‘समालोचना पनि सिन्डिकेट’

काठमाडौँ — नेपाली समालोचनालाई थुप्रै आक्षेप लाग्ने गरेका छन् । विवेचनात्मक, गम्भीर, विद्वतापूर्ण हुन नसकेको आरोप र गुनासा थुप्रै छन् ।

‘समालोचना पनि सिन्डिकेट’

नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वाषिकोत्सवका अवसरमा शुक्रबार गरिएको ‘नेपाली कवितामा समालोचना : समसामयिक प्रवृत्ति र चुनौती’ विषयक काव्यविमर्शमा थुपै्र कवि तथा साहित्यकारले नेपाली समालोचनामा पनि सिन्डिकेट रहेको आरोप लगाए ।

डा. ऋषिराम शर्माले ‘नेपाली कवितामा समालोचना’ विषयक कार्यपत्र नै प्रस्तुत गरे । नेपाली समालोचनामा पछिल्लो समय नारीवादी, जनजाति, पर्यावरणीयलगायत साइबर चेतना, समाजशास्त्रीय र मिथकीय समालोचनाको प्रभाव परेको शर्माले कार्यपत्रमा उल्लेख गरे । उनका अनुसार नारीलाई नै केन्द्रबिन्दुमा राखेर गरिने नारीवादी समालोचना, राष्ट्रको मूलधारदेखि बाहिर रहेका जातिहरूको अध्ययन गर्ने जनजाति समालोचना र प्राकृतिक वातावरण वा पर्यावरणलाई आधार बनाएर गरिने समालोचना पर्यावरणीय समालोचना हो । ‘साइबर समालोचनाको पनि प्रभाव छ,’ उनले भने, ‘नेपाली कवितामा मिथकलाई केन्द्रबिन्दु मानेर गरिने मिथकीय आलोचना पनि हुन थालेको छ ।’

प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले समालोचकले स्वतन्त्र भएर समालोचना गर्नुपर्नेमा जोड दिए । आस्था र सिद्धान्तअनुसार समालोचना गर्ने कि कृतिअनुसार समालोचना गर्ने भन्नेमा समालोचक स्पष्ट हुनुपर्ने उनले बताए । कवि तथा गीतकार दिनेश अधिकारीले समालोचकले आफ्नो रुचिअनुसार नै मूल्यांकन गर्ने गरेको आरोप लगाए ।

‘म स्वतन्त्र कवि हुँ । कवितामा मायाप्रेम, आशा निराशा, सपना विपना, क्रान्ति र भ्रान्ति पनि लेख्छु । समग्र जीवन लेख्न लालायित हुन्छु । तर समालोचना जीवनको समग्रता स्वीकार गर्ने खालका हुन सकिरहेको छैन,’ उनले भने, ‘माक्र्सवादी, नारीवादी, उत्तर आधुनिकतावाद, साइबर यस्ता थुप्रै चस्माको रंगअनुसार कविताको मूल्यांकन हुने गरेको छ । एक किसिमको चस्मा लगाएको समालोचकलाई मन नपर्ने कुरा लेखेको रहेछु भने उनको लागि म वर्जित हुन्छु ।’

कवि लेखकहरू जति अराजक भएर लेखे पनि समालोचक अराजक हुन नहुनेसमेत उनले बताए । पछिल्लो समय समालोचना सिर्जनाको नभई सर्जकको अनुहार हेरेर गर्ने प्रवृत्ति बढेको उनले आरोपसमेत लगाए । प्रतिष्ठानको काव्य विभाग प्रमुख एवं प्राज्ञ अमर गिरीले नेपाली कविता समालोचनाको अहिलेको चुनौती यसको स्तरीकरण नै रहेको बताए । ‘समालोचनाको नाममा हल्का लेखन बढ्दो छ,’ उनले भने, ‘गम्भीर समालोचनाको संस्कृति खाँचो छ ।’

स्रष्टा पुरुषोत्तम सुवेदीले विश्वविद्यालयमा अंकका लागि मात्रै समालोचना लेख्ने क्रमले पनि समालोचनाको स्तर घटाएको आरोप लगाए । ‘जब पाठ्यक्रम र समालोचना जोडियो । व्यक्ति केन्द्रित समालोचना भयो,’ उनले भने, ‘मूल्यांकनभन्दा पनि झारा टार्ने खालका समालोचना भए ।’ उनले कविहरूले नै समालोचना गर्ने काम सुरु हुनुपर्नेमा जोड दिए । समालोचना सिर्जनाभन्दा फरक भए पनि सिर्जनाकै गर्भबाट जन्मिने कवि डा. गीता त्रिपाठीले बताइन् ।

कुनै लेखकलाई कमजोर देखाउनुपर्‍यो भने समालोचनाको प्रयोग गर्ने क्रम बढेको डा. नेत्र एटमले दाबी गरे । भने, ‘कुनै लेखकले माक्र्सवादी दृष्टिकोणले लेखेको कुरालाई उत्तरआधुनिक दृष्टिकोणबाट समालोचना गर्दिएपछि लेखक र लेख कमजोर देखिन्छ ।

यसरी समालोचना गर्दा लेखक नै समाप्त हुने सम्भावना बढ्छ । त्यसैले लेखकले जुन दृष्टिकोणबाट लेखेको छ, त्यहीअनुरूप नै समालोचना गर्नुपर्छ ।’

प्रकाशित : असार ९, २०७५ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?