‘इन्द्रेणी गीत’ अब्बल

काठमाडौँ — यस वर्षको राष्ट्रिय कविता महोत्सव २०७५ मा कवि फूलमान वलको ‘इन्द्रेणीको गीत’ शीर्षकको कविता अब्बल ठहरिएको छ । महोत्सवका लागि प्राप्त २ सय २९ वटा कविताहरूमध्ये कवि वलको कविताले सबैलाई उछिनेको हो ।

‘इन्द्रेणी गीत’ अब्बल

नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा हुँदै आएको महोत्सवमा यसपटक धादिङकी कवि सुनीता खनालको ‘श्यामश्वेत फोटो’ द्वितीय भयो । तृतीय हुनेमा रामेछापका कवि जीवन खत्रीको ‘एउटा अर्काे प्रयास’, तेह्रथुमकी कवि एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ र मोरङकी कवि मेनुका चापागाईंको ‘बिराएछु बाटो’ रहेका छन् ।


प्रथम हुने वलले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, द्वितीय हुने खनालले रजत पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने खत्री, दुलाल र चापागाईंले कास्य पदकसहित जनही २० हजार रुपैयाँ पाउनेछन् । पुरस्कार र पदक राष्ट्रपतिबाट हस्तान्तरण गरिने प्रचलन रहिआएको छ । डा. हेमनाथ पौडेल, साहित्यकार मञ्जु काँचुली, प्रा. जगत उपाध्याय, कवि तथा समालोचक कृष्ण प्रधान र प्रा.डा. गोपीन्द्र पौडेल रहेको मूल्यांकन समितिले कविताहरू मूल्यांकन गरेको महोत्सवमा बताइयो । महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले स्रष्टाहरूका लागि महोत्सव प्रेरणादायी हुने दाबी गरे ।


‘काव्य क्षेत्रमा कस्ता सिर्जनाहरू हुँदै छन् भन्ने मानक पनि हो महोत्सव,’ उनले भने, ‘समाजमा भएका विभिन्न राजनैतिक परिवर्तनमा कविता, गीत र संगीतको पनि उत्तिकै योगदान रहँदै आएको छ ।’

२०२२ देखि महोत्सव हुँदै आएको जानकारी दिँदै कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानको जीवनमा महोत्सवले धेरै महत्त्व राखेको बताए । महोत्सवमा मन्त्री अधिकारी र कुलपति उप्रेतीले ‘बृहत् शब्दकोश’ को नयाँ संस्करण पनि लोकार्पण गरे । प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, उपकुलपति विष्णुविभु घिमिरे, काव्य विभाग प्रमुख अमर गिरी, सदस्यसचिव जीवेन्द्रदेव गिरीलगायतले महोत्सवको महिमाबारे प्रकाश पारेका थिए ।


यसपटक २ सय २९ मध्ये उत्कृष्ट ३६ रचना वाचनका लागि छानिएका थिए । तीमध्ये सुवास संगम राई, कल्पना काफ्ले, गणेश भट्ट ‘अणु’, प्रकाश रम्घाली, रञ्जना निरौला, त्रिभुवनचन्द्र वाग्ले, शान्ति अधिकारी, पर्शुराम भट्टराई, डिल्लीप्रसाद मूलतिहुन, हीरा भट्ट, जीवन आरोही, अग्रिम अधिकारी, कविता राई, सुभासचन्द्र भण्डारी, सचित राई, नवीन प्यासी, सुशीला खडका, भुवन शिवाकोटी, ओमप्रसाद कोइराला, रसिक राज, ज्ञानेन्द्रबहादुर सिंह, धर्मानन्द भट्ट, सीता भण्डारी, गिरि श्रीष मगर, शान्ति शर्मा, सौरभ सुनार, सुन्दर शिरीष, नारायण सापकोटा, टहल दाहाल नवीकरणले कविता सुनाए ।


महोत्सवमा प्रतिष्ठानका कर्मचारी सुमन अधिकारीलाई २५ हजार रुपैयाँसहित दीर्घ सेवा पदकसमेत प्रदान गरियो । वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानमा सांगीतिक प्रस्तुतिसहित विशेष कला–कविता कार्यशाला एवं कला प्रदर्शनीसमेत गरिएको थियो ।

प्रकाशित : असार १०, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?