२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वाग्मतीमा माछा र डुंगा !

काठमाडौँ — सधैं फोहोर डंगुर थुप्रिरहने वाग्मती नदी पछिल्लो समय केही सफा बनेको छ । धमिलो नै सही, कम्तीमा पानी बग्न थालेको छ । चित्रकार पृथ्वी श्रेष्ठले भने त्यहाँ सङलो र कलकल पानी देख्छन् ।

वाग्मतीमा माछा र डुंगा !

यति मात्रै होइन, किनारमा टुसुक्क बसेर माछा मारेको पनि सम्झन्छन् । यी उनका अतीत हुन् । बाल्यकालमा देखेको ती दृश्य उनको मस्तिष्कमा ताजै छ । तिनै पुराना अनुभूति र सम्बन्धलाई उनले क्यान्भासमा उतारेका छन् ।


‘कुनै समय मैले त्यही वाग्मतीमा माछा मारेको थिएँ,’ बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भेटिएका उनले भने, ‘जब पुरानो दिन सम्झिन्छु, अहिले पनि म त्यहाँ मनमनै माझा देख्छु । कल्पना गर्छु कि वाग्मतीमा डुंगा चढ्न पाए कस्तो हुन्थ्यो ?’


ललितपुर कुपन्डोलका पृथ्वीले यस्ता सम्झना र कल्पनालाई ‘एटयाचमेन्ट’ नाम दिएर कलाकृतिहरू तयार पारेका छन् । यही नाममा उनका सिर्जनाहरू यति बेला सिर्जना सिद्धार्थ आर्ट ग्यालरीमा प्रदर्शनरत छन् । उनको ५ औं एकल चित्रकला प्रदर्शनी हो । वाग्मतीको सम्झना र कल्पना मिसाइएको चित्रहरूमा उनले केही नौला प्रयोग गरेका छन् ।


‘रिभर’ शीर्षकको चित्रमा कुपन्डोलमा सानो छँदा आफूले माछा मारेको सम्झना उतारेका छन्, जहाँ उनी वाग्मतीभित्रै समाहित भएको दृश्य देख्न सकिन्छ । वाग्मतीको गर्भचित्र सुतेर उनले स्मृतिमा ठुल्ठूला छालहरू र ती छालभित्र मसिना माछा र भ्यागुताहरू कल्पना गरेका छन् ।


‘डुंगा’ शीर्षकको चित्र भने उनको कल्पना हो, त्यसमा उनले वाग्मतीको छाललाई आफ्नै मस्तिष्कसँग जोडेर त्यही छालभित्र डुंगाको उतारचढाव कोरेका छन् । चित्रहरूमा काग, भ्यागुता र डुंगाजस्ता विम्बमार्फत उनले प्रकृतिको सम्बन्ध खुलाएका छन् । ‘काग’ लाई भने द्विअर्थी प्रतीकको रूपमा प्रस्तुत गरेका छन् । एउटा सन्देश दिने अर्को मृत्युको संकेत ।


आफ्नै एउटा फिगरमा उनले कागजको चुच्चो मुखमा राखेका छन् भने अर्कोमा चाहिँ काँधमा ‘काग’ को चित्र कोरेका छन् । ‘मृत्युपछि आत्मसँग गरिने अन्तरसंवादलाई उनले यसरी चित्रमा देखाउन खोजेका हुँ,’ उनले भने । पृथ्वीका चित्रमा कलात्मकताभन्दा प्राविधिक पक्ष बढी हाबी छ । उनले आफ्नो थिमलाई बढी जोड दिएका छन् ।


बढ्दो आधुनिकताले समाज विस्तारै संवेदनाहीन बन्दै गएको सन्दर्भमाथि पनि उनले चित्रमार्फत व्यंग्य कसेका छन् । कुखुराको टाउको मानव शरीरमा जोडेर उनले मान्छेको मरण अचेल ब्रोइलरजस्तै सस्तो हुन थालेकोप्रति व्यंग्य गरेका छन् ।


‘ब्रोइलर कुखुरा हरेक दिन कति मारिन्छ, कसलाई हेक्का ?’ उनले भने, ‘अचेल मानिसको मरण पनि यस्तै हुन थालेको छ ।’ उनले केही चित्रमा मौलिक साइनो गाँसिएका आकृति र विम्ब रोचक ढंगले जोडेका छन् । केही चित्रमा थाङकाको प्रभाव पनि झल्किन्छ । रंगको हिसाबले आधुनिक, सोचाइको हिसाबले उनका चित्रहरू मौलिक लाग्छन् ।


त्यस्तै ठूलो फिगरमा केन्द्रित भएर उनले आफ्नो विचारलाई स्पष्टसित दर्शकलाई बताउन चाहेका छन् । कलाभन्दा विचारमा ध्यान दिनेहरूका लागि उनका चित्र अब्बल छन् ।

एक साता जारी रहने प्रदर्शनीमा उनले १५ वटा चित्र राखेका छन् ।

प्रकाशित : असार ६, २०७५ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?