घर खोज्दै झमक

काठमाडौँ — केही दिनअघि मात्रै गृह जिल्ला धनकुटामा ३८ औं जन्मदिन मनाएकी साहित्यकार झमक घिमिरे यति बेला राजधानीमा छिन् । हिमवत् खण्ड साहित्य कलाका सम्मेलनमा भाग लिन उनी केही दिनअघि मात्रै काठमाडौं आइपुगेकी हुन् ।

घर खोज्दै झमक

राजधानी आइपुग्ने बित्तिकै उनलाई प्रधानमन्त्री निवासबाट निम्तो आयो । शुक्रबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीकै भान्सामा पाहुना लागेकी उनले खुट्टाले लेख्दै प्रधानमन्त्री केपी ओलीलाई सोधिन्, ‘मेरो घर
कहिले बन्छ ?’

झमकसँगै भुइँको गलैंचामा थचक्क बसेका प्रधानमन्त्री ओलीले भने, ‘ढुक्क हुनुहोस्, अब छिट्टै बन्छ ।’ भोलिपल्ट, शनिबार बिहानै झमकसहितको टोली गोठाटारस्थित जग्गामा पुग्यो, टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य पनि थिइन् । ‘आहा, जग्गा त झन् पारिलो बनेछ !’ झमकले फेरि खुट्टाले लेख्दै खुसी व्यक्त गरिन्, ‘यो मेरा लागि मात्रै होइन, सबैको चासोसहित एउटा साहित्यिक साधनाको पवित्र थलो होस् भन्ने मेरो चाहना हो ।’

झमकको यो चाहनामा सही थप्दै प्रधानमन्त्रीपत्नी शाक्यले छेउमै उभिरहेका सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव वसन्तकुमार राईलाई भनिन्, ‘छिटो सक्नुपर्‍यो । कहिलेदेखि सुरु हुन्छ निर्माण कार्य ?’

सहसचिव राईले एक साताभित्रै निर्माण कार्य थालिने र दोस्रो वर्षमा पूरै तीन तला सकिने जवाफ दिए ।

त्यसपछि त्यहाँ भेला भएका झमक साहित्य कला प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तकमाझ तीनतले घरको नक्सा सार्वजनिक गरियो । जन्मदेखि नै बोल्न, हिँडडुल गर्न र हातले लेख्न नसक्ने साहित्यकार झमकले फेरि लेखिन्, ‘अहो, राम्रो छ †’ प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, पदाधिकारी अनिता लामा, गजेन्द्र थपलियाले घरको उद्घाटन छिट्टै गर्न आफूहरू आतुर रहेको बताए ।

‘जीवन काँडाकी फूल’ आत्मसंस्मरण कृतिका लागि मदन पुरस्कार पाएकी झमकलाई दुई वर्षअघि सरकारले गोठाटारमा १२ आना जग्गा उपलब्ध गराउँदै घर बनाइदिने निर्णय गरेको थियो । एउटा सर्जकको सम्मानका रूपमा यो निर्णयको प्रसंशा पनि भएको थियो । जग्गादाता पशुपति विकास कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच स्पष्टता हुन नसक्दा काम केही समय अलमल भएको भए पनि अर्को सातादेखि नै निर्माण कार्य सुरु हुने कार्यक्रममा बताइयो ।

आमा र बहिनीसहित आएकी झमकका ‘संकल्प’, ‘आफ्नै चिता अग्निशिखातिर’, ‘मान्छेभित्रका योद्धाहरू’, ‘झमक घिमिरेका कविताहरू’ लगायतका कृति प्रकाशित छन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानकी आजीवन सदस्यसमेत हुन् ।

प्रकाशित : असार ३२, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?