१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

न्यौपानेको बाल मनोविज्ञान पुस्तक

पुस्तक

काठमाडौँ — बाल मनोविज्ञानबारे नेपालमा कमै पुस्तक लेखिएका छन् । नेपाली बाल मनोविज्ञानलाई नजिकबाट नियालेर पत्रकार दामोदर न्यौपानेले ‘स्कुल बेच्ने बालक’ पुस्तक लेखेका छन् ।

न्यौपानेको बाल मनोविज्ञान पुस्तक

शनिबार राजधानीमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा, बाल साहित्यकार एवं सञ्चारविद् विनय कसजू, बालअधिकार अभियान्ता गौरव पोखरेल, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई, शिखा बुक्सका प्रकाशक पुष्पराज पौडेल र लेखककै छ वर्षे छोरा हार्दिकले लोकार्पण गरे ।

बालबालिका स्वभावैले जिज्ञासु हुने र उनीहरूको जिज्ञासा समाधान गर्ने अभिभावक स्वयंमा राम्रो हुनुपर्ने पूर्वउपकुलपति शर्माले बताए । सानोमा सुनेको कुरा लामो समयसम्म सम्झिने हुँदा बच्चालाई झूटो सुनाएर जिज्ञासा मेट्न नहुनेमा उनले तर्क गरे ।

बाल साहित्यकार कसजूका अनुसार बच्चालाई असल बनाउन अभिभावक आफैं असल बनेर देखाउनुपर्छ । ‘बालबालिका अब्जर्भर हुन् । जुन रंग देख्यो, त्यही रंगमा ढल्ने गर्छन् । अभिभावक मात्रै नभई उनीहरूले टेलिभिजन, रेडियोलगायत नयाँ प्रविधिबाट पनि धेरै कुराहरू सिकिरहेका हुन्छन्,’ कसजूले भने, ‘नयाँ प्रविधिले ल्याएका विकृति समाधान गर्न बालबालिकासँग निरन्तर लोकतान्त्रिक संवाद गरिरहनुपर्छ ।’ उनले दामोदरको पुस्तक अभिभावक र समाजका लागि मार्गदर्शक बन्न सक्ने दाबी गरे ।

पुस्तक पढेपछि हरेक अभिभावकले आफ्नो सन्तानप्रति गर्दै आएको व्यवहारमाथि सोच्न बाध्य हुने अभियान्ता पोखरेलले दाबी गरे । कान्तिपुरकर्मीसमेत रहेका लेखक न्यौपानेले आवाजविहीन बालबालिकाको आवाजलाई लेखकले उजागर गरिदिनुपर्ने अभियानसहित पुस्तक लेखेको बताए । पुस्तक शिखा बुक्सले छापेको हो ।

प्रकाशित : श्रावण ६, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?