नेपाली गजलकारहरुको गजल मुसायरा

अष्ट्रेलिया — ‘सीमाना बनाउनेले यो कस्तो फाटो ल्याइदियो,
दाईलाई नेपाली भाइलाई भुटानी बनाइदियो’

नेपाली गजलकारहरुको गजल मुसायरा

पहिलोपटक दक्षिण अष्ट्रेलियामा एकजुट बनेका नेपाली गजलकारहरुको ‘गजल मुसायरा’ मा गजलकार जीतेन्द्र मल्लले माथिको गजल सुनाउँदा सहभागीहरु मन्त्रमुग्ध बनेका थिए ।


देशप्रेम, मानवीय भाव, सम्बन्धका उतारचढाव लगायतका विभिन्न शीर्षकहरुमा १ दर्जनबढी साहित्यकारहरुको गजलले सबैलाई भावुक बनाएको थियो ।


नेपाली भाषा र साहित्यलाई जर्गेना गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सिड्नी मेलबर्न लगायतका साहित्यकारहरुले सहभागिता जनाएका थिए ।


सिड्नीका गजलकार मल्लले मानवीय संवेदनासहितको गजल वाचन गरी नसक्दै सफल देवकोटाको अर्काे गजलले वाहवाही बटुलेको थियो ।


‘ऊ जिउँदो हो की अवशान छानविन हुनुपर्छ,

ढुंगा हो कि भगवान छानविन हुनुपर्छ ।’


अर्का गजलकार प्रेम पाण्डेको प्रेमिल गजलले साँझको वातावरणलाई रमाइलो बनाइदिएको थियो ।


‘पत्र लेख्न नजान्नेलाई खामको के मूल्य

सुनसान रात रोज्नेलाई घामको के मूल्य’


अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको आयोजना सम्पन्न उक्त कार्यक्रममा १ दर्जन बढी गजलकारहरुले गजल वाचन गरेका थिए । रामकृष्ण निरौला, आरसी थापा, रोहित अधिकारी र लक्ष्मण गुरुङले गजल गायन प्रस्तुत गरेका थिए भने विष्णु तामाङ र पुजा गुरुङको नृत्यले दर्शकलाई थप मनोरञ्जन दिएको थियो ।


आयोजक संस्थाका अध्यक्ष मीलन दहालले कार्यक्रमको मुख्य उद्देश्य यहाँ रहेका दोस्रो पुस्तालाई नेपाली भाषा र साहित्यप्रति अभिरुची जगाउने रहेको बताए ।


अष्ट्रेलियामा नेपाली साहित्य र गजललाई प्रवद्र्धन गर्नका लागि स्थानीय साहित्यकारहरुको पहलमा ४ वर्षअघिदेखि गजल मुसायरा सुरु गरिएको हो ।


यो साहित्यिक कार्यक्रम अहिलेसम्म सिड्नी, ब्रिसबन र एडिलेड लगायतका शहरहरुमा सम्पन्न भइसकेको छ भने अन्य शहरहरुमा समेत आयोजना हुँदैछ ।

प्रकाशित : असार ९, २०७५ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?