कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

द्वन्द्व बिर्साउन रोल्पा साहित्य सम्मेलन

काशीराम डाँगी

रोल्पा — विगतको सशस्त्र द्वन्द्व बिर्साउन र पर्यटकीय विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले आइतबारदेखि लिबाङमा बृहत् साहित्य सम्मेलन सुरु भएको छ । रोल्पा नगरपालिकाद्वारा आयोजित सम्मेलनको उद्घाटन ऊर्जा तथा सिँचाइमन्त्री वर्षमान पुनले गरे ।

द्वन्द्व बिर्साउन रोल्पा साहित्य सम्मेलन

‘विगत भुलेर शान्तितिर’ लाग्ने अपेक्षासहित सम्मेलन गरिएको रोल्पा नगरपालिका मेयर पूर्ण केसीले बताए । उनले शान्ति स्थापनालाई संस्थागत सहयोग पुर्‍याउन साहित्य सम्मेलन आयोजना गर्ने निर्णय गरिएको बताए ।

ऊर्जामन्त्री पुनले विगत भुलेर शान्ति स्थापना गर्नेतर्फ सबै लाग्नुपर्ने बताए । ‘अब विगत भुलौं र शान्ति प्रक्रियालाई उपलब्धिमूलक बनाउन योगदान गरौं,’ माओवादी सशस्त्र द्वन्द्वका एक लडाकु कमान्डरसमेत रहेका मन्त्री पुनले भने, ‘अब रोल्पाबाटै शान्ति र प्रगतिको सन्देश फैलाउनु छ । यसमा सबैको सिर्जनात्मक कार्यको खाँचो छ ।’

मन्त्री पुनले आफूहरूको नेतृत्वमा रोल्पाबाटै २०५२ फागुन १ देखि सुरु भई करिब दस वर्षसम्म चलेको माओवादी सशस्त्र विद्रोहका कारण शान्ति र प्रगति प्राप्त भएको दाबी गरे ।


मुलुकभरिका साहित्यकार रोल्पामा तीनदिने बृहत् साहित्य सम्मेलनका अवसरमा रोल्पामा राष्ट्रिय कविता प्रतियोगिता गरिएको छ । उक्त प्रतियोगितामा भाग लिन मुलुकभरिका साहित्यकार रोल्पामा भेला भएका छन् ।


सम्मेलन मूल आयोजक समितिका अध्यक्ष डीबी टुहुरेका अनुसार मुलुकभरिका १ सय ५० प्रतियोगीबाट छनोट गरिएका १५ कविले रचना वाचन गर्नेछन् । पाहुनाहरूलाई गुरुङगाउँ, माडीचौर र सातदोबाटोमा पुर्‍याएर रचना सुनाउने अवसर मिलाइएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?