यात्री वाङ्मय पुरस्कार प्रदान

काठमाडौँ — वरिष्ठ साहित्यकार एवं भाषाशास्त्री प्रा. बालकृष्ण पोखरेललाई ‘यात्री वाङ्मय पुरस्कार’ प्रदान गरिएको छ । पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले पूर्णप्रकाश नेपाल ‘यात्री’ को ८५ औं जन्मजयन्ती अवसरमा बिहिबार पोखरेललाई पुरस्कृत गरेको हो ।

यात्री वाङ्मय पुरस्कार प्रदान

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पोखरेललाई ५१ हजार रुपैयाँसहित पुरस्कार अर्पण गरे । उक्त पुरस्कार यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिसकिएको छ ।

कुलपति उप्रेतीले यात्रीबारे शोध गरेकी निर्मला पौडेललाई ५ हजार रुपैयाँसहित ‘यात्री विद्यापदक’ पनि प्रदान गरे ।

पुरस्कृत पोखरेललाई कुलपति उप्रेतीले ‘फिरन्ते अनुसन्धाता’ का रुपमा व्याख्या गर्दै भने, ‘यात्री र बालकृष्ण गुरु मिलेर नेपालका विभिन्न ठाउँबारे स्थलगत अनुसन्धान गरी तत्तत् स्थानको इतिहास र संस्कृतिको अभिलेख गर्ने काममा ठूलो योगदान दिनुभयो ।’

पुरस्कार ग्रहण गरिसकेपछि प्रा. पोखरेलले यात्रीसँगका संस्मरण सुनाए । ‘पूर्णप्रकाश भाइ र म जुम्लाप्रेमी, त्यही भएर हाम्रो सम्बन्ध प्रगाढ बन्यो,’ उनले भने, ‘जुम्ला भेग नबुझी नेपाल बुझ्न सकिन्न । यो दिशामा पूर्णप्रकाश भाइले अविस्मरणीय काम गर्नुभएको छ ।’ अचेल यात्रीहरूको संख्या बढेको तर पूर्णप्रकाशझैं केही पत्ता लगाएर मरिन्छ भने यो जुनी सार्थक हुन्छ भनी सोच्ने यात्री थोरै रहेको उल्लेख गर्दै उनले थपे, ‘साहसी यात्रीले कुल्चेको माटो झन् पवित्र हुन्छ ।’

पूर्वमन्त्री दीनानाथ शर्माले आफूमा यात्रीकै प्रेरणाले भाषासाहित्यप्रति प्रेम जागेको बताए । ‘बाग्लुङमा २०१६–१७ सालतिर भाषा पाठशालामा उहाँ पढाउन आउनुभएको थियो । हामी भोजपुरे गुरु भन्थ्यौँ । उहाँले मलाई कविता लेख्न, सभासमारोहमा बोल्न पनि सिकाउनुभयो ।’ उनले ‘गुरुदक्षिणाका रूपमा’ भन्दै १० हजार रुपैयाँ सहयोग पनि गरे ।

समारोहमा ‘यात्री स्मृति ग्रन्थ’ लोकार्पण पनि गरियो । केन्द्र अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपाल, प्रा. दुर्गाप्रसाद अर्याल, रामचन्द्र भण्डारी, मधुसूदन पाण्डे, यादव भट्टराईले पनि यात्रीबारे बोलेका थिए ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?