कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

“साहित्यमा हाम्रो संस्कृति नआउनु दु:खद”

हालखबर
नेपाली वाङ्मयमा सबैभन्दा खट्किने पक्ष हो— संस्कृति । संस्कृतिबिनाको जीवन विशृंखलित हुन्छ । तर हाम्रो दृष्टि नै विदेशी भयो । साहित्यमा हाम्रा कुराहरु अपेक्षित रुपमा आउँदै आएनन् । तेजेश्वरबाबु ग्वंग: , संस्कृतिविद्
सुनीता साखकर्मी

भक्तपुर — वैशाख दोस्रो साता सभामुख कृष्णबहादुर महरा र वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी पुल्चोकस्थित साझा प्रकाशनको डबलीमा थिए ।

“साहित्यमा हाम्रो संस्कृति नआउनु दु:खद”

संस्कृतिविद् एवं साहित्यकार तेजेश्वरबाबु ग्वंग:को निबन्ध संग्रह ‘रंग अभिज्ञान’ र प्रदीप नेपालको कथा संग्रह ‘देशको खोजी’ । दुवैले एकसाथ पुस्तक लोकार्पण गरे । प्रदीप मञ्चमै बसेर ताली बजाउँदै थिए भने तेजेश्वर दर्शकदीर्घामा बसेर आफ्नो कृति लोकार्पित भएको देखेर प्रफुल्लित भइरहेका थिए । लेखकीय मन्तव्य पनि तेजेश्वरबाबुले दर्शकदीर्घामै उभिएर दिए ।

मञ्चमा किन नजानुभएको ?
केही दिनअघि सूर्यविनायकस्थित निवासमा भेटिएका तेजेश्वर यो प्रश्न सुनेर एकैछिन टोलाए । अनि गम्भीर हुँदै भने, ‘खुट्टाले साथ दिएन । मभन्दा १६ वर्ष बढी उमेरका सत्यमोहन दाइ सिँढी चढेर मञ्चमै गएर मेरो कृति लोकार्पण गर्नुभयो, निबन्धहरूबारे थुप्रै कुरा गर्नुभयो । मचाहिँ लाजले भुतुक्क भएर लज्जावती फूलजस्तै भएँ ।’ खासमा दुई वर्षअघिदेखि बाथ रोगले घुँडालाई सताउन थालेपछि यी वरिष्ठ स्रष्टा त्यति हिँडडुल गर्न सक्दैनन् ।

अचेल उनको दैनिकी घरमै बित्ने गरेको छ । बिहान पाँच बजे बिउँझन्छन् । सुत्ने कोठाको टेबलमा पकेट रेडियो राखेका छन्, बिउँझनेबित्तिकै टयुन गर्छन् । राष्ट्रगानको धुनदेखि लिएर जीवन विज्ञान कार्यक्रमसम्म सुन्छन् । त्यसपछि उनी छ बजेतिर समाचार सुन्छन् । टेलिभिजनले आँखा खराब गर्छ भनेर उनी कहिलेकाहीँ मात्रै हेर्छन् । टीभीका टक सोहरू हेर्न उनलाई मन लाग्छ । अनि पत्रिकाका समाचारहरू पढ्छन् । त्यसपछि केही बेर उनी कौसीमै हिँड्छन् । उनकै भाषामा भन्नुपर्दा ‘कौसी वाक’ गर्छन् । ‘अरू क्याटवाक, मर्निङ वाक गर्छन्, म अन्त जान नसक्ने मान्छे कौसीमै एक छिन हिँड्छु,’ उनले थपे ।

उमेरले ३८ !
यी स्रष्टालाई चिटिक्क परेर बस्न एकदमै मन पर्छ । त्यही भएर दिनहुँ ‘सेभ’ गर्छन् । नास्तामा एउटा अण्डा, तुलसीको पात र अन्य जडीबुटीबाट बनेको प्राकृतिक चिया लिन्छन् । दुइटा बिस्कुटसहित पानी र दूध आधा–आधा गरेर खान्छन् । त्यसपछि उनले औषधि खानुपर्छ । औषधि चार–पाँचथरीका छन् । बाथसँगै मधुमेह, उच्च रक्तचाप, युरिक एसिड र कब्जियत पनि छ । ‘औषधि पहिले खानुपर्दैनथ्यो,’ उनले ठट्टा गरे, ‘तन्नेरी हुँदै आएपछि खानुपर्दाे रहेछ ।’ ठट्टा गर्नु उनको स्वभावै हो । कसैले उनलाई उमेर सोध्यो भने ‘३८’ भनेर जवाफ दिन्छन् र पछि ‘त्यसलाई उल्टाउँदा कति हुन्छ ?’ भन्दै प्रतिप्रश्न गर्छन् । यसले गर्दा धेरै जना अलमलिने गरेको उनले सुनाए ।

दिउँसो उनलाई भेट्न साथीहरू घरमै आउँछन्, गफ गर्छन् । उनलाई युवाहरूले भेट्न आएको निकै मन पर्छ । ‘तन्नेरीहरूसँग भेटिँदा उनीहरूको तन्नेरीपन आफूलाई सरेजस्तो लाग्छ,’ उनले भने । भेटघाटबाहेकको समय उनी केही किताब पढ्छन् । धेरैले उनलाई समीक्षा गरिदिनुपर्‍यो, एक पटक पढिदिनुस् भनेर किताब पुर्‍याउनै आउँछन् । साहित्यको नयाँ धार, नयाँ लेखकहरूको शैली र उनीहरूको अभिव्यक्तिकला बुझ्न पनि उनी नयाँ किताबहरू पढ्छन् । कुनै नयाँ लेखकको कृति पढेर राम्रो लागे फोन नम्बर खोजीखोजी फोन गरेर ‘गज्जब लेख्नुभएछ’ भनेर फुरुङ्ग पारिदिन्छन् ।

‘युगलाई मोड्ने त शैली विज्ञानले नै हो । शैली कला मात्रै होइन, विज्ञान पनि हो,’ उनले भने, ‘त्यसमा मनोविज्ञान, दर्शन, देशका छायाहरू उत्रिनुपर्छ । कुनै पनि कुरा डाइरेक्ट नभई विम्बको प्रयोग गर्दै प्रतीकात्मक रूपमा भन्नुपर्छ ।’

महाकवि देवकोटाको अँगालो
तेजेश्वर सानैदेखि मेधावी थिए । उनले भने, ‘कहिले ब्याकबेन्चर भइनँ ।’ तिनताक किताब नै किन्न पाइँदैनथ्यो । उनी किताबपसल चहार्दै हिँड्थे । रत्न पुस्तक भण्डारको नियमित ग्राहक थिए उनी ।

पुस्तकालयहरूमा समय बिताउँथे । एसएलसीअघि विसं. २०१० मा लक्ष्मीप्रसाद देवकोटासँग पनि पढ्ने अवसर पाएको उनी सम्झिन्छन् । देवकोटाको ‘निद्रा’ निबन्ध पढेर तेजेश्वरले पनि ‘सपना’ निबन्ध लेखेर देवकोटालाई देखाएछन् । ‘उहाँले त मलाई अँगाल्नुभयो,’ उनले भने, ‘देवकोटाले कलम नरोक्नू भन्नुभएपछि फुरुंग भएको थिएँ ।’ उनको घरमा आफ्नै पुस्तकालय छ । उनको बैठककोठामा पनि पुस्तकका चाङैचाङ छन् । घरमा अन्य सदस्यले पनि किताब पढ्छन् कि भन्ने प्रश्नमा उनी फेरि ठटयौलो बने, ‘किताबले चाहिँ उनीहरूलाई पढ्छन् । किताबहरू त क्वाँक्वाँ रुन्छन् ।’

अहिलेको साहित्यमा संस्कृति छैन
संस्कृतिका क्षेत्रमा उनको योगदान उल्लेख्य छ । अहिलेसम्म पनि नेपाली साहित्य वा वाङ्मयमा सबैभन्दा कमजोर पक्ष नै सांस्कृतिक पक्ष हो भन्ने उनलाई लाग्छ ।

उनका अनुसार संस्कृतिलाई बुझ्ने मानिस नै कम छन् र लेख्ने मानिस त झनै कम । ‘संस्कृति भनेको जीवन हो, जीवन भनेकै संस्कृति,’ उनले भने, ‘संस्कृतिबिनाको जीवन असांस्कृतिक, विशृंखलित हुन्छ । उसले न त देशको वातावरण बुझ्छ, न पर्यावरण ।’ अहिले नेपाली संस्कृति (कल्चर) लाई भल्चरले खाइरहेको भन्दै उनले व्यंग्य कसे । भने, ‘गिद्धले चल्लाहरू खाएको जस्तै भइरहेको छ । न मेरो लुगा सांस्कृतिक छ, न खाना, हिँडाइ, बोल्ने भाषाहरू । हेर्ने हेराइ वा दृष्टि पनि विदेशी भयो हाम्रो । विदेशी किताब पढेर लेख्ने शैली, प्रयोग गर्ने उदाहरण, विम्ब प्रतिविम्बको प्रयोग पनि विदेशी नै हुन थाल्यो । हाम्रा कुराहरू त आउँदै आएनन् साहित्यमा ।’ अमेरिकाको मेसिगन स्टेट विश्वविद्यालयबाट स्नातकोत्तर गरेका तेजेश्वरले नेपाली साहित्यमा नेपालका संस्कृति, विम्ब, परम्परा नआएको गुनासो गरे ।

रंगदर्शन लेख्दै छु
उनको पछिल्लो निबन्ध कृतिमा रंगका विभिन्न आयाम र मनोविज्ञान समेटिएका छन् । उनले २०३४ देखिनै रंगका बारेमा लेख्न थालेका थिए । रंगसम्बन्धी ‘रङ्ग संस्कार’ निबन्ध लेखेर पत्रिकामा छपाएका पनि थिए । त्यति बेला स्थानीय विकास मन्त्रालयको ट्रेनिङ विभागमा काम गर्थे । ‘बहुदल कि सुधारिएको पञ्चायत ?’ भनेर जनमतसंग्रह हुँदै थियो । बहुदलको मत चिह्न नीलो थियो भने पञ्चायतको रातो । त्यसो त उनी बहुदलको समर्थक थिए, तर खुलेआम पञ्चायतको विरोध गर्ने अवस्था थिएन । उनले नीलो रंगको प्रशंसा गरेर प्रतीकात्मक रूपमा लेखे । त्यसपछि उनले रंगका माध्यमबाट उपचार हुने मात्र नभई रंगको मनोवैज्ञानिक पक्षका अनेक आयम खोतले ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले उनलाई ‘रंग दर्शन’ बारे किताब लेख्न सुझाएका थिए । उनले पनि हुन्छ भनेका छन् । ‘तर अहिले लेख्ने आँट नै आइरहेको छैन,’ उनले भने, ‘खाना पनि रुच्न छाडेको छ । फेरि स्वस्थ भएँ भने लेख्छु ।’

प्रकाशित : जेष्ठ ११, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?