एक दिन माइकल कान्तिपुर पुगिगया...

हिमवत् खण्ड कला साहित्य सम्मिलन सुरु
माइकल हटले नेपालीमा विद्यावारिधि गरेको बेला इमेल–इन्टरनेट थिएन, चिठी लेख्दा महिनौं पछि जवाफ आउँथ्यो

काठमाडौँ — एक दिन नारद सत्यलोक पुगिगया लोकको गरूँ हित भनी... धेरै वर्ष पहिले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले ‘रामायण’ लाई नेपाली परिवेशमा रूपान्तरित गरेर यसरी उतारे ।

एक दिन माइकल कान्तिपुर पुगिगया...

तर शुक्रबार राष्ट्रिय नाचघरको प्रेक्षालयमा यी पंक्तिलाई बेलायती साहित्यकार तथा प्रोफसर डा. माइकल हटले आफ्नै परिवेशमा रूपान्तरण गरेर सुनाए । उनी भन्दै थिए, ‘एक दिन माइकल हट कान्तिपुर पुगिगया त्यहाँको कला संस्कृति बुझूँ भनी...’

२०५ औं भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको तीनदिने ‘हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५’ मा सहभागी हुन माइकल आइपुगेका थिए । माइकलले नेपाली भाषा साहित्यमा विद्यावारिधि गरेका छन् । ‘मैले पीएचडी गरेको पनि ३४ वर्ष भएछ । बूढो हुनै आटे छुँ क्यारे,’ उनले नेपालीमा भने, ‘जुन बेला मैले विद्यावारिधि गरेँ त्यति बेला इमेल, इन्टरनेट केही थिएन । चिठी लेख्दा महिनौं पछि मात्रै जवाफ आउँथ्यो ।’ बेलायतमा त्यति बेला नेपाली साहित्यिक समुदाय नभएको समेत उनले बताए । अहिले भने उनको इमेलमा हरेक महिना कुनै न कुनै नेपाली साहित्यिक संस्थाको निमन्त्रणा आउँछ । समय धेरै नै फेरिएको सुनाउँदै उनले भने, ‘नेपाली साहित्यले आफ्नो परिवेश फराकिलो बनाएको छ । अंग्रेजी साहित्यमा पनि नेपाली स्रष्टाहरूले राम्रै गरिरहेका छन् ।’

उनले कार्यक्रममा बैरागी काइँला, सत्यमोहन जोशी, मोदनाथ प्रश्रित लगायतसँगको आफ्नो अनुभव पनि साझा गरे । सम्मिलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले नेपालमा छरिएर रहेका अपरिमार्जित जनसाहित्यलाई संगठित गरी आधुनिक साहित्यमा ढालेर भाषिक एकता गर्न भानुभक्तले ठूलो योगदान दिएको दाबी गरे । ‘हामी सबै कुरामा गरिब छैनौँ,’ उनले भने, ‘कला, संस्कृति, साहित्य, सभ्यतालगायत थुपै्र पक्षमा सम्पन्न छौँ । हाम्रा शब्दभण्डार र भाषा समृद्ध छन् ।’

मुलुकमा ६० प्रतिशत बढी क्रियाशील जनसंख्या रहेको उल्लेख गर्दै उनले भने, ‘जब विश्वका अरू देश अन्धकारमा थिए, हामीले ज्ञानको ज्योति बालिसकेका थियौँ । विभिन्न उपचार पद्धतिको आविष्कार गरी औषधि विज्ञान बनाइसकेका थियौँ ।’

वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा छरिएर रहेका विभिन्न जातजाति, संस्कृति जोड्दै सहअस्तित्व कायम गर्ने काम भानुभक्तले गरेको सुनाए । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले नेपाल भौगोलिक र सांस्कृतिक हिसाबले विविधता भए पनि नेपाली समाजको सन्दर्भमा एकले अर्कालाई चिन्न नसक्नु नै ठूलो समस्या भएको दाबी गरे । ‘एक हुनुपर्‍यो भनिन्छ,’ उनले भने, ‘तर एउटै ‘मेकिङ पट’ मा हालेर एक हुने कि विविधता अंगालेर एक हुने भन्ने कुरामा मतभिन्नता रहेको देखिन्छ ।’ उनले ‘हेर्दाहेर्दै केही वर्षको अन्तरालमा केही राई भाषा लोप भइसकेको’ बताउँदै विस्तारै मुलुकले मौलिक ज्ञान गुमाउँदै गएको पनि दाबी गरे । ‘हामी नेपाललाई सांस्कृतिक रूपमा झिलीमिली देख्छौँ । अब यो झिलीमिली बचाउन उचित पहल पनि हुन आवश्यक छ,’ उनले भने ।

त्यस्तै, भारतस्थित इन्दिरा गान्धी खुल्ला विश्वविद्यालयका पूर्वउपकुलपति महेन्द्र पी लामाले भारतीय नेपाली भाषा र साहित्यमा काम राम्रो भइरहेको भए पनि अवसर भने कम रहेको जनाए । साहित्यकार डा. मोदनाथ प्रश्रितले नेपालको हिमाली सभ्यता र परम्परालाई अग्रभागमा राखेर हिमवत् खण्डको संस्कृतिको अध्ययन र संरक्षणमा लाग्नुपर्ने औंल्याए ।

सम्मिलनमा भारतको सिक्किम विश्वविद्यालयका डिन डा. कविता लामालगायत जापान, भुटान, थाइल्यान्ड, रूस, फ्रान्सका साहित्यकारको सहभागिता छ । भारतबाट गुवाहटी, उत्तराखण्ड, सिक्किम, कोलकाता, हिमाञ्चल, देहरादून, दार्जिलिङ, बनारस, विहार, सिलोङलगायतका थलोबाट प्रतिनिधि सहभागी छन् । सांस्कृतिक भावनासहितको भूगोल समेटियोस् भन्ने उद्देश्यले सम्मिलन गरिएको प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले बताए । सम्मिलनमा हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक प्रस्तुतिका साथै ‘चन्द्रागिरि सिर्जना यात्रा’ र स्थलगत सिर्जना लेखन र प्रस्तुतिसमेत हुने आयोजक समिति संयोजक प्रा. राजेन्द्र सुवेदीले जनाए ।

औपचारिक कार्यक्रमपछि सांस्कृतिक संस्थान र जनसांस्कृतिक महासंघका कलाकारले विदेशी पाहुनाको स्वागतमा नेपालका सातै प्रदेशका कला र संस्कृति झल्किने १४ वटा सांस्कृतिक प्रस्तुति दिए भने शुक्रबार साँझ प्रधानमन्त्री ओलीले रात्रिभोज आयोजना गरे । सांस्कृतिक प्रस्तुतिलाई सम्बोधन गर्दै संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सातवटै प्रदेशको कला प्रस्तुतिमा सिंगो मुलुक झल्किएको दाबी गरे ।

प्रकाशित : असार ३०, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?