ उनले भने, ‘कतिपय रचना मैले नै बिर्सिसकेको हुँदो रहेछु ।’

विसं. २०१६ देखि २०२५ सम्म रेडियो नेपालमा काम गर्दा उनी संगीतकर्मीको घेरामा हुन्थे । नातिकाजी, शिवशंकर, नारायणगोपाल, तारादेवीहरूको संगतले आफूलाई गीत लेख्न अभिप्रेरित गरेको उनी सम्झन्छन् । हो त्यही ताका उनले ‘जानी जानी कति घाउ छातीभित्र पाल्नुपर्छ...’, ‘सप्तरंगी इन्द्रेणी भै...’ जस्ता गीत लेखेका थिए । यी कहिले, क–कसले, कसरी गाए भन्नेबारे गीतकार स्वयम्लाई हेक्का थिएन ।

‘‘पन्नाकाजीका छोरा प्रवेशमानले पो ‘बुबाले गाएको तपाईंको गीत हामीसँग छ’ भने,’’ यादव भन्छन्, ‘सुन्छु त शुभबहादुर सुनामको संगीतमा ललिता मानन्धरले गाएको गीत शिवशंकर र पन्नाकाजीले उहिल्यै रेकर्ड गराएका रहेछन् ।’ उनका हितैसी फत्तेमानले विजय नारायणका लागि कम्पोज गरेको ‘यो जिन्दगी हतास छ...’ बोलको गीत आफैंले पनि गाएका थिए भन्ने कुरा यादवलाई भर्खर थाहा हुँदै छ । नेपालयको ‘पलेँटी’ शृंखलामा फत्तेमानले गाइरहेको भिडियो देख्दा उनी भावुक बने ।

गीतकार यादवले फेला पारेका आफ्ना ११ वटै गीतको बेग्लाबेग्लै कथा छ । गीत भेटेपछि उनी त्यससँग सम्बन्धित स्रष्टा (गायक र संगीतकार) खोज्न थाल्छन् । धेरै त बितिसकेका हुन्छन्, जिउँदामध्ये अधिकांश उमेर र स्वास्थका कारण गाउन नसक्ने भइसकेका भेट्छन् भने कोही विदेशतिर हुन्छन् । ‘स्रष्टा सधंै लाइटमा हुँदैनन्,’ उनले भने, ‘एक समयपछि तिनलाई बचाउनुपर्छ । बचाउने भनेको तिनको काम संरक्षण गर्नु हो ।’

स्रष्टा खोज्दै जाँदा उनी अघिल्लो पटक गायक डीबी महेश पाल्पालीसम्म पुगेका थिए । विसं. २०२० को दशकका प्रख्यात गायकलाई काठमाडौं बोलाएर भिडियो खिचे । डीबीको स्वर रहेको ‘माया फिर्ता लाँदै छु...’ गीतको भिडियो यादवको वेबसाइटमा उपलब्ध छ । ‘यसपालि पन्नाकाजीको भिडियो बनाउने योजना थियो,’ उनले भने, ‘प्रवेशमानसँग कुरा पनि भएको थियो । तर, उनी बितिहाले ।’

पन्नाकाजीका फुटेज र पुराना तस्बिर राखेर भए पनि भिडियो बनाउने भन्दै यादवका छोरा सम्राट् लागिपरेका छन् । त्यस्तै, ‘जहाँ गए पनि तिमी...’ का गायक ओमविक्रम विष्टलाई भिडियोमा उतार्ने रहर गरिरहेका छन् खरेल बाबु–छोरा । ‘ऊ दुवै मृगौला बिग्रिएर अमेरिकामा उपचार गराइरहेको छ,’ यादवले भने, ‘ठीक भएर फर्किएपछि पिक्चर बनाउँछु ।’ एल्बममा ‘सत्य मर्दैन...’, ‘मुसुमुसु फूलमाया...’, ‘मानिसलाई जित्न...’ लगायत गीत संगृहीत छन् । यिनमा मधु क्षेत्री, कुमार बस्नेत, दीप श्रेष्ठ, धनबहादुर गोपाली, लोचन भट्टराई, पवित्रा सुब्बा, सुदेश शर्मा, नरेन्द्र प्यासी लगायतको स्वर छ । गोपाल योञ्जन, शिवशंकर, फत्तेमान, शक्ति वल्लभ, शम्भुजित बाँस्कोटा, मदन दीपबिम लगायतले संगीत भरेका गीत सुन्न सकिन्छ ।

उहिलेको डयाट, भिनायल वा ग्रामोफोन डिस्क प्रविधिमा रेकर्ड गरिएका यी गीतलाई साउन्ड इन्जिनियर प्रदीप उपाध्यायले रि–मास्टरिङ गरेर डिजिटल भर्सनमा उतारेका थिए । यसरी सीडी एल्बम तयार भएको यादवले बताए । ‘जति सकिन्छ सुधार गरेका छौं,’ उनले भने, ‘अहिलेजस्तो मेकानिकल म्युजिक हुँदैनथ्यो, सबै अकस्टिक रेकर्डिङ भएकाले गीतमा छुट्टै मिठास सुनिन्छ ।’

उनले योसहित ‘लग्यो पछयौरी’ नामक अर्को एल्बम र ‘अनि एउटा लहर बिउँझन्छ’ शीर्षकको कविता संग्रह यही महिनाभित्र सार्वजनिक गर्दै छन् । यादवका शब्दमा बिजु बज्रले संगीत भरेका सातवटा गीत ‘लग्यो पछयौरी’ मा राखिनेछन् । तिनमा हेमन्त राना, धर्मेन्द्र सेवान, रेश्मा सुनुवार लगायतको स्वर रहनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?