कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बेइजिङमा नेपाली खाना

चेतनाथ आचार्य

बेइजिङ — नेपाल र चीनबीचमा दौत्यसम्बन्ध स्थापनाको ६३ औँ वार्षिकोत्सवका अवसरमा बेइजिङमा नेपाली खाना महोत्सव सुरु भएको छ । बेइजिङस्थित नेपाली दूतावास र चीनको विदेशी मैत्री संस्थाहरूका लागि बेइजिङ जन संघले बुधबारदेखि सुरु गरेको खाना महोत्सव १५ दिनसम्म चल्नेछ ।

बेइजिङमा नेपाली खाना

महोत्सवको सुरु गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको छिमेकी मित्रराष्ट्र भएर पनि चीनमा नेपाली खानाको बारेमा उति चर्चा नभएको भन्दै नेपालको संस्कृति र पर्यटन प्रवद्र्धन गर्नका लागि खाना महोत्सवको आयोजना गरिएको बताए ।


नदीनाला र पवित्र हिमालले जोडेको नेपाल र चीनबीचमा समान संस्कृति पनि रहेकाले बेइजिङमा आयोजना गरिएको खाना महोत्सवले चिनियाँलाई नेपाल भ्रमण गर्न लोभ्याउने बताउँदै राजदूत पौडेलले भने ‘खाना महोत्सवमा नेपाली विविध संस्कृति पनि प्रदर्शन गरिएको छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै विदेशी मैत्री संस्थाहरूका लागि बेइजिङ जनसंघकी कार्यकारी उपाध्यक्ष थिआन यानले चिनियाँहरूले नेपालीलाई निकै माया गर्ने र हाम्रो सम्बन्ध युगौँदेखि घनिष्ट रहेको बताउँदै खाना महोत्सवले चिनियाँलाई नेपाल र नेपालीका बारेमा बुझ्न थप सहयोग गर्ने बताइन् । मित्रराष्ट्रसँग कूटनीतिक सम्बन्ध जोडिएको ६३ औँ वार्षिकोत्सवमा आयोजित महत्त्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाएकोमा आफ्नो संस्थाले गौरवबोध गरेको पनि उनले सुनाइन् ।


बेइजिङको केन्द्रमा रहेको मिन्चु होटलमा बुधबार साँझ सुरु भएको खाना महोत्सवमा लगभग एक सय सहभागी व्यक्तिहरूलाई मारुनी नृत्य, तामाङ सेलो, रातो र चन्द्र सूर्य लगायतका नेपाली कलाकारको आकर्षक नृत्यले मनोरञ्जन दिएको थियो । खाना महोत्सवमा नेपाली खाना दाल, भात, तरकारी, फापरको रोटी, हाँसको छोइला, चुकाउनी, सिकर्नी, खिर, क्वाँटी, गुन्द्रुक, आलु र काउलीको तरकारी लगायतका नेपालका लोकप्रिय खानाहरू प्रदर्शन गरिएको छ ।


नेपाली खाना बनाउनका लागि नेपालबाट श्रीराम अधिकारी र सुरेशचन्द्र बस्नेत आएका छन् । अधिकारी नेपाली भान्से संघका अध्यक्ष पनि हुन् । महोत्सवमा हरेक शुक्रबार विशेष प्रस्तुति रहनेछ । आगामी शुक्रबार नेपाली थाङा कलाकारहरूले प्रत्यक्ष रूपमा थाङ्का बनाउने कार्यक्रम रहेको छ भने अर्को शुक्रबार नेपाली नृत्य प्रस्तुत गरिनेछ । साथै नेपाली भान्सेद्वयले आगन्तुक पाहुनाहरूलाई प्रत्यक्ष रूपमा नेपाली खाना बनाएर देखाउनेछन् । चीनमा पहिलो पटक आयोजना गरिएको नेपाली खाना महोत्सवलाई नेपाल पर्यटन बोर्ड र बेइजिङस्थित मिन्चु होटलले प्रायोजन गरेका हुन् ।

प्रकाशित : श्रावण १७, २०७५ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?