कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पात हुँदै ढुुंगामा विधाता

मुस्ताङका ढुंगाहरू ढुंगा मात्रै हैनन्, सभ्यता, संस्कृति र मौलिक सौन्दर्यको प्रतीक पनि हुन् ।
मधु शाही

ललितपुर — कुनै समय पातलाई विम्ब बनाएर क्यानभास रंग्याउँथिन् चित्रकार विधाता केसी । त्यति बेला उनको मान्यता थियो– ‘जिन्दगी भनेको पातजस्तै हो ।’ तैपनि उनी पातमा मानव–अस्तित्वको खोजी गर्थिन्, जीवन अर्थहरू रंगमार्फत पोख्थिन् । यति बेला उनी ढुंगामा आइपुगेकी छन् ।

पात हुँदै ढुुंगामा विधाता

उनका अनुसार ढुंगा जीवन हो, संस्कृति हो, सभ्यता पनि । सातौं एकल प्रदर्शनीसम्म आइपुग्दा उनमा देखिएको परिवर्तन हो यो । पातबाट ढुंगासम्मको उनको रूपान्तरण बुझन् झम्सीखेलस्थित जीजी मचान पुग्नपर्छ, जहाँ उनको एकल कला प्रदर्शनी चलिरहेको छ ।


खासमा मुस्ताङको ढुंगाबाट उनी प्रभावित छिन् । सन् २०१४ को हिउँदमा उनी घुम्न मुस्ताङ पुगेकी थिइन् । धेरैलाई सामान्य लाग्ने मुस्ताङका ढुंगाहरूमा उनले भने सुन्दर कलात्मकता भेट्टाइन् । त्यहाँका ढुंगाले बनेका घर, पर्खाल र हिँड्ने बाटामा समेत ढुंगाको महत्त्व उनले थाहा पाइन् । त्यसपछि ‘पात नै जीवन’ ठानेकी उनको सोचमा परिवर्तन आयो ।


‘मुस्ताङका ढुंगाहरू ढुंगा मात्रै हैनन्,’ उनले भनिन्, ‘सभ्यता, संस्कृति र मौलिक सौन्दर्यको प्रतीक पनि हुन् ।’ ढुंगाबाट उनी यति प्रभावित भइन् कि अबको केही वर्ष अब ढुंगा सिरिजमै कलाकर्म गर्ने उनको योजना छ । ललितकलामा प्रिन्टमेकिङमा स्नातकोत्तर गरेकी उनीसँग पेन्टिङ, प्रिन्ट मेकिङ र प्रतिस्थापन कला गरी तीनवटै कला विधामा दक्षता छ ।


चित्रमा नअटाएका विषयलाई उनी प्रतिस्थापन कलामार्फत पस्किन सहज मान्छिन् । एक वर्षअघि ‘काठमाण्डू आर्ट ट्रिनाले’ मा उनले फलामै फलामको तारले बनाएको मच्छेन्द्रनाथले निकै चर्चा पाएको थियो । ‘प्रतिस्थापन कला अस्थायी हुन्छ,’ उनको अनुभव छ, ‘प्रिन्ट मेकिङमा चाहिँ रंगको बहाव सुन्दर हुन्छ, जुन चित्रमा त्यत्ति लाग्दैन ।’


कला प्रदर्शनीकै क्रममा भारत, कोरिया, बंगलादेश, थाइल्यान्डलगायत मुलुकमा पुगेकी उनले यस पटक ‘थोपा’ शीर्षकमा कलाकृति प्रदर्शनीमा राखेकी छन् । कुराकानी क्रममा उनी आफ्नो विगततिर फर्किइन् । तीन जना दिदीबहिनीमा उनी कान्छी हुन् । आमा बितेपछि बुबाकै सानिध्यमा हुर्किइन् । ‘स्कुलमा त खेलकुदबाट थुप्रै मेडल बटुलेकी छु,’ उनले भनिन्, ‘बुबाकै प्रेरणाले चित्रकारिता रोजें ।’


विधाताले औपचारिक रूपमा चित्र कोर्न थालेको सन् २००७ पछि हो । शालीन, थोरै बोल्ने र धेरै सोच्ने उनको स्वभाव उनका कलामा प्रतिविम्बित भएको लाग्छ । उनी चित्रमा चहकिला र चम्किला रंग छनोट गर्दिनन् । खैरो, कालो र मधुरो रंग उनका रोजाइमा पर्छन् । विषयको छनोटमा पनि उनी संवेदनशील छिन् ।


पातलाई ‘जीवन, अस्तित्व र पहिचान’ सँग तुलना गर्दै झन्डै ७ वर्ष उनी पातकै थिममा रमिन् । उनका अनुसार पातमा नसाहरू हुन्छन् । जुन अत्यन्त अन्योलपूर्ण भएर जेलिएर रहेका हुन्छन् । मान्छेको जीवन पनि पातका नसाजस्तै जेलिएर रहेको विधाताले महसुुस गरेकी छन् । ‘चित्रमा त्यही कोरें,’ उनले भनिन्, ‘तर, कलापारखीले मैले जस्तै बुझ्नपर्छ भन्ने जरुरी छैन । दर्शकसम्म आइपुग्दा मेरो पात त गणेशको प्रतिरूप बनिसकेको हुन्थ्यो ।’


तिनताक उनलाई धेरैले गणेशको चित्र बनाएको हो ? भन्दै सोध्थे पनि । विधाताले टाउको हल्लाइदिन्थिन् । पात विम्बमा उनले जसरी गहिराइमा पुगेका काम गरेकी थिइन्, ढुंगामा पनि उनको कलाकर्म अब्बल देखिन्छ । मंगलबार सुरु प्रदर्शनी एक महिनासम्म चल्नेछ ।


प्रकाशित : असार २०, २०७५ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?