१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बानियाँलाई संगीत पुरस्कार

लेखनाथ — गायक विनोद बानियाँ ललितकुमार–हेलकुमारी बाटाजू स्मृति संगीत पुरस्कारबाट सम्मानित भएका छन् । संगीत प्रशिक्षण केन्द्र पोखराले शनिबार उनलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कारमा ३० हजार रुपैयाँ रहेको छ ।

बानियाँलाई संगीत पुरस्कार

प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उनलाई पुरस्कार प्रदान गरे । पोखराका तबलावादक तथा शास्त्रीय गायक स्वर्गीय ललितकुमार बाटाजूले पुरस्कारको स्थापना गरेका हुन् । आफू र धर्मपत्नी हेलकुमारी बाटाजूको स्मृतिमा स्थापित पुरस्कारको सञ्चालन संगीत प्रशिक्षण केन्द्रले गर्दै आएको छ ।


उक्त अवसरमा केन्द्रले शास्त्रीय संगीतमा साधनारत प्रशिक्षक डा.मितु पाललाई पनि सम्मान गरेको छ । प्रतिभा छनोट समितिका संयोजक तीर्थ श्रेष्ठले पोखरामै बसेर बानियाँले गरेको संघर्षबाट नवकलाकारले सिक्नुपर्ने बताए । केन्द्रका अध्यक्ष गौतम बिजुक्छे, गायक कर्ण दास, साहित्यकार सरस्वती प्रतीक्षा, उपेन्द्र पौडेलले बानियाँको गायन कलाको प्रशंसा गरे । पुरस्कृत गायक बानियाँले पोखरालाई कर्मथलो बनाएर ‘मान्छे’, ‘प्रोफाइल’ लगायतका एल्बम बजारमा ल्याएका छन् । उनी केही समय लेकाली ब्यान्डमा पनि आबद्ध भए । सम्मानित डा.पाल शास्त्रीय संगीतको प्रशिक्षण दिँदै गायन र संगीतमा सक्रिय रहँदै आएकी छन् ।


२०६३ मा स्थापना भई प्रत्येक दुई/दुई वर्षमा वितरण गरिने पुरस्कारबाट यसअघि वरिष्ठ तबलावादक चन्दबहादुर बाटाजू, भैरव सांस्कृतिक संरक्षण समिति, वरिष्ठ मृदंगावादक एवं संस्कृतिकर्मी कृष्णबहादुर वैद्य र संगीतकार कृष्णबहादुर श्रेष्ठ सम्मानित भइसकेका छन् ।

प्रकाशित : असार १०, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?