‘अठोट’ साथ श्रीश

काठमाडौँ — कुनै पनि व्यक्ति जीवनमा कति सफल वा असफल हुन्छ भन्ने तथ्य ऊ बाल्यावस्था र किशोरावस्थामा कसरी हुर्किएको छ, त्यसमा निर्भर गर्छ भन्ने मानिन्छ । अचेलका बालबालिका कस्ता छन् त ?

‘अठोट’ साथ श्रीश

प्रायजसो आफूले भनेजस्तो नभए चिढिइहाल्छन्, जंकफुड भनेपछि मरिहत्ते गर्छन्, पढाइलेखाइमा अपेक्षित ध्यान केन्द्रित गर्न सक्दैनन्, घरपरिवार र साथीभाइसँग भन्दा पनि स्मार्टफोन, भिडियो गेम, युटयुब र सोसल मिडियामा ज्यादा अलमलिन थालेका छन् । सन्तानको उज्ज्वल भविष्य चाहने अभिभावक यी विषयमा गम्भीर हुन जरुरी मानिन्छ ।

स्कुले बालबालिकालाई यिनै यथार्थ सम्झाउने प्रयासस्वरूप पत्रकार श्रीश भण्डारी पुस्तकाकार कृतिसहित आएका छन् । कान्तिपुर दैनिकका सहायक सम्पादक भण्डारीको ‘अठोट’ दी इटर्नल पब्लिकेसनले निकालेको हो । ‘अठोट’ पढेर कलिलो उमेरमै आफूलाई कसरी सही बाटोमा अग्रसर गराउने भन्ने निक्र्योल गर्न सक्ने उल्लेख गर्दै पब्लिकेसनले विज्ञप्तिमा भनेको छ, ‘खास गरी माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीले पढ्नैपर्ने यो पुस्तक शिक्षक, अभिभावक र सकारात्मक सोच राख्न चाहनेहरूका लागि उत्तिकै उपयोगी छ । पुस्तकको अभिप्राय नै विद्यार्थीले हासिल गर्ने नतिजा ग्रेड र प्रतिशतमा मात्र हैन, वास्तविक जीवनका यथार्थमै झल्किनुपर्छ भन्ने हो ।’

पब्लिकेसन अनुसार, रोचक कथाहरू र विश्वका महान् व्यक्तिहरूका उद्धरण समेटिएको ‘अठोट’ निबन्धात्मक शैलीमा छ । यसमा कामको प्राथमिकता कसरी तोक्ने, स्मरणशक्ति कसरी बढाउने, जंकफुडको बानी कसरी छुटाउने, आत्मविश्वास कसरी जगाउने भन्ने विषयहरू रोचक शैलीमा पढ्न पाइन्छ । पुस्तकमा सिकाइ शैली, परीक्षाको तयारी, कुलतबाट जोगिने तरिका, साथी छान्ने विधि, डर भगाउने र पढाइमा रुचि जगाउने उपायहरू पनि छन् ।

‘तपाईंहरूले यो किताबलाई सरसर्ती मात्र पढ्नुभयो भने भुल्न सक्नुहुनेछ,’ कान्तिपुरमा डेस्क एडिटर र बाल परिशिष्टांक ‘कोपिला’ को संयोजक रहेका भण्डारीले भनेका छन्, ‘राम्ररी पढ्नुभयो भने पछिसम्मै याद रहनेछ । हृदयले महसुस गर्नुभयो भने मात्र आफ्नो जीवनमा उतार्न सक्नुहुनेछ ।’

प्रकाशित : असार २९, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?