कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झमक लागिन् ३८

धनकुटा — श्रीमान् तिम्रो थोत्रो इजलासले गरेको फैसला
थोत्रा विचारमा झुन्डिएका कुसंस्कृतिका पर्दाहरू
सानो आयतनमा नापिएका धर्महरू
त्यही सानो परिधिमा बन्द अर्थहरू
म मान्न तयार छैन...

झमक लागिन् ३८

साहित्यकार झमक घिमिरेको ‘इजलास’ शीर्षक यो कविता कवि अनिता लामाले वाचन गर्दै थिइन् । सन्दर्भ थियो— झमकको ३८ औं जन्मदिवस ।

यसअघि सामान्य औपचारिकतामा सीमित हुने झमकको जन्मदिवस यस पटक गृहजिल्लामा भव्य रूपमा मनाइयो ।

काव्य–पाठसमेत गरिएको समारोहमा अधिकांश कविले आफ्ना रचनामा झमककै सन्दर्भ जोडेका थिए । झमक जति कविता सुन्दै जान्थिन्, उति उनको अनुहारमा चमक देखिन्थ्यो । घरि खित्का छोड्दै हाँस्थिन् त घरि भावुक मुद्रामा देखिन्थिन् ।

झमकले आफ्नो ठाउँमा विशेष रूपमा जन्मदिन मनाउन पाउँदा खुसी लागेको उल्लेख गरिन् । ‘आफ्नै गाउँघरमा सबैका माझ जन्मदिन मनाउन पाउँदा निकै हर्ष लागेको छ,’ उनले खुट्टाले लेखिन्, ‘शुभेच्छुक सबैको साथ सहयोगले सृजनाका लागि थप हौसला मिलेको छ ।’

झमक घिमिरे साहित्य कला प्रतिष्ठानद्वारा आयोजित समारोहमा तेह्रथुम, पाँचथर, सुनसरी, मोरङ, झापा, संखुवासभा, भोजपुर, काठमाडौं, बर्दिया, पाल्पालगायतबाट कवि
तथा शुभेच्छुक झमकलाई शुभकामना दिन आएका थिए ।

कविहरू खगेश्वर गौतम, उमानाथ घिमिरे, मोहन ढुंगेल, अनिता लामा, घनश्याम बराल औलाली, रोशन परियार, गीता अधिकारी, मुकुन्द प्रयाश, केजी सुब्बा, अनन्त अनुराग, नरेन्द्र कश्चित, यादव तिम्सिना, गोपाल भण्डारी, सन्तवीर लामालगायतले कविता पाठ गरेका थिए ।

१ नं. प्रदेशका सभामुख प्रदीप भण्डारीले झमक अमूल्य निधि रहेकाले राज्यले विशेष चासो दिन जरुरी रहेको औँल्याए । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागार्इं र सचिव जनार्दन घिमिरे, सगरमाथा आरोही सञ्चारकर्मी देउराली चाम्लिङ, सुनसरीका स्रष्टा ओम कोइरालालगायतले झमकको व्यक्तित्व–कृतित्वबारे बोलेका थिए ।

प्रकाशित : असार २२, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?